मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

उठिबास हुने चिन्तामा डोम समुदाय, घर निर्माण अधुरै

बुधबार, ३१ असार २०७७, १२ : ०२
बुधबार, ३१ असार २०७७

जनकपुर । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ स्थित हरिनमारीमा केही दलित समुदायलाई उठिबास गराउन गाउँले नै लागिपरेका छन् । भंगहा नगरपालिकाको तथ्यांक अनुसार ५ सय घरधुरी भएको हरिनमारी गाउँमा याद, मुसहर, तेली, दास, चमार, मुस्लिम, ठाकुर र डोम जातजातिको बसोबास छ ।

यस वडामा मात्रै २१ प्रतिशतभन्दा बढी जनसंख्या मुसहर समुदायको छ । हरिनमारी गाउँको सिमाना तर्फ पुछारका २ घरमा मल्लिक (डोम) परिवार बसोबास गर्ने गर्छन् । उनीहरु भने यतिबेला उठिबासको चिन्तामा छन् ।
४५ वर्षीय सिकेन्दर मल्लिक तीन महिनादेखि राम्ररी निदाउन नपाएको बताउँछन् । नयाँ घर निर्माण गर्न उनले गएको चैत्र मसान्त मै आधा घर भत्काए । त्यपछि दैनिक विपद्को सामना गर्न परिरहेको उनले सुनाए । 

गत चैत्रमा जनता आवास कार्यक्रम अन्तर्गत २ कोठे पक्की घर निर्माण हुने खबर पाएपछि मल्लिक परिवार खुशीले गद्गद् भयो । मल्लिक परिवारकै ललिता मल्लिक उपभोक्ता समितिको अध्यक्ष समेत भइन् । ललिताले वैशाखमै घर निर्माण गर्न इट्टा, बालुवा, सिमेन्ट र रड मगाइन् ।

सिकेन्द्र मल्लिकको परिवार पाँच पुस्तादेखि हरिनमारी गाउँको १० धुर ऐलानी जग्गामा बस्दै आएका हो । यसकारण घर निर्माणमा कुनै प्रकारको समस्या नआउने भन्दै ललिता ढुक्क साथ घर निर्माणको तयारीमा लागिन् ।
काम सुरु गर्दा छिमेकी घडेरी भएका स्थानीय रामजतन यादव, रामप्रसाद यादव, शिव नारायण यादव र ललका यदाव लगायतका मानिसहरूले विरोध गरे । गाउँमा डोमको घर निर्माण नहुने भन्दै उनीहरु विरोधमा उत्रिए । त्यसयता उनले दैनिक जनप्रतिनिधिदेखि स्थानीय नेता समेत गुहारे । तर, कसैले वास्ता नगर्दा अहिलेसम्म पनि उनको घर निर्माण हुने सुरसार देखिएको छैन ।

सरकारले कानूनीरुपमा छुवाछुत जस्ता कुप्रथा समाजबाट हटाए पनि स्थानीय समाजमा अहिले पनि व्यवहारमा यो समस्या कायमै छ । जसको एक उदाहरण हरिनमारीमा डोम समुदायको घर निर्माणमा भइरहेको अवरोध हो ।
दलित भित्र पनि हेपिएका मल्लिक परिवारले यस्तो समस्या पटक पटक खेप्दै आएको छ । वि.सं. २०६६ सालमा पनि स्थानिय जनप्रतिनिधिले विकासको नाममा डोजर चलाएर डोम समुदायको घर भत्काउने प्रयास गरेको थियो । त्यति बेला नेकपाका स्थानीय नेता रमेश यादवले विकल्प दिएरमात्रै घर भत्काउन पाउने अडान लिएका थिए । रमेश यदावकै नेतृत्वमा त्यति बेला मल्लिक परिवार सुरक्षित भएको स्थानीयको भनाइ छ ।

सिकेन्द्र मल्लिकका अनुसार ३÷३ पटक छिमेकीहरूले घर भत्काउन प्रयास गरिसके । कानुन विपरित छिमेकीहरूले घर भत्काउने प्रयास गरेको उनको आरोप छ । दलित समुदायको घर भएकै कारण सो टोलमा गैर दलितहरु बस्न नचाहने भन्दै दलित परिवारलाई त्यहाँबाट विस्थापित गर्न सके गैर दलित बस्ती बढ्ने र घडेरीको मूल्य पनि बढ्ने भन्दै छरछिमेकले आफूहरुलाई हटाउन खोजेको मल्लिक परिवारको भनाइ छ । 
नेपाल वि.सं. २०६८ जेठ २१ गते जातीय छुवाछुत मुक्त राष्ट्रका रुपमा घोषणा गरिएको थियो । प्रतिनिधिसभाबाट जातीय छुवाछुत तथा भेदभाव कसुर र सजाय ऐन पारित भए पनि छुवाछुत अझै कायमै रहेको भन्दै दलित अगुवाहरू चिन्ता व्यक्त गर्छन् ।
सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक तथा धार्मिक रुपमा वञ्चितीकरण गरिएका तथा राज्यको मुल प्रवहबाट पछाडि रहेको दलितमाथि अझै विभेद र हिंसाको घटना हुने गरेको राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले बताए । 
सदियौँदेखि विभेदको चपेटामा पिल्सिदै आएका दलित भित्र पनि हेपिएका डोम समुदायले आजसम्म पनि उन्मुक्ति नपाएको दलित संघर्ष समितिका प्रदेश नम्बर २ अध्यक्ष चन्देश्वर दासले बताए । उनले आफुहरु स्थलगत अनुगमन  र पीडित परिवारलाई भेटेर आएको भन्दै सरोकारवाल निकायसँग कुराकानी गरिरहेको जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप