नेपाल
रोहितकुमार पौडेल नेपाली टोलीका कप्तान हुन् । २३ वर्षीय रोहित टोलीका अनुभवी खेलाडी हुन् । अलराउन्डर रोहितले देशका लागि एकदिवसीय (ओडीआई) र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचामा आफ्नो प्रतिभा देखाइसकेका छन् ।
रोहितले हालसम्म राष्ट्रिय टोलीबाट ७६ वटा ओडीआई र ७६ वटा नै टी–२० आई खेलेका छन् । ओडीआईको ७२ पारीमा उनले २९.८५ को औसतमा कुल दुई हजार रन बनाएका छन्, जहाँ उनको स्ट्राइक रेट ७६.९९ छ भने उच्च स्कोर १२६ रन छ । यस क्रममा उनले दुई शतक र ११ वटा अर्धशतक बनाएका छन् । उनले एकदिवसीयमा १४९ चौका र ३९ छक्का हिर्काएका छन् । सँगै २५ वटा क्याच पनि लिएका छन् ।
यसैगरी उनले टी–२० आईको ७२ पारीमा २७.७४ को औसतले एक हजार ६३७ रन बनाएका छन् । टी–२० आईमा भने उनको स्ट्राइक रेट ११९.३१ छ भने उच्च स्कोर ६१ रन छ । यस क्रममा उनले ८ वटा अर्धशतक पनि बनाएका छन् ।
टी–२० आईमा १३० चौका र ४८ वटा छक्का हानेका रोहितले ४१ वटा क्याच पनि लिएका छन् । साथै ओडीआईमा १० र टी–२० आईमा १३ विकेट पनि लिन सफल भएका छन् । एकदिवसीयमा उत्कृष्ट बलिङ २२ रन खर्चिएर चार विकेट लिएका उनले टी–२० आईमा ७ रन खर्चिएर दुई विकेट झारेका छन् ।
रोहितले सन् २०१९ को जनवरी ३१ मा दुबईमा खेलिएको संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमार्फत टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका थिए, त्यो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।
यसैगरी उनले अन्तिम पटक टी–२० आई दुबईमा विश्वकप छनोटका क्रममा खेलेका छन् । उक्त प्रतियोगिताको त्यो खेल सन् २०२५ नोभेम्बर ५ मा यूएईविरुद्ध थियो ।
रोहितले ८९ वटा लिस्ट ‘ए’ प्रतियोगिता खेल्दै कुल दुई हजार ३१८ रन बनाएका छन्, यसमा उनको उच्च स्कोर १२६ रन हो । उनले यो प्रतियोगितामा दुई शतक र १२ अर्धशतक हिर्काएका छन्, साथै ११ विकेट पनि लिएका छन् ।
यसैगरी उनले ७९ वटा टी–२० प्रतियोगिता खेल्दै कुल एक हजार ९७१ रन बनाएका छन् । यो प्रतियोगितामा उनको उच्च स्कोर ११२ रन हो । उनले एक शतक र १० वटा अर्धशतक पनि प्रहार गरेका छन्, टी–२० मा उनले ६ विकेट पनि लिएका छन् ।
विश्वकप यात्रामा निस्कनुअघि रोहितले घरेलु मैदानमा आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका थिए । उनले प्रतियोगितामा लुम्बिनी लायन्सलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । रोहित १० खेलमा २७६ रन बनाउँदै प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपाली खेलाडी पनि बनेका थिए ।
उनले १० खेलमा १० विकेट पनि हात पारेका थिए, त्यसअघि उनले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया छनोटमा नेपालका लागि ६ खेलमा १३४ रन बनाउँदै तीन विकेट पनि लिएका थिए ।
रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने विश्वकै छैटौँ सबैभन्दा कम उमेरका खेलाडी हुन् । सन् २०१८ को अगस्त ३ तारिखमा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्दा उनको उमेर केवल १५ वर्ष तीन सय ३५ दिन थियो ।
यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाउने उनी विश्वकै दोस्रो सबैभन्दा कम उमेरका खेलाडी हुन् । सन् २०२२ को नोभेम्बर १४ मा कप्तानका रूपमा पहिलो पटक यूएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा उनको उमेर २० वर्ष ७३ दिन थियो ।
सबैभन्दा कम उमेरमा कप्तान बन्ने खेलाडी भने अफगानिस्तानका रासिद खान हुन् । कप्तानका रूपमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनको उमेर केवल १९ वर्ष १६५ दिन थियो ।