नेपाल
ललित राजवंशी नेपाली राष्ट्रिय टोलीका अनुभवी स्पिन बलर हुन् । २६ वर्षीय ललित बायाँ हातले बलिङ गर्छन् भने दायाँ हातले ब्याटिङ । उनले राष्ट्रिय टोलीबाट एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई अब्बल सावित गरिसकेका छन् ।
ललितले हालसम्म ४१ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ३७ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको ३६ पालीमा ४७ विकेट लिएका छन् । ओडीआईमा उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर पाँच विकेट लिनु हो, जहाँ उनले दुईपटक चार विकेट पनि लिएका छन् ।
यसैगरी उनले टी–२० आईको ३७ पारीमा कुल ३६ विकेट लिएका छन् । यस ढाँचामा उनको उत्कृष्ट प्रदर्शन केवल ६ रन खर्चिएर तीन विकेट हो । उनले ओडीआईमा ४३ र टी–२० आईमा ८ रन बनाएका छन् ।
ललितले सन् २०१८ को जुलाई २९ मा टी–२० आईमा डेब्यु गरेका थिए । लर्डसमा भएको नेदरल्यान्ड्सविरुद्धको उक्त खेल भने अनिर्णीत सकिएको थियो ।
ललितले आफ्नो अन्तिम टी–२० आई विश्वकप एसिया र इस्ट एसिया छनोटमा सामोआविरुद्ध खेलेका थिए, जसमा उनले चार ओभर बलिङ गर्दै तीन विकेट लिएका थिए ।
प्रथम श्रेणीको एउटा प्रतियोगिता खेलेका ललितले विकेट भने लिएका छैनन् । यसका अतिरिक्त उनले ५१ वटा ‘लिस्ट ए’ क्रिकेट खेलेका छन्, जहाँ उनले ५६ विकेट लिएका छन् । यो प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर पाँच विकेट लिनु हो । उनले हालसम्म ४० वटा टी–२० प्रतियोगिता पनि खेलेका छन्, जहाँ ४० विकेट लिँदा केवल ६ रन खर्चिएर तीन विकेट हात पारेका छन् ।
ललिते विश्वकप यात्राका लागि प्रस्थान गर्नुअघि घरेलु मैदानमा आयोजना भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेलेका थिए, उनी जनकपुर बोल्ट्समा आबद्ध छन् ।
त्यसअघि उनले दुबईमा सम्पन्न विश्वकप छनोट एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा उनले नेपालका लागि चार खेलमा पाँच विकेट लिएका थिए ।
उनले छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा सामोआविरुद्ध तीन विकेट लिएका थिए ।
ललित राजवंशी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटा पारीमा सर्वोत्कृष्ट बलिङ प्रदर्शन गर्ने खेलाडीमा पनि पर्छन् । ललितले सन् २०१९ को डिसेम्बर ९ मा कीर्तिपुरमा खेलिएको माल्दिभ्सविरुद्धको खेलमा चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिएका थिए ।