शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वामदेवले ओलीलाई भने, ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न’

‘माधव नेपाल र प्रचण्डलाई पनि ल्याउनै पर्छ’
शुक्रबार, १८ असार २०७८, १४ : १४
शुक्रबार, १८ असार २०७८

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी एकताका लागि पहल गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा धारणा राख्दै उपाध्यक्ष गौतमले आफू आएपछि पार्टी एकताले पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन् । ‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न,’ उनको भनाइ थियो ।

गौतमले बृहद कम्युनिस्ट एकताका लागि माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि एकै ठाउँमा ल्याउनुपर्ने बताएका छन् । गौतमले आफू सधैँ पार्टी एकताको पक्षमा रहेको कुरा दोहोर्‍याउँदै भने, ‘पार्टी एकता आजको मुख्य आवश्यकता हो । यसका लागि दुवै पक्ष लचक हुनैपर्छ । कसले हामीलाई छिन्नभिन्न पर्न खोज्दैछ भन्ने बुझ्न जरुरी छ ।’

गौतमले पार्टी एकताको जिम्मा आफूलाई दिन पनि आग्रह गरे । ‘म यति दिन भन्दिनँ तर केही दिनभित्र एकता गर्छु, तपाईं चिक्त बुझ्ने गरी नै एकता गर्छु,’  उनले भने, ‘एमालेपछि अन्य पार्टीसँग पनि एकता गर्छु । विश्वास गर्ने नगर्ने तपाईंको कुरा हो ।’

उनले अध्यक्षको भूमिका संरक्षकको हुनुपर्ने बताउँदै कसैले कसलाई सम्मान गरेन भन्दैमा त्यही खालको व्यवहार देखाउन नहुने जिकिर गरे । ‘अध्यक्ष भएपछि कसैको पक्ष विपक्षीमा हुनुहुँदैन । मैले पटक पटक भन्दै आएको अहिले पनि यही भन्छु,’ गौतमले भने ।

यसअघि, दुवै पक्षलाई आरोप–प्रत्यारोप फिर्ता लिन आफूले आग्रह गरेको बताउँदै गौतमले पुस ५ गते संसद् विघटन भएपछि आफू विघटनको पक्षमा नलागेको स्पष्ट पारे ।

आफूले सधैँ एकता नै हुनुपर्छ भनेर गतिविधि सञ्चालन गरेको पनि बैठकमा जानकारी दिएका थिए । ‘जबज स्थापित गर्न ओलीजी, हामी मिलेर सङ्घर्ष गरेका हौँ । अब यसको रक्षा गर्न आवश्यक रहेको छ ।’

फरक प्रशंगमा बजेटबारे टिप्पणी गर्दै गौतमले यसपटकको बजेट अत्यन्त राम्रो भएको पनि बताए । ‘युवराज खतिवडाको ठाउँमा विष्णु पौडेलले बजेट ल्याएको भए, आज नेकपा पनि फुट्दैन थियो, एमाले पनि फुट्दैन थियो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप