शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

उडन्ते समाचार देख्दा दुःख मात्रै हैन, दया लाग्छ : प्रमका प्रमुख राजनीतिक सल्लाहकार

मङ्गलबार, १७ मङ्सिर २०७६, १० : ४६
मङ्गलबार, १७ मङ्सिर २०७६

काठमाडौँ । केही समययता प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न सञ्चारमाध्यमहरुले फरक फरक समाचार दिइरहेका छन् । खासगरी सिंगापुरमा उपचार गरेर नेपाल फर्केपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर अनुमान र अड्कलवाजीका भरमा लेखिएका समाचारको प्रधानमन्त्रीको सचिवालयले समय समयमा खण्डन समेत गर्दै आएको छ । पछिल्लो समय प्रधानमन्त्री केपी ओली एपेन्डिसाइटिसको शल्यक्रिया गरेर अस्पतालमा छन् ।

चिकित्सक र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको दावी गरेका छन् । प्रधानमन्त्री स्वयंले बाहिर आएका समाचार र आशंका चिर्न सोमबार अस्पतालको आइसियु कक्षबाटै भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताएका छन् ।

यद्यपि, उनको फेरिएको मृर्गौला कमजोर भएकाले कहिले प्रत्यारोपण गर्ने भन्नेमा प्रधानमन्त्री र चिकित्सकहरु अझै टुङ्गोमा पुगिनसकेको बताएका छन् ।

यसै सन्दर्भमा मङ्गलबार अन्नपूर्ण पोष्ट दैनिकले ‘प्रधानमन्त्रीको थप उपचारका लागि अमेरिका लैजाने तयारी’ शिर्षकको समाचार प्रकाशित गरेको छ । जसलाई प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले खण्डन गरेका छन् । उनले उक्त समाचार ‘भ्रामक’ भएको दावी पनि गरेका छन् ।

मङ्गलबार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्वीट गर्दै रिमालले ‘कुन तत्त्वले हाम्रा मिडियाहरूलाई आधारहिन समाचार प्रेषित गर्न प्रेरित गर्छ होला ?’ भन्दै प्रश्न सोधेका छन् । उनले प्रधानमन्त्री ओलीलाई उपचारका लागि अमेरिका लैजाने विषयमा कुनैपनि छलफल नभएको भन्दै मिडियालाई बतासे नबन्न आग्रह समेत गरेका छन् ।

‘मिडियामा आउने यस्ता उडन्ते समाचार देख्दा दुःख मात्रै हैन, मिडियाकर्मीको स्तरप्रति पनि दया लाग्छ । मुलधारका मिडियाहरुले आफूलाई यसरी ‘बतासे’ नबनाएर उनीहरु कै भलो हुने थियो कि ?’ भन्दै रिमालले आक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओली गत साता एपेन्डिसाइटिसको शल्यक्रिया गरेर त्रिविस्थित मनमोहन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको सघन उपचार कक्षमा उपचाररत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप