शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
दीपेन्द्रसिंह ऐरी

दीपेन्द्रसिंह ऐरी

नेपाल
  • Full Name: दीपेन्द्रसिंह ऐरी
  • Nationality: नेपाल
  • Date of Birth: 2000-01-24 (26 years)
  • Position: अलराउण्डर

नेपाली राष्ट्रिय टोलीका अनुभवी र प्रभावशाली खेलाडी हुन्, दीपेन्द्रसिंह ऐरी । उनी टोलीका अलराउन्डर खेलाडी पनि हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै पटक उनकै उत्कृष्ट प्रदर्शनका कारण टोलीले सफलता हात पारेको छ ।

२७ वर्षीय दीपेन्द्रको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै आक्रामक । उनले देशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले राष्ट्रिय टोलीबाट हालसम्म १५८ खेल खेलिसकेका छन् ।

दीपेन्द्रले ६८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ९० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको ६४ पारीमा उनले २१.७७ को औसतले कुल एक हजार ४१ रन बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनको स्ट्राइक रेट ७४.३१ रहेको छ । उनले बनाएको उच्च स्कोर भने १०५ रन हो । यस क्रममा उनले एक शतक र पाँच वटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले ९३ चौका र १७ वटा छक्का पनि हिर्काएका छन् । उनले ३२ वटा क्याच पनि लिएका छन् ।

यसैगरी उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको ७८ पारीमा ३२.०६ को औसतले कुल एक हजार ९५६ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १३९.११ रहेको छ । उनको उच्च स्कोर भने अविजित ११० रन हो ।

टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले एक शतक र १० वटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा १३९ र ८२ वटा छक्का पनि हिर्काएका छन् । उनले ४० वटा क्याच पनि लिएका छन् । 

यसैगरी उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ४२ वटा विकेट पनि लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन १०५ रन खर्चिएर तीन विकेट हो । टी–२० अन्तर्राष्ट्रियमा पनि उनले ५८ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर चार विकेट हो । 

  • टी–२० अन्तर्राष्ट्रियमा डेब्यू

दीपेन्द्रले सन् २०१८ को जुलाई २९ तारिखमा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो पहिलो खेल लर्डसमा नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए । दीपेन्द्रले अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता दुबईमा भएको आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया छनोटमा खेलेका थिए ।  

  • प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२०

दीपेन्द्रसिंह ऐरीले एउटा प्रथम श्रेणीको क्रिकेट खेलेका छन् । त्यसमा उनले एक रनमात्र बनाउन सकेका छन् । यसका अतिरिक्त उनले ८९ वटा लिस्ट ‘ए’ प्रतियोगिता पनि खेलिसकेका छन् । 

लिस्ट ‘ए’ खेलहरूमा उनले कुल एक हजार ६९७  रन बनाएका छन् । जसमा उनको उच्च स्कोर एक सय पाँच रन हो । उनले एक शतक र ८ वटा अर्धशतक पनि बनाएका छन् । उनले ३८ वटा क्याच पनि लिएका छन् । लिस्ट ‘ए’ क्रिकेटमा उनले ५० विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १४ रन खर्चिएर चार विकेट हो । 

यसैगरी दीपेन्द्रले ९९ वटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । टी–२० प्रतियोगिताको ८६ पारीमा कुल दुई हजार ५२ रन बनाएका छन् । उनको उच्च स्कोर अविजित एक सय १० रन हो । उनले एक शतक र १० वटा अर्धशतक बनाएका छन् । यो प्रतियोगितामा उनले ६० विकेट लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर चार विकेट हो ।

  • पछिल्लो प्रदर्शन

दीपेन्द्रले विश्वकप यात्रामा निस्कनुअघि घरेलु मैदानमा नेपाल प्रिमियर लिग खेलेका थिए । जसमा उनले १६२ रन बनाउँदै ९ विकेट लिएका थिए । त्यसअघि आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटमा दीपेन्द्रले ११६ रन बनाउँदै उनले ४ विकेट लिए ।  

त्यसअघि उनले ओमानमा सम्पन्न एसीसी प्रिमियर कप पनि खेलेका थिए । 

  • दुर्लभ विश्व कीर्तिमान

चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका थिए । उनले केवल नौ बलमा अर्धशतक पुरा गरेका थिए । उनको यो कीर्तिमान भविष्यमा पनि कसैले तोड्न सक्ने छैन । 

बढीमा यो कीर्तिमानको बराबरीसम्म हुन सक्छ । उनले मंगोलियाविरुद्धको खेलमा उक्त कीर्तिमान बनाएका थिए । यसअघि उक्त कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो । उनले सन् २००७ मा इङ्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।

ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध ६ बलमा लगातार ६ वटा छक्का पनि हिर्काएका थिए । उनी ६ बलमा ६ वटा छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् । विश्व क्रिकेटमा पनि यसलाई दुर्लभ कीर्तिमान मानिन्छ । 

उनी विश्व क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने केवल तेस्रो खेलाडी हुन् । यसअघि भारतका युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध एकै ओभरमा ६ वटा छक्का हिर्काएका थिए । सन् २०२१ मा वेस्ट इन्डिजका किरोन पोलार्डले श्रीलंकाविरुद्ध यस्तो उपलब्धि हासिल गरेका थिए । 

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २००७ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध दक्षिण अफ्रिकाका हर्सल गिब्सले यस्तो कीर्तिमान बनाएका थिए । अमेरिकाका जसकरण मल्होत्राले पपुवा न्युगिनीविरुद्ध एकदिवसीय क्रिकेटमा यस्तो उपलब्धि हासिल गरेका थिए ।

यसैगरी उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै वर्ष सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि उनी समावेश छन् । 

अन्य खेलाडी