कोरोना जीवाणु विरुद्धको पहिलो औषधि परीक्षण शुरु
ओमाहा । कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ ।
अध्ययनमा समावेश हुने आधा बिरामीलाई एन्टिभाइरल औषधि (रेमडेसिभर) दिइने छ भने बाँकी आधालाई प्लासेबो दिइने छ । यही प्रकृतिको औषधि अर्को एक कम्पनीले पनि परीक्षण गरिरहेको छ । यद्यपी विश्वभर कोरोना उपचारका लागि धेरै किसिमका अध्ययनहरु हाल सञ्चालनमा छन् ।
नेब्रास्का मेडिकल सेन्टरका वैज्ञानिक डा.आन्द्रे कालीलले चीनबाट फैलिएको कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्न लागेपछि सेन्टरले तत्कालै नयाँ औषधिको खोज शुरु गरेको बताए । कोविड–१९ सङ्क्रमण भएर अस्पताल भर्ना भएका बिरामीलाई यो औषधि परीक्षणका रुपमा खुवाउने सेन्टरको योजना छ ।
‘अति जरुरीमा परेका मानिसलाई सेवा गर्नु नै हाम्रो मुख्य लक्ष्य हो,’ डा कालीलले भने । जापानको क्रुज जहाजबाट उद्धार गरिएका १४ जनालाई यही नेब्रास्का मेडिकल सेन्टरमा भर्ना गरिएको छ । तीमध्ये १२ जनामा कोविड–१९ को सङ्क्रमण देखिएको छ ।
नयाँ र रहस्यमय यस कोरोना भाइरसको हालसम्म कुनै प्रामाणिक उपचार वा खोप अहिलेसम्म बनेको छैन । कोरोनाकै कारण हाल विश्वभर ८० हजारभन्दा बढी मानिसलाई सङ्क्रमित भइसकेका छन्, र २ हजार ७०० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश चीनका नागरिक छन् ।
चिकित्सकहरुले ज्वरो, खोकी र सास फेर्न अप्ठ्यारो भएर उपचारका लागि आएका बिरामीलाई तरल पदार्थ र पीडा कम गर्ने औषधि मात्र दिइरहेका छन् । सख्त बिरामी व्यक्तिलाई चिकित्सकहरूले भेन्टिलेटर प्रयोग गरेर श्वास फेर्न मद्दत गर्दछन् वा मेसिनको प्रयोग गरेर शरीरभित्र अक्सिजन पम्प गराइन्छ जसले मुटु र फोक्सोको कामलाई केही सहज बनाउँछ ।
चीनमा जाइलेड साइन्सेजले निर्माण गरेको रेमडेसिभर आधारित औषधिको परीक्षण प्रयोग कम्तिमा दुई जना बिरामीमा गरिएको छ । अर्कोतर्फ, एचआईभीको औषधि बनाउन प्रयोग हुने लोपिनावीर र रीटोनावीरको सम्मिश्रणबाट पनि अर्को औषधि परीक्षण भइरहेको छ ।
विश्व स्वास्थ्य संगठनले गत महिना प्रकाशन गरेको एक प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा रेमडेसिभरलाई ‘सबैभन्दा सम्भाव्य’ उपायका रुपमा स्वीकारेको थियो । कङ्गोका केही इबोला बिरामीहरूमा यो अध्ययनलाई छोटो परीक्षणका रुपमा प्रयोग गरिएको थियो । डब्लुएचओले प्रयोगशालाको अध्ययनमा नयाँ कोरोना भाइरससँग मिल्दाजुल्दा सार्स र मर्सको उपचार गर्न सकिने जनाएको छ ।
जाइलिडले यो औषधि थोरै बिरामीलाई प्रयोगका लागि उपलब्ध गराएको छ, जसमा वासिङ्टन राज्यका एक व्यक्ति पनि छन् जो कोरोना प्रकोपको केन्द्रमा रहेको चिनियाँ शहर उहानको भ्रमणपछि बिरामी भएका थिए । उनलाई अस्पतालमा भर्ना गरिएको छैन, तर रेमडेसिभरले उनलाई मद्दत गरेको थियो वा थिएन भन्ने केही थाहा हुन सकेको छैन । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण