बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राम मन्दिरमा फेरि नयाँ विवाद

साधु–सन्त एक अर्काविरुद्ध अपशब्द बोल्नेदेखि दुई समूहबीच हिंस्रक सङ्घर्षको सँघारमा
मङ्गलबार, ०३ मङ्सिर २०७६, १५ : ३३
मङ्गलबार, ०३ मङ्सिर २०७६

एजेन्सी । भारतको सर्वोच्च अदालतले अयोध्यामा बाबरी मस्जिद–राम मन्दिर विवादको फैसला दिँदै विवादित स्थानलाई रामललालाई सुम्पेको छ ।

मन्दिर बनाउनका लागि सरकारले तीन महिनाभित्र एक ट्रस्ट गठन गर्न भनेको छ । तर अहिले यही ट्रस्टको विषयमा नयाँ विवाद सुरु भएको छ । साधु–सन्तका विभिन्न सङ्गठनमाझ यो ट्रस्टमा सामेल हुने र नहुने विषयमा विवाद सुरु भएको छ ।

विवाद चर्कंदै गएपछि अहिले साधु–सन्त एक अर्काविरुद्ध अपशब्द बोल्नेदेखि दुई समूहबीच हिंस्रक सङ्घर्षको सँघारमा पुग्ने स्थिति सिर्जना भएको छ ।

राम जन्मभूमि न्यासका महन्त नृत्य गोपालदासविरुद्ध अभद्र टिप्पणी भएको भन्दै उनका समर्थकहरु तपस्वी छावनीका सन्त परमहंस दासमाथि आक्रमण गर्न उनको मठमा पुगे । ठूलो सङ्ख्याको प्रहरी बलको सहयोगपछि परमहंस दासलाई त्यहाँबाट सुरक्षित निकालिएको थियो ।

तपस्वी छावनीका सन्त परमहंस दास

उता परमहंस दासलाई तपस्वी छावनीले आचरण अशोभनीय भएको भन्दै निष्काशित गरेको थियो । उनको आचारण परिवर्तन भएपछि मात्र छावनीमा पुनः प्रवेश पाउने बताइएको छ ।

तर यो विवादमा दुई पक्ष मात्र छैनन् बरु मन्दिर निर्माणको उद्देश्यले पहिलेदेखि चलिरहेको तीन अलग–अलग न्यास अर्थात ट्रस्टका अतिरिक्त अयोध्यामा बसिरहेका अलग ‘रसुखदार’ सन्तहरु पनि यसमा संलग्न छन् ।

अयोध्या विवादलाई अदालतले टुङ्गो नलाउँदै रामलला विराजमानको भव्य मन्दिर निर्माणका लागि पछिल्ला केही वर्षदेखि तीनवटा ट्रस्ट सक्रिय थिए ।

राम जन्मभूमि मंदिर निर्माण न्यासका जन्मेजय शरण
 

पहिलेदेखि तीनवटा ट्रस्ट

यसमा सबैभन्दा पुरानो ट्रस्ट श्रीराम जन्मभूमि न्यास हो जुन सन् १९८५ मा विश्व हिन्दु परिषदको देखरेखमा बनेको थियो । यो ट्रस्ट कारसेवकपुरममा कैयौँ वर्षदेखि मन्दिर निर्माणको लागि ढुङ्गा सङ्कलन गरिरहेको थियो ।

दोस्रो ट्रस्ट रामालय ट्रस्ट हो, जो बाबरी मस्जिद भत्काएपछि सन् १९९५ मा बनेको थियो र यसको गठन पछाडि तत्कालीन प्रधानमन्त्री पीबी नरसिंहरावको पनि भूमिका रहेको बताइन्छ ।

तेस्रो ट्रस्ट श्रीराम जन्मभूमि मन्दिर निर्माण न्यास महन्त जन्मेजय शरणको नेतृत्वमा बनेको थियो ।

यी तीनैले पहिलेदेखि मन्दिर निर्माणका लागि ट्रस्ट रहेको अवस्थामा सरकारलाई अलग ट्रस्ट गठनको अवश्यकता नरहेको बताउँछन् । यी सबै ट्रस्ट आफ्नो नेतृत्वमा मन्दिर निर्माण ट्रस्ट बनाउनको लागि दबाब दिइरहेका छन् ।

करोडौँ चन्दा रकम सङ्कलन भइसक्यो

बीएचपीको नेतृत्वमा रहेको श्रीराम जन्मभूमि न्यासका अध्यक्ष र मणिराम दास छावनीको सन्त महन्त नृत्यगोपाल दास हुन् ।

राम मन्दिर आन्दोलनको दौरान मन्दिर निर्माणको लागि सङ्कलित करोडौँ धनराशि यही ट्रस्टसँग छ ।

विगतमा मन्दिर निर्माणका लागि आन्दोलन गरेको बीएचपीले मन्दिर निर्माणलाई अदालतले स्वीकृति दिएपछि उसका नेता र ऊसँग जोडिएको धर्माचार्य यही ट्रस्टको माध्यमबाट मन्दिर बनाउने दाबी गरिरहेका छन् । उसले यसका लागि अभियान चलाइरहेको छ ।

जब कि रामालय ट्रस्टको गठन सन् १९९५ मा द्वारिका पीठका शङ्कराचार्य स्वामी स्वरूपानन्द सरस्वतीसहित २५ धर्माचार्यको उपस्थितिमा मन्दिर निर्माणका लागि गरिएको थियो ।

यसको गठनमा शृङ्गेरीपीठको धर्माचार्य स्वामी भारती पनि सामेल थिए ।

सर्वोच्च अदालतको फैसलापछि रामालय ट्रस्टका सचिव स्वामी अविमुक्तेश्वरानन्दले मन्दिर बनाउने कानुनी अधिकार उनैसँग भएको दाबी पेस गरे । यसका लागि अघिल्लो हप्ता दिल्लीमा उनीहरुले एक पत्रकार सम्मेलन पनि गरेका थिए ।

नयाँ ट्रस्ट किन ?

बीबीसीसँगको कुराकानीमा स्वामी अविमुक्तेश्वरानन्दले भने, ‘अयोध्यामा मस्जिद भत्काएपछि रामालय ट्रस्ट मन्दिर निर्माणलाई नै निमित्त बनाइएको छ । मन्दिर निर्माण धर्माचार्यको माध्यमबाट हुनुपर्छ । यसका लागि हामीलाई कुनै सरकारी सहयोग र हस्तक्षेपको आवश्यकता पर्दैन । सरकारले यदि यसमा कुनै प्रकारको मनोमानी ग¥यो भने हामी न्यायालय पनि जान सक्छौँ ।’

रामालय ट्रस्टको दाबी पनि श्रीराम जन्मभूमि न्यासको जस्तै छ । दुवैको भनाइ मन्दिर निर्माणको जिम्मेवारी आफूलाई सुम्पियोस् भन्ने छ ।

रामालय ट्रस्टको तर्कमा उसको निर्माण बाबरी मस्जिद भत्किएपछि भएकाले ऊअघि बनेका ट्रस्टहरु अवैध हुन् । उता बीएचपी र श्रीराम जन्मभूमि न्यासले मन्दिर निर्माणका लागि अदालती लडाइँ लडेकाले मन्दिर निर्माणको जिम्मेवारी पनि तिनले पाउनुपर्ने दाबी छ । 

जब कि यो विवादमा मुख्य पक्षधर रहेको निर्मोही अखडाको भनाइमा नयाँ ट्रस्ट जुन बने पनि त्यसमा उसले महत्त्वपूर्ण भूमिका पाउनुपर्छ भन्ने छ । निर्मोही अखाडाको भूमिकाको कुरा सर्वोच्च अदालतको फैसलामा पनि गरेको छ ।

उता श्रीराम जन्मभूमि मन्दिर निर्माण न्यासको अध्यक्ष जन्मेजय शरण भन्छन्, ‘सर्वोच्च अदालतले केन्द्र सरकारलाई ट्रस्ट बनाउन अधिकार दिएको छ । यसैले मन्दिर निर्माणका लागि कुनै नयाँ ट्रस्ट बनाउने अधिकार केन्द्र सरकारसँग नै छ । विश्व हिन्दु परिषद् एक्लैलाई यो काम दिइयो भने हामी त्यसको विरोध गर्नेछौँ । सबैले निजी हितलाई छाडेर केवल मन्दिर निर्माणमा ध्यान दिनु आवश्यक हुन्छ । सरकारले सबै न्यासहरुका प्रतिनिधिलाई सामेल गराएर एक नयाँ ट्रस्ट बनाएर त्यसको निगरानी गर्नुपर्छ ।’

राम जन्मभूमिका पुजारी सत्येंद्र दास
 

यीभन्दा अलग रामलला विराजमानका मुख्य पुजारी आचार्य सत्येन्द्र दास सर्वोच्च अदालतको निर्देशानुसार नै अघि बढ्नुपर्ने बताउँछन् । कुनै पुरानो ट्रस्टलाई यो काम जिम्मा दिन नहुने उनको विचार छ ।

उनका अनुसार, ‘सर्वाेच्च अदालतले केन्द्र सरकारलाई ट्रस्ट बनाउने आदेश दिएको छ । यही आदेश अन्तर्गत नयाँ ट्रस्ट बन्नेछ । पहिलेदेखि जुन ट्रस्ट थिए तिनले राम मन्दिर निर्माणको नाममा सङ्कलन गरेको रकम नयाँ ट्रस्टलाई सुम्पिदिनुपर्छ । यो अस्वीकार गर्नेहरुबाट पैसा जबरजस्ती लिनुपर्छ ।’

सत्येन्द्र दासले कसले सङ्कलन गरेको रकम फिर्ता गर्नुपर्नेबारे त केही भनेनन्  तर निर्मोही अखाडेका महन्त दिनेन्द्र दास सीधा रूपमा भन्छन् कि विश्व हिन्दु परिषदको मन्दिर निर्माणको नाममा सङ्कलित इँटा, ढुङ्गा यहाँसम्म कि नगद पनि सकारलाई सुम्पिदिनुपर्छ ।

अडियो क्लिपले हलचल

तर विश्व हिन्दु परिषद्ले सजिलै ती सुम्पिदिन्छ भन्ने लाग्दैन । बीएचपी प्रवक्ता शरण शर्मा भन्छन्, ‘हामी वर्षौंदेखि मन्दिर निर्माणका लागि लागिरहेका छौँ । हाम्रो सङ्गठनले यो आन्दोलनको नेतृत्व गर्यो । देश–विदेशका सबै हिन्दुहरुको हामीमाथि समर्थन र सहयोग छ । प्रधानमन्त्री मोदीले यसबारेमा हामीसँग सल्लाह लिनेछन् भन्नेमा हामी विश्वस्त छौँ ।’

मन्दिर निर्माणका लागि बन्ने ट्रस्टलई लिएर चलेको यो विवादमा दुई महन्तबीच भएको एक कुराकानीको भाइरल भिडियोले पनि आगोमा घ्यूको काम गर्यो ।

अयोध्यामा सन्त समुदायको बीच प्रसारित भइरहेका एक अडियो क्लिपमा राम मन्दिर आन्दोलनमा सक्रिय रहेका बीएचपी नेता र भाजपाका पूर्व सांसद रामविलास वेदान्तीको नयाँ बन्ने ट्रस्टको प्रमुख बन्ने भनेर झगडा गरिरहेका छन् ।

यो क्लिपले अयोध्याका सन्तहरुमाझ निक्कै हलचल उत्पन्न गरिदिएको छ ।

यो अडियो क्लिपमा रामविलास वेदान्ती र तपस्वी छावनीका प्रमुख महन्त परमहंस दासबीच भएको विवादको रेकर्ड सुनिन्छ ।

यो अडियो क्लिपले अयोध्याका सन्तमाझ निक्कै हलचल उत्पन्न गरेको छ ।

यही अडियो क्लिपमा महन्त परमहंसदा राम जन्मभूमि न्यासका प्रमुख महन्त नृत्यगोपाल दासका लागि अशोभनीय शब्दको प्रयोग गर्छन् र यसबाट क्रुद्ध भएर नृत्यगोपाल दासका समर्थकले साधुलाई तिनका घरमा आक्रमण गर्ने प्रयास गरेका थिए । 

नृत्यगोपाल दास ट्रस्टमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई पनि सामेल गराउन माग गरिसकेका छन् । अखाडा परिषदका अध्यक्ष महन्त नरेन्द्र गिरीले पनि त्यसमा सहमती जनाएका छन् ।

जब कि यो अडियो क्लिपमा रमविला वेदान्ती र परमहंस दास योगी आदित्यनाथलाई समावेश गर्न नहुने तर्क गर्छन् । योगी आदित्यनाथ रामानन्द सम्प्रदायबाट नभएर नाथ सम्प्रदायका भएकाले यसो गर्नुपर्ने तिनको तर्क छ । 

तथापि रामविलास वेदान्ती यस कुराकानीलाई स्पष्ट अस्वीकार गर्छन् जब कि परमहंस दास यो मुद्दामा अहिले केही पनि बोलिरहेका छैनन् । तर महन्त नृत्यगोपाल दासमाथि परमहंस दासले कैयौँ गम्भीर आरोप लगाइरहेका छन् ।

अयोध्यामा वर्षौंदेखि मन्दिर आन्दोलनलाई नजिकबाट अवलोकन गरिरहेका स्थानीय पत्रकार महेन्द्र त्रिपाठी भन्छन्, ‘सर्वोच्च अदालतले हिन्दु र मुसलमान बीचको विवादलाई अन्त्य गर्ने कासिस गरेको छ । अब अयोध्यामा साधु–सन्तबीच विवाद र टकराव बढ्नेछ । यो कुराको आशङ्का पहिलेदेखि नै गरिएको थियो । ट्रस्टको हिस्सा बन्नका लागि हिन्दुवादी सङ्गठनहरुबीच टकराव हुनेछ तर अब जुन हिसाबमा अहिले स्टिङ अपरेसन र एक अर्काबीच भनाभन भइरहेको छ त्यसबाट यो विवाद झनै बढ्ने देखिन्छ । अझै कैयौँ सन्तहरु छन्, जो यो फैसलालाई लामो समयदेखि पर्खिरहेका थिए । अब उनीहरुलाई पनि ट्रस्टमा सामेल गराउनुपर्ने भन्दै माग उठ्नेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप