बोलिभियामा राष्ट्रपतिको निर्वाचन, पहिलो चरणमा मोरालेसको अग्रता
ला पाज– राष्ट्रपतिको चौथो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका इभो मोरालेस अरु उम्मेदवारभन्दा झिनो मतले अगाडि हुनुभएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतगणनामा मोरालेस र उनका मुख्य प्रतिस्पर्धी कार्लोस मेसाबीच करिब ७ प्रतिशत मतान्तर देखिएको छ ।
मोरालेसले कूल गणना गरिएको मतको करिब ४५ प्रतिशत र मेसाले ३८ प्रतिशत मत प्राप्त गरेका छन् । सन् २००५ मा पहिलो पटक मुलुकको राष्ट्रपतिमा निर्वाचित भएका मोरालेसले त्यसपछिका कुनै पनि प्रतिस्पर्धामा दोस्रो चरणको मतदानको सामना गर्नु परेको थिएन ।
पूर्व कोका कृषक एवं वामपन्थी युनियनका नेता मोरालेसले स्रोतसाधन सम्पन्न तर अति गरिब मुलुक बोलिभियामा १३ वर्ष शासन गरिसकेका छन् । तर पछिल्लो समय भ्रष्टाचार र अधिनायकवादी शैलीका कारण उनी विरुद्धको जनमत बढ्दै गएको छ ।
मोरालेस विरुद्ध ६६ वर्षीय पूर्व राष्ट्रपति मेसाले कडा टक्कर दिएका छन् । मेसा सन् २००१ देखि २००५ सम्म बोलिभियाको राष्ट्रपति रहेका थिए । मेसाले मोरालेसको बामपन्थी सरकार भ्रष्टाचारमा अल्झिएको भन्दै निरन्तर आलोचना गर्दै आएका छन् ।
दक्षिण कोरियामा जन्मेका पादरी ची ह्यून चुङले पनि अप्रत्यासित रुपमा ८.७ प्रतिशत मत प्राप्त गरेका छन् । आगामी डिसेम्बर १५ मा हुने दोस्रो चरणको चुनावमा चुङको समर्थनले पनि चुनावी परिणामलाई प्रभावित तुल्याउन सक्नेछ ।
मोरालेसलाई चौथो कार्यकालका लागि उम्मेदवार हुन बोलिभियाको संवैधानिक अदालतले सन् २०१७ मा बाटो खोलिदिएको थियो । बोलिभियाको संविधानमा लगातार दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाइने व्यवस्था छ ।
अदालतको नयाँ आदेशबाट उनी आगामी सन् २०२५ सम्म शक्तिमा रहन पाउनेछन् । ला पाजमा मतदान पछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै विपक्षी नेता मेसाले चुनावमा धाँधलीको सम्भावना रहेको बताएका थिए ।–एएफपी/Photo:AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादमा तानिएका राष्ट्रपतिका आर्थिक विज्ञद्वारा राजीनामा
-
फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
आमिर खानले गरे ‘सरफरोश २’को घोषणा
-
सरकारसँगको सहमति पालना नभएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शन (तस्बिरहरू)
-
संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक : कांग्रेस
-
सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक