नेपाल
सोमपाल कामी वर्तमान राष्ट्रिय टोलीमा रहेका सबैभन्दा अनुभवी खेलाडी हुन् । २९ वर्षीय सोमपालले देशका लागि १५२ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनी दायाँहाते मध्यमतेज गतिका बलर हुन् ।
सोमपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा १६६ विकेट लिइसकेका छन् । टोलीलाई आवश्यक पर्दा उनी आक्रामक तरिकाले रन पनि बनाउन सक्छन् । उनले देशका लागि ६६ एकदिवसीय अन्तर्राष्ट्रिय र ८६ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
सोमपालले ओडीआईको ५१ पारीमा २०.९७ को औसतले कुल ७७६ रन बनाएका छन्, जहाँ उनको स्ट्राइक रेट ७७. ८३ छ, उच्च स्कोर भने अविजित ६७ रन हो । त्यस्तै यो ढाँचामा उनले तीन वटा अर्धशतक पनि बनाएका छन् र ५६ चौका र १९ वटा छक्का पनि प्रहार गरेका छन् ।
नेपाली टोलीका यी प्रभावशाली खेलाडीले ओडीआईमा १६ वटा क्याच पनि लिएका छन् ।
यसैगरी सोमपालले टी–२० आईका ५१ खेलमा १०.७३ को औसतले कुल ३६५ रन बनाएका छन्, जहाँ उनको स्ट्राइकर रेट १११.६२ छ । यसमा उनको उच्च स्कोर भने ४० रन हो । उनले २५ चौका र १५ वटा छक्का हिर्काएका छन् भने यस ढाँचामा उनले २६ क्याच पनि लिएका छन् ।
सोमपालले ओडीआईमा ८५ विकेट लिएका छन् । यस ढाँचामा उनको उत्कृष्ट प्रदर्शन भनेको ३३ रन खर्चिएर पाँच विकेट हो, त्यस्तै यो ढाँचामै उनले ८१ विकेट लिएका छन् भने २० रन खर्चिएर तीन विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप खेलेको थियो । त्यो विश्वकप पनि सोमपालले खेलेका थिए । त्यतिबेला विश्वकप खेल्ने अन्य खेलाडीले भने सक्रिय खेल जीवनबाट बिदा लिइसकेका छन् ।
त्यसपछि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा पनि सोमपाल टिमका महत्त्वपूर्ण खेलाडी थिए । अब पनि भारत तथा श्रीलंकामा हुने टी–२० विश्वकपमा उनी सहभागी हुँदैछन् ।
सोमपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि आईसीसी टी–२० विश्वकपमार्फत नै डेब्यु गरेका थिए । उनले सन् २०१४ मार्च १६ तारिखमा बंगलादेशको चटगाउँमा हङ्कङविरुद्ध पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।
आफ्नो पहिलो खेलमै सोमपालले तीन ओभर बलिङ गर्दै १३ रन खर्चिएर दुई विकेट लिएका थिए । आफ्नो पहिलो टी–२० आईमा उनले ब्याटिङको मौका भने पाएका थिएनन्, उक्त खेलमा नेपाल ८० रनले विजयी भएको थियो ।
यसैगरी सोमपालले अन्तिम पटक टी–२० आई दुबईमा यूएईविरुद्ध खेलेका छन्, आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया छनोटमा । उक्त खेलमा सोमपालले ६ विकेट लिएका थिए भने २२ रन पनि जोडेका थिए ।
सोमपालले हालसम्म तीनवटा प्रथम श्रेणीको क्रिकेट खेलेका छन्, सबैमा गरी उनले ६ विकेट लिएका छन् भने ७७ रन बनाएका छन् । एकै पारीमा उनले बनाएको उच्च स्कोर भने ५१ रन हो ।
यसैगरी उनले हालसम्म ११० वटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । यसमा उनले कुल एक हजार २७१ रन बनाएका छन् भने चारवटा अर्धशतक बनाएका छन्, उनको उच्च स्कोर भने ७५ रन हो ।
लिस्ट ‘ए’ मा १४३ विकेट पनि लिएका उनको उत्कृष्ट प्रदर्शन भने २७ रन खर्चिएर पाँच विकेट लिनु हो । ९८ वटा टी–२० क्रिकेट खेलेका उनले कुल ३६५ रन बनाएका छन्, जहाँ उच्च स्कोर ४० रन छ । त्यस्तै यो ढाँचामा उनले ९४ विकेट पनि लिएका छन् ।
अन्तिम पटक नेपाल प्रिमियर लिगमा सहभागी उनले कर्णाली याक्सबाट ७ खेलमा ९ विकेट लिएका थिए, त्यस्तै ५१ रन पनि बनाएका थिए ।
त्यसअघि उनले दुबइमा सम्पन्न आईसीसी विश्वकप एसिया र इस्ट एसिया छनोट प्रतियोगिता खेलेका छन् । उक्त प्रतियोगितामा उनले ६ खेल खेल्दै ५ विकेट र २२ रन बनाएका थिए ।
टी–२० आईमा १०औँ नम्बरमा ब्याटिङ गर्न आएर सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालका सोमपाल तेस्रो स्थानमा छन् । सन् २०१४ को नोभेम्बर १४ मा कोलम्बोमा हङ्कङविरुद्ध उनले ४० रन बनाएका थिए ।
टी–२० आईमा एकै खेलमा सबैभन्दा बढी मेडन ओभर फाल्ने बलरको सूचीमा पनि सोमपाल चौथो स्थानमा छन् । सन् २०२२ को अगस्त २६ मा केन्याको नैरोबीमा घरेलु राष्ट्रविरुद्ध उनले चार ओभरमा दुई मेडन फालेका थिए ।
यसैगरी टी–२० आईमा सबैभन्दा बढी ब्याट्सम्यानलाई बोल्ड गर्ने बलरको सूचीमा उनी २६औँ स्थानमा छन् । उनले हालसम्म २२ ब्याट्सम्यानलाई बोल्ड गरेका छन् । यो ढाँचामा सबैभन्दा बढी ब्याट्सम्यानलाई एलबीडब्ल्यू धरापमा पार्ने बलरको सूचीमा भने उनी ४७औँ स्थानमा छन् । उनले सात ब्याट्सम्यानलाई एलबीडब्ल्यू आउट गराएका छन् ।