शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ का अधिकांश अस्पताल संक्रमितले भरिए

आईसीयू बेड खोज्नेहरूको नाम टिपेर राख्दै अस्पताल, पालो कुर्दै संक्रमित
शनिबार, २५ वैशाख २०७८, १५ : ४४
शनिबार, २५ वैशाख २०७८

 

कोरोना संक्रमितको उपचार गर्दै आएका प्रदेशका अधिकांश सरकारी तथा निजी अस्पतालको बेड भरिएपछि नयाँ संक्रमितलाई बेड पाउन गाह्रो हुन थालेको छ । ती अस्पतालमा बेड अभाव भएपछि बिरामी भर्ना गर्न पालो कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको हो । विराटनगरमा रहेको एक सरकारीसहित तीन अस्पतालमा संक्रमितले भरिएपछि नयाँ आउने संक्रमितलाई भर्ना लिन छाडिएको छ ।

प्रदेश १ मा तिन सरकारी ६ वटा अस्पतालले अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने बिरामीलाई भर्ना लिदै उपचार गदै आएका छन् । यी ६ वटा अस्पतालमा सञ्चालित कोभिड युनिटमा कुल ७ सय ३३ बेड रहेका छ । त्यसमा हालसम्म ६ सय ८ जना कडा खालको लक्षण भएका संक्रमित भर्ना भई उपचाररत छन् । बाँकी रहेका बेड पनि प्रायः नर्मल मात्र रहेकाले कडा खालको बिरामी भर्ना नगर्न नसकिने अवस्था रहेको अस्पतालले जनाएका छन् ।

यहीबीचमा केही बिरामी अस्पतालमा बेडको पालो कुरेका बसेका छन् । पालो कुरेर बसेका बिरामीका लागि बेड पाउन अस्पताल उपचारतहरु डिस्चार्ज भएको अवस्थामा मात्र बेड पाउने अवस्था छ ।

हाल धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाको बीएन्डसी अस्पतालमा केही अक्सिजनसहितका बेड खाली रहेको छन् । ती अस्पतालमा मात्र अहिले नयाँ संक्रमितलाई बेड भर्ना लिँदै आएका छन् । ती अस्पतालमा पनि केही न्यून सङ्ख्यामा मात्र बेड रहेको जनाएका छन् । बिरामीको चाप बढेपछि विराटनगरको नोबेल र विराट अस्पतालले थप गरेको बेड पनि २४ घण्टा नबित्दै भरिएका छन् ।

नोबेलले बिरामीको चाप बढेसँगै १ सय बेडको कोभिड युनिटमा थप ९५ बेड बिस्तार गरेको थियो । तर बिस्तार गरेको बेड पनि २४ घण्टा नबित्दै बिरामीले भरिएका छन् । त्यसैगरी विराट अस्पतालको १ सय २० बेडको कोभिड युनिटमा थप ८० बेड बिस्तार गरिएकोमा सबै बेड भरिएका छन् । अब थप बिरामी लिन नसकिने अवस्थामा पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

यता विराटनगरमा रहेको एक मात्र सरकारी अस्पताल कोभिड१९ उपचार केन्द्रमा सबै ८३ वटै बेडमा बिरामी भर्ना भएकाले थप बिरामी भर्ना लिन नसकिने जनाएको छ । केन्द्रका संयोजक वैजनाथ साहका अनुसार बुधबारयता अस्पतालको आईसीयू र एचडीयू बेड भरिएका छन् । बेड भरिएपछि गम्भीर प्रकृतिका बिरामीलाई भर्ना गर्न सकिएको छैन ।

अस्पतालमा बाँकी रहेका १३ बेड नर्मल भएकाले नयाँ बिरामीलाई भर्ना गरेर उपचार गर्न नसकिएको उनले बताए । अस्पतालमा रहेका ८३ बेड भने सबै अक्सिजनसहितको थिए । अस्पतालले अक्सिजनको सहायतमा उपचार गर्नु पर्ने अवस्थाका गम्भीर बिरामी मात्र भर्ना लिने गरेको छ, संयोजक साहले भने, ‘बिरामीले अस्पतालका सबै बेड भरिएका छन् । थप बिरामी अब हामी लिने अवस्थामा छैनौँ । अस्पतालमा बिरामी आएको खण्डमा बेड अभावमा फर्काइने गरेको उनले बताए ।

उनले आईसीयू बेड खोज्नेहरूको नाम टिपेर राख्ने गरिएको साहको भनाइ छ । आईसीयू प्याक छ, बेड खोज्नेको नाम टिपेर राख्छौँ, उनले भने, ‘अहिले ८३ जना संक्रमित उपचाररत छन् । कोसी कोभिडमा आईसीयू, एचडीयू र जनरलसहित ९६ वटा बेड छन् ।

विराट मेडिकल कलेजको कोभिड१९ उपचार केन्द्रका फोकल पर्सन सुनील देवले आईसीयू खोज्ने संक्रमितले बेड नपाउने अवस्था रहेको बताए । विराटले ३२ वटा आईसीयू र १२ वटा भेन्टिलेटरसहित दुई सय बेडको छुट्टै कोरोना अस्पताल सञ्चालन गरिरहेको छ । तर ती सबै आईसीयू बेड भरिएका छन् ।

नोबेल अस्पतालका कोभिड युनिटका फोकल पर्सन दिनेश न्यौपानेका अनुसार नोबेलमा नयाँ संक्रमितलाई भर्ना गर्न सक्ने अवस्था छैन । नोबेलमा एक सय ४४ बेड छन् । तीमध्ये ३९ वटा आईसीयू र नौवटा भेन्टिलेटर छन् । बाँकी अक्सिजनसहितका बेड हुन् । बेड खाली नभएका कारण बेड खोज्नेलाई फिर्ता पठाउनुपर्ने अवस्था रहेको उनले बताए ।

झापामा रहेको प्रादेशिक अस्पताल मेचीमा पनि अक्सिजनसहितका सबै बेड संक्रमितले भरिएकाले बिरामी फर्काउने गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. पीताम्बर ठाकुरले कुल ७५ बेडको कोभिड अस्पताल रहेकोमा हाल २५ जना संक्रमित भर्ना भएर उपचारत छन् । अक्सिजनसहितका २५ बेड सबै भरिएकाले बाँकी रहेको बेड नर्मलमा बिरामी भर्ना लिएर उपचार गर्न नसकिने भएकाले बिरामी फर्काउने गरिएको उनले बताए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुल १ सय बेडको कोभिड अस्पतालमा शनिबार बिहानसम्म ६२ जना संक्रमित उपचाररत छन् । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले अब केही सीमित बेड मात्र अक्सिजनसहितका रहेकाले कडा खालका लक्षणसहितका संक्रमितलाई भर्ना लिएर उपचार गर्न सकिने बताए । उनले अस्पतालले गम्भीर प्रकारका त्यसमा पनि अक्सिजनको सहायतमा उपचार गर्नुपर्ने खालका बिरामी मात्र भर्ना लिने गरिएको छ ।

अहिले धेरै बिरामी अक्सिजनको सहायतमा उपचार गर्ने खालका आउने गरेका छन् सहप्रवक्ता पोखरेल भने, ‘हामीसँग भएको सीमित स्रोतसाधानले अब धेरै समय धन्न सकने अवस्था देखिनन् । बिरामीको चाप बढिरहेको छ, यस्तै अवस्था रहे लामो समयसम्म बिरामी भर्ना लिएर उपचार गर्न कठिनाइ हुने अवस्था सिर्जना हुँदै गएको उनले बताए ।

विर्तामोडको बीएन्डसी अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा शनिबार बिहानसम्म २३ बेड खालि थिए । कुल ६५५ बेड रहेका मध्ये ४२ बेडमा बिरामी भर्ना रहेकाले अब सीमित बेडमा बिरामी भर्ना गर्न सकिने अस्पतालका जनसम्पर्क अधिकारी प्रनिस गिरीले बताए । उनले अस्पतालले सञ्चालन गरेको कोभिड अस्पतालमा सबै अक्सिजनसहितका बेड रहेको पनि बताए ।

प्रदेश १ का सामाजिक विकास मन्त्रालयका कोभिड१९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिको सचिवालयका संयोजक डा रवीन्द्र निरौलाले प्रदेशमा दैनिक  ७ सयभन्दा माथिको सङ्ख्यामा संक्रमित थपिने क्रमसँगै अस्पतालमा बिरामीको चाप पनि उच्च हुन पुगेको बताए । जसका कारण धेरै कोभिड अस्पताल बिरामीले भरिएकाले अधिकांश अस्पताल थप बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेको बताए । उनले तत्काल बिरामीका लागि अस्पतालमा आवश्यक उपकरणसहितका बेड थप्ने बारेमा मन्त्रालयमा छलफल भइरहेको पनि बताए ।

बेड म्यानेज गर्न गाह्रो भए पनि होम आइसोलेसनमा बसेका संक्रमितलाई टेलिफोनमार्फत परामर्श दिइरहेको र सिलिन्डर, औषधिलगायत कुरामा सकेको मद्दत गर्ने काम भइरहेको संयोजक निरौलाको भनाइ छ । प्रदेश १ मा शुक्रबारसम्म सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ९३३ पुगेका छ । त्यसमा ६ सय ८ जना अस्पताल भर्ना भएका छन् बाँकी होम आइसोलेसनमा छन् ।

बढ्यो अक्सिजनको खपत

प्रदेशमा रहेका विभिन्न  कोभिड अस्पतालमा संक्रमितको चाप बढेसँगै बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको खपत पनि ह्वात्तै बढेको छ । कतिपय अस्पतालमा अक्सिजनको खपत ह्वात्तै बढेसँगै अक्सिजनको आपूर्तिमा समस्या देखिन थालेको छ ।

धेरैजसो अस्पतालमा आफ्नै अक्सिजनको प्लान्ट समेत नरहेकाले बाहिरबाट सप्लायर्समार्फत अक्सिजन ल्याउनुपर्ने भएकाले ती अस्पतालमा अक्सिजनको आपूर्तिमा समस्या देखिन थालेको हो । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहेका अन्य अस्पतालमा अक्सिजन बाहिरबाट सप्लाई गर्नुपर्ने अवस्था छ । प्रतिष्ठानको भने आफ्नै अक्सिजन प्लान्ट छ ।

प्रदेशका ६ कोभिड अस्पतालमा अहिले दैनिक ८ सय ७० ठूला सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ । नोबेलमा सबैभन्दा बढी दैनिक ३ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । नोबेलमा बढी सिलिन्डर खपत हुन थालेपछि बाहिरबाट ल्याउनुपर्ने अक्सिजनका कारण केही समस्या देखिन थालेको कोभिड युनिटका फोकल पर्सन दिनेश न्यौपानेले बताए ।

उनले बिरामीका लागि आवश्यक अक्सिजन उपलब्ध गराउन जिल्ला प्रशासन र विराटनगर महानगरपालिकामा पत्राचार गरिएको जानकारी दिए । समान्य अवस्थामा दैनिक ४० देखि ६० सिलिन्डर अक्सिजन खपत हुँदै आएको थियो, न्यौपानेले भने, अहिले त्यो सङ्ख्या तीन गुणाले बढेर दैनिक २ सयभन्दा बढी सिलिन्डर अक्सिजन खपत हुँदै आएको छ । अस्पतालमा अक्सिजन खपत एक्कासि उच्च हुँदा आपूर्तिमा समस्या देखिन थालेको स्थानीय प्रशासन र महानगरलाई आवश्यक व्यवस्थापनका लागि आग्रह गरेको उनले बताए । अन्य बाँकी अस्पतालमा संक्रमितको उपचारका लागि दैनिक १ सयको हाराहारीमा अक्सिजन खपत हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप