शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तरकारी बारीमै रात बिताउँछन् पुनाराम

सोमबार, ०७ पुस २०७६, १५ : ०६
सोमबार, ०७ पुस २०७६

प्यूठान । वरिपरि लटरम्म फलेको टमाटर ।  हुर्किँदै गरेको बन्दा ।  एकछेउतिर फूल खेल्दै गरेको केराउ । तरकारी बारीको बीचमा रहेको टनेल । टनेल भित्र जमिनदेखि केही माथि उठाएर खाटको जस्तो बनावटी ।  त्यसमाथि ओछ्यान । नजिकै एकबृद्धाले तरकारीको स्याहार गर्दै गरेको दृष्य । यो कुनै कथा होइन ।   

 प्यूठान नगरपलिका ५ जुम्रीकाँडा पुर्णगाउँका कृषक पुनाराम पुन आफूले मेहनत गरेको तरकारी सुरक्षित राख्न तरकारीबारीमै रात बिताउने गर्दछन् ।  ‘काम गर्ने कालु मकै खाने भालु जस्तै भएको छ ।’ कृषक पुनारामले भने –‘मैले मेहनत गरी फलाएको तरकारी चोरी हुन थालेपछि तरकारी बारीमै रात बिताउने गर्छु ।’ दिउँसोको समयमा आफू बारीमै हुने हुँदा केही डर नभएको बताउने उनले रातको समयमा तरकारी चोरी हुन थालेको  बताउँछन् । गत वर्षको घटनालाई स्मरण गर्दै उनले भने–‘बोटबाटै एकमुष्ठ तरकारी खरिद गर्न ग्राहकले  बैना गरेकै रात तरकारी चोरिएको भएको थियो ।’ त्यसपछि तरकारी तयार भएको समयमा  बारीमै सुत्ने गरेको उनले बताए । 

पुनारामले आज भन्दा करिब ११ वर्ष अगाडि पाँच  हजार रुपैया बराबरको आलुको बिउ मकैसँग सटाएर व्यवसायी रुपमा तरकारी खेती गरेका थिए । सुरुको सिजनमा दुई क्वीन्टल आलुको विउ रोपेको र ३० कुवीन्टल उत्पादन गर्न सफल भएको सुनाउँदै त्यसपछि तरकारी खेतीमा नसा बसेको बताउँछन् । ‘तरकारीखेतीका लागि हाम्रो जमिन उर्वर छ, ४ वटा आलुको दानाले पाथी भरिएको थियो’ पुनारामले भने–‘त्यसबेला यातायातको सुविधा थिएन डोकोमै बोकेर तरकारी बिक्री गर्न बजार पुग्ने गर्थे ।’ 

मौसमी तथा वेमौसमी तरकारी खेती गर्दै आएकका पुन राम्रो उत्पादन भएको बेला एक सिजनमै ८० हजार आम्दानी गरेको बताउँछन् । करिब ६ रोपनी जग्गामा पुनारामले टमाटर, बन्दा, काउली, आलु, सिमी, केराउ, खुसार्नी, सिम्लामिर्च लगायतका तरकारीहरु उत्पादन गर्दै आएका छन् ।  श्रीमती गीमाको पनि उत्तिकै सहयोगले आफू सफल भएको उनको ठम्याइछ । मकै,  जौ, गहुँ खेतीबाट भन्दा छोटो समयमै तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिने उनको अनुभव छ ।  

पुनारामले तरकारी खेती गरेको आधा भाग अर्थात ३ रोपनी जमिनमा प्याज लगाउने तयारी गरेका छन् । अन्य तरकारी भन्दा प्याजलाई स्याहार गर्न केही सहज हुने र बजारभाउ पनि राम्रो पाउने भएकाले आधा जमिनमा प्याज रोप्ने तयारी गरेको उनले बताए । २ लाख आन्दानी गर्ने लक्ष्यका साथ प्याजलाई मेहनत गर्ने उनले बताए । 

करिब डेढ रोपनी जमिनमा लगाएको केराउबाट १५ क्वीन्टल उत्पादन गर्ने लक्ष्यका लिएका छन् । सिंचाई अभाव हुँदा गाग्रीबाट पानी बोकर समेत तरकारी उत्पादन गर्ने गरेको कुरा स्मरण गर्दै अहिले सिचाईको लागि सहज भएको कुरा सुनाए । 

उत्पादन गरेको तरकारी विक्री गर्न कुनै समस्या नभएको पुनारामले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप