लघुकथा : मायाको चिनो
- भरत सिग्देल
घर मास्तिरको काउले पाखा ढकमक्क फुलेका लालीगुराँसले बेहुलीझैँ सिँगारिएको आभास हुन्थ्यो । पूर्वको झुल्के घामसँगै कमरेड अविनाश टुप्लुक्क आइपुग्यो । जुरेलीको पाउमा शिर राख्दै भन्यो, `` आमा ! म आइपुगेँ । जनगणतन्त्र लिएर आएँ। दिदीको रगत चुस्ने खुनीहरूको सत्ता ढालेर आएँ। बाले रोप्नुभएको क्रान्तिको बिरुवामा मुक्तिको फूल फुलाएर आएँ । लिनुस् , यो हाम्रा सर्वोच्च कमान्डरले पठाउनुभएको मायाको चिनो। ´´
जुरेलीका गह आँसुले भरिभराउ भए । सर्वोच्च कमान्डरले पठाएको मायाको चिनो पिँढीमाथिको एकपाखे पालीमा सिउरिन् अनि छोरोलाई ग्वाम्लाङ्ग अँगालो हालेर डोर्याउँदै घरभित्र लगिन् । अविनाश मूल ओछ्यानमा गएर बस्यो। चिम्टाले अगेनोको भुतभुते खरानी खोतली सखरखण्डका टुक्रा निकालेर दिइन् ,जुरेलीले छोरोलाई । ``बाबु, भोक लाग्यो होला , तिमी यो खाँदै गर । म भात पकाउँछु । ´´ छोरोलाई रातो टीका लगाई बिदाइ गरेको दिनदेखि आजसम्मका सुखदुःखका कहानी साटासाट गरे आमाछोराले।
अचानक मेघ गर्जनको आवाजले जुरेली झल्याँस्स भइन्। हस्याङफस्याङ गर्दै उठेर अगेनोमा गाड्या अगुल्टो फुकेर दियो बालिन् र यताउता हेरिन्। घरभित्र कोही थिएन। दैलोबाट यस्सो मुन्टो निकालेर पालीमा सिउरिएको मायाको चिनो खोजिन्। त्यहाँ पनि केही भेटिएन ।बरु आकाशमा लगातार चम्किरहेको बिजुली र दक्षिण पश्चिमतिरबाट आएको आँधिबेहरीकाबीच आँगनमा दुईवटा भुस्याहा कुकुरहरू रातो कपडाले बाँधिएको एउटा जुठो हड्डीमा लुछाचुँडी गर्दै थिए । जुरेली भने बाँचे मुक्ति, मरे सहिदको कसम खाँदै आफ्नो छोरो बिदा भएको दुई हप्तापछि चार जना युवायुवतीले ओढाएको दोसल्लाको फेरले आँसु पुछ्न थालिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण