वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन सुरु, नयाँ श्रम स्वीकृति अन्योलमै
वैदेशिक रोजगारीमा गई अवधि पूरा गरी फर्किएका तर फेरि पनि सोही कम्पनीमा जानेहरुका लागि पुनः श्रम स्वकिृति खुला गरिएको छ । कोरोना माहामारीका कारण ३ महिनाभन्दा बढी समयदेखि बन्द रहेको श्रम स्वीकृति बिहीबारबाट दिन सुरु गरिएको हो ।
पहिलो चरणमा पुनः श्रम स्वीकृति मात्रै दिन सुरु गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसद दाहालले रातोपाटीलाई बताए । उनले भने, ‘सिसिएमसीको निर्णयलाई टेकेर मन्त्रालयले तत्कालका लागि पुनः श्रम स्वीकृति दिनु भनेर निर्देशन दिएको छ । हामीले मन्त्रालयले भने अनुसार तत्कालका लागि पुनः श्रम स्वीकृति दिन सुरु गरेका छौँ । अब बिस्तारै नयाँ पनि सुरु होला । तर नयाँ कहिले खुल्छ भनेर अहिले नै भन्न सक्दिन ।’
कोरोना माहामारीका बीच पनि कतिपय देशमा लकडाउन नभएको र उद्योगहरु चलिरहेको अवस्थामा पहिले गएर फर्केकाहरुलाई पुनः श्रम स्वीकृति दिन थालिएको हो । कतिपय कम्पनीबाट कामदारको माग भइ आएको र पहिले नै कागजात तयार भइसकेकाहरुका लागि श्रम स्वीकृति दिन थालिएको विभागले जनाएको छ । काठमाडौंस्थित श्रम कार्यालयबाट बिहीबारदेखि नै पुनः श्रम स्वीकृति दिन थालिएको महानिर्देशक दाहालले बताए ।
वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिने सम्बन्धमा सेवाग्राहीले सुरक्षा सतर्कता भने अपनाउनु पर्ने बताएको छ ।
काठमाडौं कार्यालयले स्वास्थ्य प्रोटोकलको मापदण्ड अनुसार सेवाग्राहीको लागि लाईन बस्न २–२ मिटरको दुरी कायम हुनेगरी चिन्ह लगाइएको छ । साथै कार्यालय हातामा प्रवेश गर्दा मास्क अनिवार्यरुपमा लगाउनुपर्ने बताएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ गते बसेको वैठकले श्रम स्वीकृति खुला गर्न श्रम मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको थियो । यद्यपि श्रम मन्त्रालयले तत्कालका लागि पुनः श्रम स्वीकृति मात्रै दिन लागेको हो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको तत्कलीन कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गएको फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगन गर्न निर्देशन दिएको थियो । समितिको निर्देशनपछि वैदेशिक रोजगार विभागले फागुन ३० गतेबाट वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ श्रम स्वीकृति लिनका लागि बन्द गरेको थियो ।
हवाई उडान बन्दका कारण श्रम स्वीकृति पाएपनि रोजगारीमा जान कठिन
सरकारले आगामी साउन ७ गतेसम्मका लागि सबैखाले अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्द लगाएको छ । जसका कारण वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति पाएपनि सहजरुपमा अन्तर्राष्ट्रिय उडान नभएका कारण ती देशमा जान भने कठिन हुनेछ । यद्यपि यात्रुको सङ्ख्या धेरै भई चार्टर उडान भएमा वा ती देशबाट यात्रु ल्याउनका लागि चार्टर उडान भएको अवस्थामा नेपालबाट पनि श्रम स्वीकृति लिएकाहरुले यात्रा गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कले छोडे ह्वाइट हाउस, डजलाई भने निरन्तरता दिने
-
स्वास्थ्य बीमालाई १० अर्ब बजेट, मन्त्रालय अन्तर्गत यस्ता छन् कार्यक्रम
-
आन्दोलन छाडेर राप्रपाका सांसद बजेट भाषणमा सहभागी हुने
-
पूर्वमन्त्री खड्काको निधन
-
ट्रम्पलाई ट्यारिफ धक्का, सङ्घीय अदालतले लगायो प्रतिबन्ध
-
विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !