बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

खेलकुद परिषद्‍मा यी हुन् सदस्य सचिवका दाबेदार

मङ्गलबार, ०६ साउन २०७७, १४ : ३१
मङ्गलबार, ०६ साउन २०७७

नयाँ खेलकुद ऐन जारी भएसँगै राष्ट्रिय खेलकुद परिषद्मा नयाँ सदस्य सचिवको नियुक्तीका लागि दौडधुप चलेको छ । युवा तथा खेलकुद मन्त्रालयले दर्खास्त आह्वान गरेयता सदस्य सचिव पदका लागि दुई महिलासहित २७ जनाको आवेदन परेको छ । 

जसमध्ये कम्तिमा एक महिलासहित तीनजनाको नाम मन्त्रालयले गठन गरेको सिफारिस समितिबाट अनुमोदन हुनेछ । छानिएका तीनमध्ये एक व्यक्तिलाई सदस्य सचिव बनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गर्नेछ । नयाँ ऐनअनुसार खेलकुद क्षेत्रमा कम्तिमा ५ वर्ष काम गरेको र स्नातक तहसम्म अध्ययन गरेको नेपाली नागरिकले सदस्य सचिवका लागि आवेदन दिन पाउनेछन् । 

को–को छन् प्रत्यासी ?
पूर्व सदस्य–सचिव रमेश सिलवालसहित २७ जना अहिले प्रत्यासी छन् । आवेदकमध्ये सुनसरीकी मिना श्रेष्ठ र ललितपुरकी अन्जु श्रेष्ठमात्रै महिला हुन् ।

त्यस्तै, नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्द, स्पोर्टस् साइन्समा विज्ञता हासिल गरेका अचुतम न्यौपाने, भलिबल खेलाडी लिलबहादुर थापा, रोशन महर्जन, अनिल अधिकारी, हर्कबहादुर राई, शिवराज भट्ट, रवि  राजकर्णिकार, निलमसिंह बज्राचार्य, रामेश्वर श्रेष्ठ, अच्युत खनाल, मनबहादुर गुरुङ, विजयकुमार राई, सानुराजा केसी, सुदिल शाही, रमेशमान डंगोल, ध्रवराज न्यौपाने, खेमराज अधिकारी, राम पुडासैनी, सुनिल नकर्मी, रणबहादुर चन्द (पूर्व एआईजी), दीपेन्द्र ढकाल, तेजबहादुर गुरुङ र किशोर शाहीले आवेदन दिएका छन् । 

पूर्व सदस्य सचिव रमेश सिलवाल सबैभन्दा बलिया दाबेदार हुन् । गत मंसिर १४ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग)को भव्य आयोजना र त्यस प्रतियोगितामा नेपालको ऐतिहासिक प्रदर्शन उनको दाबीलाई बलियो बनाउने आधार हुन् ।

 यद्यपी, साग आयोजनाको आर्थिक पाटो पारदर्शी हुन नसक्दा उनको दाबी विवादित बनेको छ । साग आयोजनाका कार्यकारी प्रमुख समेत रहेका तत्कालीन सदस्य सचिव सिलवालले प्रतियोगिता सकिएको ९० दिनभित्रै हरहिसाब सार्वजनिक गर्ने घोषणा गरेका थिए, आफ्नो घोषणा समयमै पूरा गर्ने त परको कुरा पद छाड्दासम्म पनि उनले पूरा गर्न सकेनन् । 

सदस्य सचिवका अर्का प्रत्यासी मेघराज पौडेल लामो समयदेखि पर्यटकीय संभावना बोकेका खेलहरुको प्रवद्र्धनमा सक्रिय छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका स्थायी बासिन्दा उनी पर्वतारोहण संघ, मोटर स्पोर्टस् र रक क्लाईम्बिङमा सक्रिय छन् ।

उनी खेलकुदमा विभिन्न योजना र रणनीति बनाउने र त्यसलाई कार्यान्वयन गर्ने दख्खल राख्छन् । अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलनमा सहभागिता जनाएर कार्यपत्र प्रस्तुत गर्दै नेपालमा पर्यटकीय खेलको प्रवद्र्धनमा सक्रिय छन् ।

२०१४ मा फिलिपिन्समा सम्पन्न एशिया प्यासिफिक ड्राइभ टुरिजम कन्फ्रेन्समा उनले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, २०१५ अप्रिलमा नेपालमै भएको एफआईए स्पोर्टस् रिजनल कन्फ्रेन्समा उनी कार्यक्रम संयोजक थिए । उनी नेकपाको युवा तथा खेलकुद विभागका सदस्य पनि हुन् । 

सदस्य सचिवका प्रत्यासीमध्ये अन्जु श्रेष्ठ राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान हुन् । रवि राजकर्णिकार घोडाचढी संघका अध्यक्ष हुन् । तेजबहादुर गुरुङ ह्यान्डबलका पूर्व खेलाडी, प्रशिक्षक तथा अहिले ह्यान्डबल संघका अध्यक्ष हुन् । ध्रुवराज न्यौपाने काठमाडौं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष हुन् । त्यस्तै, रामेश्वर श्रेष्ठ काठमाडौं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष हुन् । 

नयाँ ऐनबारे खेलाडीको टिप्पणी 
करातेका पूर्व खेलाडी तथा प्रशिक्षक कुशल श्रेष्ठ नयाँ ऐनलाई सकारात्मक मान्दछन् । ‘सदस्य सचिव भनेको नीति निर्माण गर्ने व्यक्ति पनि हो, त्यसैले पढाईको योग्यता तोकिनु सकारात्मक छ । ५ वर्षे मापदण्डले खेलकुद जानेको व्यक्ति सदस्य सचिवका रुपमा आउने सुनिश्चित गरेको छ ।

यो ऐन सकारात्मक छ,’ उनी भन्छन्, ‘यद्यपी राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक तथा कर्मचारीले अन्य संघमा बस्न नपाउने भनेर नियम बनाइएको छ । मेरो बुझाईमा कर्मचारी र प्रशिक्षकहरु खेलकुदबारे जानकार हुने भएकाले उनीहरुले  खेलकुदका संघ–संस्थामा बसेर योगदान गर्दा राम्रो नै हुन्छ होला ।’

राष्ट्रिय फुटबल टिमका कप्तान सुजल श्रेष्ठ शैक्षिक योग्यता तोक्न जरुरी नभएको बताउँछन् । ‘खेलकुद बुझेको र जानेको व्यक्ति आउनुपर्छ भन्ने विषय निकै सकारात्मक छ । तर शैक्षिक प्रमाणपत्र हासिल गर्दैमा खेलकुद बुझिन्छ भन्ने होइन । जस्तो प्रधानमन्त्री बन्नका लागि पनि शैक्षिक योग्यता तोकिएको छैन नि । मेरो बुझाईमा जोसुकै आएपनि खेलकुद बुझेको र यस क्षेत्रलाई माया गर्ने व्यक्ति आउनुप¥यो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप