नेपाल
नेपाली राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर लोकेश बमले आफ्नो पहिलो आईसीसी टी–२० विश्वकपमै उत्कृष्ट छाप छोड्दै सबैको ध्यान तानेका छन् । मध्यक्रममा ब्याटिङ गर्ने २५ वर्षीय लोकेशले विश्वकपको पहिलो खेलमै आक्रामक प्रदर्शन गर्दै आफू अन्तर्राष्ट्रिय स्तरमा टिक्न सक्ने खेलाडी भएको प्रमाणित गरि सकेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा उनको अनुभव अझै सीमित भए पनि घरेलु क्रिकेटबाट तयार हुँदै आएका लोकेशले अवसर पाउनेबित्तिकै प्रभाव जमाउन सफल भएका छन् । उनले हालसम्म नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय मात्र खेलेका छन् भने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने अझै डेब्यू गर्न बाँकी छ।
घरेलु क्रिकेटमा निरन्तर राम्रो प्रदर्शन गर्दै आएका लोकेश नेपाल प्रिमियर लिग (एनपीएल)को पछिल्लो संस्करणमा विराटनगर किङ्सबाट खेल्दै चर्चामा आएका थिए । पोखरा एभेन्जर्सविरुद्ध उनले ४८ बलमै ७२ रनको आक्रामक पारी खेलेर टोलीलाई प्रतिस्पर्धात्मक स्कोरतर्फ डोर्याएका थिए । यही प्रदर्शनले उनलाई राष्ट्रिय टोलीका छनोटकर्ताहरूको नजरमा अझ बलियो बनाएको थियो ।
नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा हालसम्म १९ खेल खेलेका लोकेशले १६ इनिङमा करिब १६.५८ को औसतमा १९९ रन जोडेका छन् । छोटो समय मैदानमा बिताए पनि उनको ब्याटिङ शैली निकै आक्रामक देखिन्छ । अन्तर्राष्ट्रिय टी–२० मा उनको स्ट्राइक रेट १५३ भन्दा माथि छ भने सर्वाधिक व्यक्तिगत स्कोर अविजित ३९ रन रहेको छ । फिल्डिङतर्फ पनि उनले भरोसायोग्य प्रदर्शन गर्दै ९ क्याच समातेका छन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लोकेशले सन् २०२२ फेब्रुअरी १२ मा संयुक्त अरब इमिरेट्सविरुद्ध डेब्यू गरेका थिए । पहिलो खेलमै उनले २१ बलमा दुई छक्का र दुई चौकासहित ३३ रन बनाउँदै आत्मविश्वासिलो सुरुवात गरेका थिए ।
उनको पछिल्लो अन्तर्राष्ट्रिय खेल आइतबार भएको आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत भएको इङ्ल्यान्डविरुद्धको हो । जसमा उनले २० बलमा ३९ रन बनाएका थिए ।
समग्र टी–२० क्रिकेटतर्फ हेर्दा लोकेशले २४ खेलमा २१ इनिङ्स खेल्दै करिब २२.५२ को औसतमा ३८३ रन बनाएका छन् । उनको टी–२० करियरको उच्च स्कोर १०६ रन रहेको छ भने स्ट्राइक रेट १५२.५८ को हाराहारीमा छ । विकेटकिपरको भूमिकामा पनि उनले १२ क्याच समातेका छन् ।