बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विश्व स्वास्थ्य संगठनले निको भइसकेका संक्रमितबारे कुरा गर्दै किन दियो चेतावनी

आइतबार, १४ वैशाख २०७७, १० : ३७
आइतबार, १४ वैशाख २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले लकडाउन खुकुलो बनाउनका लागि ‘इम्युनिटी पासपोर्ट’ वा ‘जोखिम मुक्त सर्टिफिकेट’ जारी गर्न नहुने बताएको छ ।

डब्ल्यूएचओले जो व्यक्ति संक्रमणबाट निको भएका छन्, उनीहरुमा एन्टीबडी विकसित भएको, उनीहरुलाई पुनः संक्रमण नहुने र कोरोनाभाइरसबाट उनीहरु सुरक्षित भएको कुराको कुनै प्रमाण नभेटिएको जानकारी दिएको छ ।

संगठनले यस्तो प्रकारको कदमले भाइरसको संक्रमण पुनः फैलिने चेतावनी दिएको छ । संगठनले भनेको छ, ‘जसले आफूहरु इम्युन भएको भनेर सोच्छन्, उनीहरु सावधानी अपनाउन बन्द गर्नेछन् ।’

केही सरकारले यस्ता मानिसहरुलाई काममा फिर्ता गराउनेबारे विचार गरिसकेका छन् ।

कोरोनाभाइरस संक्रमणका कारण लगाइएको लकडाउनले संसारभरीको अर्थव्यवस्थामा भारी क्षती पुर्याएको छ ।

हालसम्म कोरोनाका २८ लाख बढी संक्रमित भेटिएका छन् भने दुई लाख बढीको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनको धारणाः

संगठनले एक संक्षिप्त नोटमा भनेको छ, ‘संक्रमितले निको भएपछि एन्टीबडी विकसित गरेको र उनीहरु पुनः संक्रमित नहुने र उनीहरु यसबाट सुरक्षित भएको भन्ने खबरमा कुनै प्रमाण भेटिएको छैन ।’

धेरैजसो अध्ययनमा कोरोनाको संक्रमणबाट ठिक भएका व्यक्तिमा एन्टीबडी हुने र कतिमा एन्टीबडीको स्तर कम हुने दाबी गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबारसम्म कुनै भाइरसको एन्टीबडीको उपस्थितीमा प्रतिरोधी क्षमतामार्फत् भविष्यमा पनि भाइरस संक्रमणबाट रोक्ने क्षमता प्रदान गर्छ भनेर कुनै अध्ययन भएको छैन ।

एन्टीबडी प्रभावकारी छ छैन भनेर प्रयोगशालामा परीक्षणको आवश्यकता भएको डब्ल्यूएचओले बताएको छ ।

बीबीसीकी स्वास्थ्य पत्रकार रेचेल सेरेयरले विश्व स्वास्थ्य संगठनको गाइडलाइन संसारभरीका अनुसन्धानकर्ताको रिपोर्टमा आधारित भएको बताएकी छिन् । उनका अनुसार यो भविष्यमा परिवर्तन पनि हुनसक्छ किनभने यो भाइरसबारे हामीले हरेक दिन नयाँ जानकारी पाइरहेका छौं ।

एकपटक संक्रमणबाट बचेपछि तपाईंलाई पुनः संक्रमण हुँदैन किनभने तपाईंको शरीरमा एन्टीबडी विकसित भएको छ भन्ने दाबीको हालसम्म प्रमाण नभेटिएकोले  उनीहरुलाई इम्युनिटी पासपोर्टका आधारमा प्रतिबन्धमा छुट दिनु जोखिमयुक्त हुने उनले बताएकी छिन् ।

जर्मनी, इटली र बेलायतजस्ता थुप्रै देशमा एन्टीबडीको परीक्षण सुरु भइसकेको छ । बेलायतमा हरेक महिना अर्को वर्षसम्म २५ हजार व्यक्तिको एन्टीबडी र संक्रमण दुबैको परीक्षण हुनेछ ।

कुन देशमा ‘इम्युनिटी पासपोर्ट’ बारे कुरा भइरहेको छ ?

गत हप्ता चिलीले जो व्यक्ति संक्रमणबाट ठिक भएका छन् उनीहरुलाई ‘हेल्थ पासपोर्ट’ जारी गरिने बताएको थियो ।

अधिकारीले जसको शरीरमा भाइरसको एन्टीबडी पाइएको छ, उनीहरु काममा जान सक्ने पनि बताएका थिए ।

स्वीडेनमा कडा प्रतिबन्ध लागू गरिएको छैन । त्यहाँका केही वैज्ञानिकले जो व्यक्ति कडा प्रतिबन्धमा बसिरहेका छन्, उनीहरुको तुलनामा कम प्रतिबन्धमा बस्नेहरुको प्रतिरोधी क्षमता बलियो हुने बताएका छन् ।

यद्यपि, स्विडेनको सार्वजनिक स्वास्थ्य विभागका एन्ड्रूज वेलेन्सटेनले बीबीसीसँगको कुराकानीमा प्रतिरोधीको विषयमा अहिले खासै जानकारी प्राप्त छैन ।

उनले भने, ‘एन्टीबडीबारे थप परीक्षण भएपछि मात्रै हामी यसबारे थप जानकारी हासिल गर्न सक्नेछौं । तर समयसँगै यदि पुनः संक्रमणको घटना आउन सुरु भए त्यतिबेला पनि हामीलाई यसबारे थाहा हुनेछ ।’

संक्रमणबाट हुने मृत्युदर अत्यधिक भएको बेल्जियमका सरकारी सल्लाहकारले बीबीसीलाई भने, ‘११ मे देखि बिस्तारै लकडाउनमा छुट दिने योजना छ । यद्यपि, म इन्युनिटी पासपोर्टको विचारको विरोध गर्छु ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप