शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आसिफ शेख

आसिफ शेख

नेपाल
  • Full Name: आसिफ शेख
  • Nationality: नेपाल
  • Date of Birth: 2001-06-22 (24 years)
  • Position: किपर

आसिफ शेख नेपाली राष्ट्रिय टोलीका विकेटकिपर ब्याट्सम्यान हुन् । २४ वर्षीय टोलीका प्रभावशाली खेलाडीले देशका लागि हालसम्म एकदिवसीय (ओडीआई) र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । 

आसिफले देशका लागि हालसम्म ६३ एकदिवसीय र ६८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको ६३ पारीमा उनले २८.९१ को औसतमा कुल एक हजार ६७७ रन बनाएका छन् । 

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनको स्ट्राइक रेट ७६.४० रहेको छ । ओडीआईमा उनको उच्च स्कोर ११० रन हो, त्यस्तै १३ वटा अर्धशतक पनि उनले प्रहार गरिसकेका छन् । 

राष्ट्रिय टोलीका यी प्रभावशाली खेलाडीले ओडीआईमा १९३ चौका र १६ वटा छक्का हिर्काएका छन् । उनले ४४ वटा क्याच पनि लिएका छन् । विकेटकिपरको भूमिकामा उनले यस ढाँचामा हालसम्म ६ वटा स्टम्पिङ पनि गरेका छन् ।

यसैगरी आसिफले टी–२० आईको ६७ पारीमा २५.६० को औसतमा कुल एक हजार ६३९ रन बनाएका छन्, जहाँ उनको यस ढाँचामा स्ट्राइक रेट भने १२०.५१ छ । 

टी–२० आईमा उनको उच्च स्कोर अविजित ६९ रन हो । यस क्रममा उनले १० वटा अर्धशतक पनि बनाएका छन् । टी–२० आईमा १५२ चौका र ६४ वटा छक्का पनि उनले हिर्काएका छन् । साथै ३५ वटा क्याच लिएका छन् भने १६ वटा स्टम्पिङ पनि गरेका छन् ।

  • टी–२० आईमा डेब्यु 

आसिफले सन् २०२१ को अप्रिल १७ तारिखमा कीर्तिपुर क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै टी–२० आईमा डेब्यु गरेका थिए । आफ्नो पहिलो खेलमै उनले अविजित ५४ रन बनाएका थिए, त्यो खेलमा नेपाल नौ विकेटले विजयी भएको थियो ।

आसिफले आफ्नो अन्तिम पटक टी–२० अन्तर्राष्ट्रिय रूपमा दुबईमा सम्पन्न आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोट खेलेका छन् । प्रतियोगिताअन्तर्गत दुई अर्धशतकसहित उनले १९५ रन बनाएका छन् । 

  • लिस्ट ‘ए’ र टी–२० 

आसिफले ६८ वटा लिस्ट ‘ए’ प्रतियोगिता खेल्दै कुल एक हजार ७६४ रन बनाएका छन् । लिस्ट ‘ए’ मा उनको उच्च स्कोर ११० रन हो र १३ वटा अर्धशतक पनि बनाएका छन् । यसमा उनले ४८ क्याच लिँदा ६ पटक स्टम्पिङ पनि गरेका छन् ।

यसैगरी उनले ७५ वटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । टी–२० प्रतियोगिताको ७३ पालीमा उनले कुल एक हजार ८१३ रन पनि बनाएका छन् । यसमा उनको उच्च स्कोर अविजित ८७ रन हो । उनले १३ वटा अर्धशतक बनाएका छन् । ३६ वटा क्याच लिएका छन् भने १८ वटा स्टम्पिङ पनि गरेका छन् । 

  • पछिल्लो प्रदर्शन 

विश्वकप यात्रामा निस्किनुअघि आसिफले पछिल्लो पटक घरेलु मैदानमा भएको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेलेका थिए, जसमा ७ खेलमा उनले १०५ रन बनाए । 

दुबईमा सम्पन्न आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोट खेलेका थिए । प्रतियोगिताअन्तर्गत उनले दुई अर्धशतकसहित १९५ रन बनाएका छन् । 

  • कीर्तिमान

आसिफ टी–२० आईमा एउटै स्टेडियममा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा २१औँ स्थानमा छन् । उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हालसम्म २० खेल खेल्दै कुल पाँच सय १२ रन बनाएका छन् ।

यसैगरी टी–२० आईमा विकेटकिपरको भूमिकामा सर्वाधिक खेलाडी आउट गराउने सूचीमा पनि उनी शीर्ष १०० मा पर्छन् । 

यसैगरी आसिफ टी–२० आईमा सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा पनि अगाडि छन् । एकै पालीमा सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा पनि उनी छन् । उनले एकै पालीमा तीन वटा क्याच लिएका छन् । 

यसका अतिरिक्त आसिफ ओडीआईको एउटै शृंखलामा कुल दुई सय रन बनाउने र विकेटकिपरको भूमिकामा १० जना ब्याट्सम्यानलाई पभेलियन फर्काउने प्रभावशाली खेलाडी पनि हुन् ।

अन्य खेलाडी