फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
सारांश
- फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा फ्रान्स र स्पेनबीच डालस स्टेडियममा प्रतिस्पर्धा सुरु भएको छ ।
- फ्रान्सका कप्तान किलियन एम्बापेले आज विश्वकपमा आफ्नो २१औँ खेल खेल्दै कीर्तिमान तोडेका छन् भने स्पेनका १७ वर्षीय लामिन यामालमाथि फाइनल पुर्याउने जिम्मेवारी छ ।
- प्रतियोगितामा सर्वाधिक १६ गोल गरेको फ्रान्स र सबैभन्दा उत्कृष्ट रक्षापंक्ति भएको स्पेनबीचको खेललाई कडा प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को पहिलो रोमाञ्चक सेमिफाइनल खेलमा दुई फुटबल शक्ति फ्रान्स र स्पेनबिचको भिडन्त सुरु भएको छ । अमेरिकाको डालस स्टेडियममा बुधबार बिहान पौने १ बजेदेखि सुरु भएको यस खेललाई ‘अजेय आक्रमण’ र ‘अभेद्य रक्षापंक्ति’ बिचको लडाइँका रूपमा हेरिएको छ ।
आजको खेलमा सबैको नजर फ्रान्सेली कप्तान किलियन एम्बापे र स्पेनका युवा सनसनी लामिन यामालमाथि रहेको छ । एम्बापेले आज फ्रान्सका लागि विश्वकपमा २१ औँ खेल खेल्दै पूर्व गोलकिपर ह्युगो लोरिसको कीर्तिमान तोडेका छन् ।
रोचक कुरा के छ भने, एम्बापेले सुरुवाति ११ मा खेलेका १८ वटा विश्वकप खेलमा फ्रान्सले हार बेहोर्नु परेको छैन ।
अर्कोतर्फ, स्पेनका १७ वर्षीय लामिन यामालमाथि स्पेनलाई फाइनल पुर्याउने भारी जिम्मेवारी छ । स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले अनुभवी पेड्रिीलाई बेन्चमा राख्दै यामाललाई मैदान उतारेका छन् ।
यस विश्वकपमा फ्रान्सले अहिलेसम्म १६ गोल गरिसकेको छ, जुन अर्जेन्टिना पछिको सबैभन्दा बढी हो । फ्रान्सका माइकल ओलिसे उत्कृष्ट लयमा छन्, जसले ५ असिस्ट गरिसकेका छन् । उनलाई पेलेको ६ असिस्टको कीर्तिमान बराबरी गर्न अब मात्र एक असिस्टको खाँचो छ।
यता स्पेनको रक्षापंक्ति यस प्रतियोगिताकै उत्कृष्ट देखिएको छ। ६ खेलमा स्पेनले मात्र १ गोल खाएको छ। डिफेन्सिभ रणनीतिमा अब्बल स्पेन र काउन्टर अट्याकमा खतरनाक फ्रान्सबिचको यो भिडन्त निकै कडा हुने अनुमान गरिएको छ ।
आज फ्रान्सको राष्ट्रिय दिवस ‘बास्टिल डे’ पनि हो । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार फ्रान्सका धेरै सहरहरूमा आज हुने आतिशबाजीको कार्यक्रम खेलपछि मात्र गर्ने गरी सारिएको छ । फ्रान्सेली समर्थकहरू आफ्नो टोली लगातार तेस्रो पटक विश्वकपको फाइनलमा पुग्नेमा विश्वस्त देखिन्छन् ।
डालसमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकाले स्टेडियमको छत बन्द गरिएको छ । बाहिर गर्मी भए तापनि स्टेडियमभित्र वातानुकूलित व्यवस्थाका कारण तापक्रम निकै कम रहेको बताइएको छ ।
आजको विजेताले फाइनलमा इङ्गल्याण्ड वा अर्जेन्टिना मध्ये एकको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण