सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाका ४० शहरमा यौनहिंसा विरुद्ध ८५ हजार महिलाको ‘मार्च फर जस्टिस’

मङ्गलबार, ०३ चैत २०७७, ०९ : २६
मङ्गलबार, ०३ चैत २०७७

मेक्सिकोमा महिला दिवसमा अपराधसँग त्रसित महिलाको धैर्यताको बाँध फुट्यो । उनीहरुले यौन उत्पीडनविरुद्ध राष्ट्रपति आवास नजिकै इतिहासको सबैभन्दा ठूलो प्रदर्शन गरे । प्रहरीसँग भिडे । यसको हप्ता दिन नबित्दै बेलायतको राजधानी लण्डनमा एक महिलाको हत्या भएको भन्दै महिलाले अपराधविरुद्ध मोर्चा खोले । अब यो विरोधको आगो अष्ट्रेलिया पुगेको छ । 

अष्ट्रेलियामा सोमबार महिलाले अन्याय, लैङ्गिक असमानता, कार्यस्थलमा उनीहरुमाथि हुने द्वेषपूर्ण व्यवहार समाप्त गर्न माग गर्दै राजधानी क्यानबेरासमेत ४० अन्य शहरमा प्रदर्शन भए । यो प्रदर्शन दुष्कर्मका दुई आरोपपछि उठेको विवाद पृष्ठभूमिमा भएको हो । प्रदर्शनका लागि मुख्य शहरमा जुटेका हज्जारौं महिलाले मार्च फर जस्टिस निकाले । उक्त र्यालीका आयोजकले करिब ८५ हजार महिला समावेश भएको दाबी गरेका छन् । सरकारविरुद्ध रोष व्यक्त गर्दै आयोजकका एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री स्कट मोरिसनसँग भेट्ने प्रस्ताव पनि अस्विकार गरेका छन् । 

आयोजकका प्रवक्ता जेनिन हेन्ड्रीले संसद भवन बाहिर भने, ‘हामी उनीहरुको कार्यालयभन्दा २ सय मिटर पर छौं । हामीले बन्द ढोकाभित्र भेट्न उचित छैन । हामी पहिले नै तपाईंको ढोकामा आएका थियौं अब सरकारले चौकोस नाघेर हामी भएठाउँ आएर देखाउनु पर्छ । ’

अष्ट्रेलियामा हालै यौन उत्पीडनका दुई मामिला सार्वजनिक भएका छन् । एउटामा अटर्नी जनरल क्रिश्चियन पोर्टरमाथि आरोप लागेको छ भने अर्को संसद् भवनभित्र महिला कर्मचारीमाथि दुष्कर्म । 

कालो कपडामा विरोध, पीडितको सूची भएको कपडा बिछ्याएः

मेलबर्नमा पछिल्लो ४ वर्षमा अपराधको शिकार भएका महिलाको नाम लेखिएको कपडा बिछ्याएर प्रदर्शन गरियो । राजधानी क्यानबेरामा संसद भवनको अगाडि सयौं मानिसहरुले प्लेकार्ड लिएर प्रदर्शन गरे । यसमा लेखिएको थियो – महिलालाई न्याय देउ र पुरुषले अपराध स्विकार गर । 

महिलाले कालो कपडामा विरोध गरिरहेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप