बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आमाको निधनमाथि शोक प्रकट गर्न मोदीले पाकिस्तानका पूर्व प्रम नवाज शरिफलाई लेखे चिठ्ठी

शुक्रबार, ०३ पुस २०७७, १३ : ४६
शुक्रबार, ०३ पुस २०७७

पाकिस्तानको एक रिपोर्ट अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका पूर्व प्राधानमन्त्री तथा पिएमएल–एन सुप्रिमो नवाज शरिफकी आमाको निधनमा शोक व्यक्त गर्दै उनलाई चिठ्ठी लेखेका छन् । 

रिपोर्टका अनुसार मोदीले नवाज शरिफलाई गत महिना चिठ्ठी लेखेका थिए जसमा नोभेम्बर २२ मा भएको उनकी आमाको देहान्तमाथि गहिरो समवेदना व्यक्त गरिएको थियो । 

डन पत्रिकाको बिहिबार प्रकाशित खबर अनुसार इस्लामाबादस्थित भारतीय उच्चायोगले यो पत्र नवाज शरिफकी छोरी तथा पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) की उपाध्यक्ष मरियम नवाजलाई पठाए र यसबारे आफ्ना पितालाई सूचित गरिदिन आग्रह गरे । 

२७ नोभेम्बरमा लेखिएको यो चिठ्ठीमा मोदीले शरिफकी आमाको निधनमा उनलाई गहिरो समवेदनमा पठाए । 

नवाजकी आमासँग भेटेको समय याद गरेः

बिहिबार पिएमएल–एनको तर्फबाट जारी चिठ्ठीमा मोदीले लेखे, ‘प्रिय मियां साहब, २२ नोभेम्बरमा लण्डनमा तपाईंकी आमा बेगम शमिम अख्तरको निधनबारे थाहा पाउँदा मलाई गहिरो दुःख लागेको छ । यो दुःखको घडीमा मेरो गहिरो समवेदना तपाईंसँग छ ।’

मोदीले सन् २०१५ मा आफ्नो लाहौर यात्राका बेला नवाजकी आमासँग भएको भेटघाटलाई स्मरण गरे र भने, ‘उनको सादगी र अपनत्व भावना वास्तवमा नै निकै मार्मिक थियो ।’

साथै उनले लेखे, ‘यो दुःखको घडीमा तपाईं र तपाईंको परिवारलाई यो अपूरणीय क्षति सहन सक्ने शक्ति मिलोस् भनेर ईश्वरसँग प्रार्थना गर्दछु ।’

पत्रिकाका अनुसार मरियमलाई ११ डिसेम्बरमा उनको लाहौरस्थित घरमा पठाएको एक पत्रमा भारतीय अधिकारी गौरव अहलूवालियाले लण्डनमा भएका नवाज शरिफसम्म यो शोक सन्देश पठाइदिन आग्रह गरिएको बताइएको छ । 

तीनपटक प्रधानमन्त्री रहेका नवाज भ्रष्टाचारको विभिन्न मामिला सामना गरिरहेका छन् । लाहौर उच्च अदालतले उनलाई मुटु र प्रतिरोधी क्षमतासँग जोडिएको रोगको उपचारका लागि चार हप्ता विदेश जाने अनुमति दिएका थिए । त्यसपछि उनी गत नोभेम्बरदेखि नै लण्डनमा छन् । 

नवाज शरिफकी आमा बेगम शमिम अख्तरको  २२ नोभेम्बरमा बेलायतमा नै निधन भएको थियो । पछि उनको शवलाई पाकिस्तान ल्याइएको थियो र उनलाई लाहौरमा जाती उमरास्थित पैतृक निवासमा अन्त्येष्टि गरिएको थियो । 

डिसेम्बर २०१५ मा मोदीले अफगानिस्तानबाट फर्कदाँ अचानक पाकिस्तान गएर सबैलाई अचम्मित पारेका थिए । उनलाई शरिफ लिन गएका थिए र दुबै नेता लाहौर हवाई अड्ठाबाट एक हेलिकोप्टरमा बसेर रायविन्ड गएका थिए । 

त्यसपछि मोदी शरिफको घरमा भइरहेको उनको नातिनीको विवाहमा सरिक भएका थिए । त्यहाँ केही बेर बेसेपछि दिल्ली जानुअघि आफ्ना पाकिस्तानी समकक्षीसँग बैठक गरे । 

पछिल्लो एक दशकभन्दा पनि बढी समयमा कुनै भारतीय प्रधानमन्त्रीको यो पहिलो पाकिस्तान भ्रमण थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप