सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाः खचाखच भरिएको सदनमा मन्त्रीले गलत तरिकाले छोएको पूर्व महिला सांसदको आरोप

मङ्गलबार, २२ असार २०७८, १३ : ०६
मङ्गलबार, २२ असार २०७८

अष्ट्रेलियाकी एक पूर्व सांसद जुलिया बेङ्क्सले सन् २०१७ मा संसद भवनमा एक वर्तमान क्याबिनेट मन्त्रीले उनलाई गलत तरिकाले छोएको आरोप लगाएकी छिन् ।

बेङ्क्सले आफूमाथि भएको उक्त घटना स्मरण गर्दै संसदीय भोट सत्रमा सहभागि हुनु अघि ती पुरुष सांसदले उनको तिघ्रा सुम्सुमाएको बताइन् ।

यो आरोप सार्वजनिक भएपछि प्रधानमन्त्री स्कट मोरिसनको कार्यालयले एक बयान जारी गर्दै यसअघि आफूहरु यो घटनाबारे अनभिज्ञ भएको बताए ।

प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी बयानमा यस्तो व्यवहार ‘पूर्ण रुपमा गलत’ भएको बताइएको छ ।

बेङ्क्सले ती व्यक्तिको पहिचान उजागर गरेकी छैनन् । उनले ती व्यक्ति अहिले पनि मन्त्रीमण्डलमा नै भएको बताएकी छिन् ।

के भएको थियो ?

उक्त घटना स्मरण गर्दै उनले भनेकी छिन्, ‘मलगायत अन्य थुप्रै सांसद त्यतिबेला रातीको समयमा संसदमा मतदानका लागि प्रतीक्षा गरिरहेका थियौं । त्यतिबेला ती मन्त्री आए र मेरो नजिकै बसे ।’

बेङ्क्सका अनुसार उनले आफ्नो हात उनको तिघ्रामाथि राखे र बिस्तारै आफ्नो हात अघि बढाइरहे । त्यसपछि उनले बेङ्क्सको खुट्टामा पनि हात राखेको आरोप लगाएकी छिन् ।

उनी भन्छिन्, ‘एक मन्त्री जो प्रधानमन्त्रीको मन्त्रीमण्डलको हिस्सा हुन्, यस्तो समयमा जब पूरा हल सांसदले खचाखच भरिएको छ र यतिबेला उनले यस्तो व्यवहार गर्छन् भने निश्चित रुपमा यसका लागि लाजै पचेको हुनुपर्छ ।’

बेङ्क्सले आफूमाथि यस्तो घटना भइरहेका बेला आफूलाई साँच्चै नै यस्तो भइरहेको छ भनेर विश्वासै गर्न गाह्रो भएको बताइन् ।

बेङ्क्सको आरोपले मोरिसनको रुढिवादी सरकार र अष्ट्रेलियाली राजनीतिमा महिलामाथि हुने व्यवहारलाई एकपटक पुनः प्रश्नको घेरामा उभ्याएको छ ।

बीबीसी

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप