बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको औषधी पत्ता लगाएको ट्रम्पको दाबी कति सही ? यस्तो छ वास्तविकता

मङ्गलबार, ११ चैत २०७६, ०९ : २२
मङ्गलबार, ११ चैत २०७६

कोरोना भाइरसलाई मानवजाती सामू पैदा भएको सबैभन्दा ठूलो खतरा मानिएको छ ।

संसारभरी अहिलेसम्म यो भाइरसले १६ हजार बढीको ज्यान लिइसकेको छ ।

नेपालमा पनि सोमबार मात्रै नयाँ संक्रमित देखिएको छ । यो महामारी फैलनुको सबैभन्दा ठूलो कारण भनेको अहिलेसम्म यसको औषधी विकसित गर्न सकिएको छैन ।

संसारभरीका स्वास्थ्य क्षेत्रका वैज्ञानिक यसको प्रभावकारी औषधी बनाउन जुटेका छन् तर यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो भाइरसको औषधी बनाएको दाबी गरेका छन् ।

शनिबार २१ मार्चमा डोनल्ड ट्रम्पले ट्वीट गरे, ‘हाइड्रोेक्सिक्लोरोक्विन र एजिथ्रोमाइसिनको मिश्रण मेडिसिनको क्षेत्रमा ठूलो गेम चेन्जर साबित हुनसक्छ । एफडीएले ठूलो काम गरेर देखाएको छ – धन्यवाद । यी दुई एजेन्टलाई तत्काल प्रभावकारी ढङ्गले प्रयोगमा ल्याउनुपर्छ, मानिसहरुको ज्यान गइरहेको छ ।’

ट्रम्पले अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन अर्थात् एफडीएले कोरोनाको औषधी खोजेको दाबी गरे ।

ट्रम्पले यो विषयमा ह्वाइट हाउसको मिडिया ब्रिफिङमा पनि बयान दिए ।

उनले भने, ‘हामी यो औषधीलाई तत्कार प्रभावकारी तरिकाले उपलब्ध गराउने तरखरमा छौं । एफडीएले निकै उत्कृष्ट काम गरेको छ । यो औषधी स्वीकृत भइसकेको छ ।’

ट्रम्पको दाबीको वास्तविकता परीक्षणः

बीबीसीले यसबारे अनुसन्धान गरेको छ ।

साथै अमेरिकी स्वास्थ्य विभागले यसलाई स्वीकृति पनि दिइसकेको छ भनेर जान्ने कोसिस गरेको छ ।

ट्रम्पको यो बयानपछि २१ मार्चमा अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले एक रिपोर्ट जारी गर्यो ।

उक्त रिपोर्टमा सीडीसीले कोभिड–१९ का बिरामीका लागि एफडीएले कुनै औषधी स्वीकृत नगरेको जानकारी दिइएको थियो ।

यद्यपि, उक्त रिपोर्टमा अमेरिकासहित विभिन्न देशमा कोभिड–१९ का बिरामीका लागि हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग भने गरिएको बताइएको छ ।

एउटा सानो अध्ययनका अनुसार हाइड्रोक्सीक्लोरोक्विनसँग एजिथ्रोमाइसीनको मिश्रण कोभिड–१९ को असरलाई कम गर्न सक्छ ।

औपचारिक उपचार छैनः

उक्त रिपोर्टमा हाइड्रोक्सिलोरोक्विनसँग एजिथ्रोमाइसीनको प्रयोगलाई ‘अनकन्ट्रोल बेसिस’ बताइएको छ । यसबाट स्पष्ट हुन्छ कि यो मिश्रणलाई औपचारिक उपचार मान्न हुँदैन ।

वास्तवमा विज्ञान–मेडिसिनको दुनियाँमा कुनै पनि प्रकारको असरलाई दुई तरिकाले मापन गरिन्छ ।

१) अनियन्त्रित अर्थात् अनकन्ट्रोल अब्जर्भेसन

२) नियन्त्रित अर्थात् कन्ट्रोल अब्जर्भेसन

अनियन्त्रित अब्जर्भेसनमा कुनै विशेष औषधीले यदि असर गरिरहेको छ भने त्यसलाई प्रयोगमा ल्याउन सकिन्छ । यसको असर धेरैजसो व्यक्तिपरक हुन्छ अर्थात् हरेक व्यक्ति एकै खालका हुन्छन् भनेर निश्चित हुँदैन ।

यस्तै, अनियन्त्रित अब्जर्भेसनमा एक योजना अनुसार तुलनात्मक अध्ययन गरिन्छ । यसमार्फत् कुनै औषधीको असरबारे धेरै र सटिक जानकारी पत्ता लाग्छ ।

रिपोर्टमा यो पनि स्पष्ट लेखिएको छ कि क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधीका केही नकारात्मक असर पनि छन् । यो प्रयोग गर्ने केही बिरामीलाई विशेष सल्लाह दिनुपर्छ । यसको प्रयोगले मृगौलाले काम गर्न छोड्ने र मुटुजन्य समस्याको सम्भावना हुन्छ ।

सीडीसीका अनुसार अमेरिकामा हाइड्रोक्सिक्लोरोक्विनका केही क्लिनिकल टेस्टको योजना तयार छन् र चाँडै नै यो प्रक्रिया सुरु हुनेछ ।

क्लोरोक्विन के हो ?

क्लोरोक्विन मलेरियाको निकै पुरानो र प्रभावकारी औषधी हो । यसको प्रयोग दशकौंदेखि मलेरियाको बिरामीका लागि गर्दै आएको छ ।

पछिल्ला केही वर्षमा यो औषधीका केही नकारात्मक असर पनि देखियो जसका कारण विभिन्न देशले यसको प्रयोगमा नियन्त्रण पनि गरेको छ तर अहिले थुप्रै देशमा यसको भारी मात्रामा प्रयोग भइरहेको छ ।

बीबीसीले आफ्नो अनुसन्धानमा यो औषधी अमेरिकालगायत भारतमा पनि प्रयोग गरिएको छ ।

तर ट्रम्पले एफडीएले यो औषधीलाई स्वीकृती दिइसकेको दाबी गरेपनि एफडीएले यसलाई अस्विकार गरेको छ । यस्तोमा यसलाई कोरोना भाइरसको औपचारिक औषधी भन्न मिल्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप