बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जग्गाधनीलाई थाहै नदिई धमाधम नामसारी, मालपोतकै कर्मचारीको मिलेमतोको आशंका

स्थानीय भन्छन्, सिडिओ कार्यालय र मालपोत कार्यालय गम्भीर भएन
मङ्गलबार, १९ कात्तिक २०७६, १६ : २५
मङ्गलबार, १९ कात्तिक २०७६

बारा । बाराको कोल्हबी नगरपालिकामा पर्ने झण्डै १० विघा जमिन वास्तविक जग्गाधनीलाई नै थाहा नदिइ कलैया मालपोत कार्यालयबाट नामसारी भएको खुलासा भएको छ । 

हनुमानगंजमा विगत केही महिना यता अपरिचित व्यक्तिले जग्गा नाप्न थालेपछि स्थानीयले सोधखोज गरेका थिए । बुझ्दै जाँदा वास्तविक जग्गाधनीलाई नै थाहा नदिइ धमाधम जग्गा किनबेच भएको भेटिएको हो । 

जग्गा धनीलाई थाहै नदिइ जग्गा नापजाँच गर्ने तथा किनबेचमा संलग्न गिरोहलाई पक्राउ गरेर स्थानीयले इलाका प्रहरी कार्यालय कोल्हबीमा बुझाएका थिए । उनीहरुलाई पछि जिल्ला प्रहरी कार्यालय कलैयामा लगिएको थियो । तर जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई थप अनुसन्धान एवं कारवाही नगरी छाडिदिएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका छन् । पक्राउ परेको गिरोहको ब्यागमा लालपूर्जाको चाङ देखिएको स्थानीय ओमप्रसाद मैनालीले बताए ।

स्थानीय बासिन्दा अचेल हरेक दिनजसो जिल्ला मालपोत कार्यालय कलैया धाइरहेका छन् । मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयको सतही जवाफले स्थानीयहरु आफ्नो जग्गा नै गुम्ने हो कि भन्ने चिन्तामा छन् । 
यसमा मालपोत कै कर्मचारीको मिलेमतो भएको हुनसक्ने आशंका गरिएको छ ।  मालपोतकै एक कर्मचारी भन्छन्, ‘नक्कली लालपुर्जामात्र होइन, कम्प्यूटरमै  दोहोरो स्रेस्ता देखिएको छ । यसमा कर्मचारीको पनि मिलेमतो हुन सक्छ ।’

तर जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल अनुसन्धान गरेर दोषी देखिए कारबाही गर्न आफूले एसपी विकास खनाललाई निर्देशन दिइसकेको बताउँछन् । उनी भन्छन्, ‘यसमा हामीले बदमासी गरे कारबाही गर भन्नेमात्र हो । अनुसन्धान प्रहरीले गर्छ, दोषी देखिए कारबाही हुन्छ ।’ 

दोहोरो स्रेस्ता बदर गराउँछौं : मेयर
यता, कोल्हबी नगरपालिकाका मेयर भरत भण्डारी ५ वटा कित्तामा दोहोरो स्रेस्ता देखिएको र दोहोरो स्रेस्ता खारेज गर्न आफूले सिफारिस गरेको बताउँछन् । उनी भन्छन्, ‘सिडियो कार्यालय र मालपोत कार्यालयको प्रमुखसँग यस विषयमा छलफल गरिसकेका छौं ।  अब दोहोरो स्रेस्ता खारेज हुन्छ । अदालती मुद्दामा होइन मालपोतकै मुद्दामा जान्छ ।’

उनका अनुसार सन्तोष गौतमसहित पाँच जनालाई पक्राउ गरिएको थियो । तीमध्ये चार जना रिहा भएका छन् । रिहा हुनेहरु जग्गा किन्न आएका र उनीहरुले जग्गामा विवाद छ कि छैन भनी स्थानीयसँग बुझ्दा स्थानीयले उनीहरुसहित पाँच जनालाई पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए । पक्राउ परेका सन्तोष गौतमलाई भने कारबाही गर्ने तयारी भइरहेको उनले बताए ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि सो वरपरका गाउँको जग्गाको भाउ आकाशिएको छ । एयरपोर्टकै कारण कोल्हबी नगरपालिकाको जमिनप्रति आकर्षण बढेको छ । 

जोसँग प्रमाण जुट्छ, उसैको जग्गा : मालपोत
जिल्ला मालपोत कार्यालयका प्रमुख अधिकृत रामकृष्ण उप्रेती विभिन्न कारणले गर्दा दोहोरो स्रेस्ता पर्न सक्ने बताउँछन् । 

उनले भने, ‘दोहोरो स्रेस्ता परेको खण्डमा सम्बन्धित व्यक्तिले जानकारी गराइ कार्यालयमा उजुरी दिएको अवस्थामा कसको प्रमाण आधिकारिक छ, त्यस आधारमा दोहोरो स्रेस्तालाई बदर गर्छौं । कहिलेकाहीँ लेख्न छुट भएको कारणले यस्ता घटना हुनसक्छन् ।’ 

पीडितहरुले निवेदन दिएको उनले बताए । ‘हामी दुबै पक्षलाई झिकाएर प्रमाण जुटाउँछौ, जसको प्रमाणले पुष्टि हुन्छ जग्गा उसैको हुन्छ,’ उनले भने ।

‘यो घटना मुद्दाको प्रक्रियामा हुन्छ । त्यसमा म्याद दिएको हुन्छ । विपक्षीलाई पनि समय दिएर म्याद बुझाउनुपर्ने हुन्छ,’ प्रमुख अधिकृत उप्रेती भन्छन्,  ‘अदालती नियमअनुसार म्याद प्राप्त हुन्छ । त्यसपछि हामीले निर्णय गर्छौं । कति दिनमा हुन्छ भन्न सकिदैँन ।’

ठ्याक्कै यति जग्गामा दोहोरो श्रेस्ता भएको भन्ने नदेखिएको उनले बताए । ‘हामीले स्थानीय तहलाई पनि मानिसहरु यसरी सल्बलाए सजग रहनुस् भनेर भनेका छौं,’ उनले भने, ‘जग्गाको भन्दा फरक मानिस आए भने हामीलाई जानकारी गराउनुहोला ।’ 

'रातभर निद्रा लाग्दैन'
स्थानीय गोमा उप्रेती आफ्नो जग्गा अर्कैैको नाममा भएको सुनेपछि आफूलाई रातभर निद्रा नलागेको बताउँछिन् । ६० वर्षीय उप्रेती भन्छिन्, ‘जिन्दगीभर दुःख गरेर जमिन जोडियो । अब त काम गर्न नि सकिदैँन, भएको सम्पत्ति पनि अर्कैले लग्यो भने कसरी बाँच्नु ? जागिर, व्यवसाय जे भने पनि यहि खेतीपाती हो । जमिन नै न भएपछि खेतीपाती कसरी गर्नु ? अब के हुने हो भन्ने पिरले सताउँछ ।’

अर्का पीडित गणेश मैनाली आफ्नो १० कठ्ठा अर्काको नाममा भएको देख्दा दु:ख लागेको बताउँछन् । दोहोरो स्रेस्ता खारेज भएर आफ्नै नाममा आउँछ भन्नेमा विश्वास भए पनि विना काम झन्झट र दुःख पाएको बताउँछन् । उनी भन्छन्, ‘बुबाको नाममा भएको सम्पत्ति आफ्नो नाममा सारे पनि बुबाको नाममा हुनुभन्दा अगाडीको जग्गाधनीकै पूर्जा बनाएर किनबेच गरेको पनि देखियो । अहिले दिनदिनै कलैयाँ धाउँदा हैरान भएको छु ।’

कम्प्युटरमा समेत वास्तविक जग्गा धनीको नाम हटाएर अर्को नाम उल्लेख भएको पाइएको उनको भनाइ थियो । ‘कम्प्युटरमै अर्को नाम इन्ट्री छ, यो त त्यहीको कर्मचारी बिना सम्भव नै छैन,’ उनले भने ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप