बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

फैलिँदै काठमाडौँमा चिनियाँ अपराधीको जालो

ठमेल कब्जा, १ सय २२ जना डिपोर्ट
बुधबार, ३० असार २०७८, १५ : ०४
बुधबार, ३० असार २०७८


ठमेलस्थित ज्याठामा चिनियाँ नागरिकले सञ्चालन गरेको जियाङ्गहु खाजान होटेलबाट असार २१ मा चारजना चिनियाँ नागरिकलाई प्रहरीले पक्रियो । जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो । 

चिनियाँ नागरिक झाओ पेनुचेङ्ग, मा जिङ्गबिन, निउ युलियाङ्गपेङ्ग हुईको कोठा खानतलासी गर्दा २० थान कस्तुरीको बिना, बुद्धचित्त माला, बाघको छाला र गाईको छाला भेटियो । चिनियाँहरू विद्युतीय उपकरण प्रयोग गरेर जुवा खेल्दै गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । 

प्रहरीले जुवा खेल्न प्रयोग गरिने गोटी र विद्युतीय टेबल बरामद गरेको छ । सो समूह सट्टेबाजीमा संलग्न गिरोह भएको प्रहरीको दाबी छ ।

काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल जेपी मोडमा रहेको जियो जियाङ होटेलबाट असार २३ मा फेरी पाँच जना चिनियाँलाई प्रहरीले नियन्त्रणमा लियो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको टोलीले जुवा खेल्दै गरेका हु वेनबिन, लि जियाओ तोङ र हे फुयु सहितका पाँच जनालाई पक्राउ गरेको थियो । जुवा खालमा विद्युतीय टेबल र जुवा खेल्दा प्रयोग हुने प्लास्टिकको गोटी ‘माजुङ’ र तास फेला परेको थियो । जुवा खेल्दा प्रयोग हुने प्लास्टिकको गोटीलाई चिनियाँ भाषामा भाजुङ भनिन्छ । 

माथिका घटना पछिल्ला उदाहरण मात्र हुन् । चिनियाँ नागरिक लामो सयमदेखि नेपालमा बसेर यस्ता अवैध ‘धन्दा’ चलाइरहेका छन् । भारतीय पछि नेपालमा आएर अपराध गर्ने विदेशी नागरिकमा चिनियाँ दोस्रो स्थानमा छन् । 

निशानामा एटीएम 

नेपाल प्रहरीको सबैभन्दा टाउको दुःखाईको विषय बनेको छ, एटीएमबाट रकम चोरीमा चिनियाँ संलग्नता । २०७६ पछि पटक–पटक चिनियाँ नागरिकले एटीएम ह्याक गरेर चोर्ने गरेका छन् । तर, प्रहरीको सक्रियताले गर्दा उनीहरू उम्कन भने पाएका छैनन् । 

२०७६ भदौ दोस्रो साता दरबारमार्गमा रहेको नविल बैङ्कको एटीएमबाट रकम चोरी गर्दागर्दै एक जना चिनियाँलाई प्रहरीले पक्राउ गरेको थियो ।  उनलाई पछ्याउँदै जाँदा थप ६ जना चिनियाँ पक्राउ परे । पक्राउ पर्नेमा झु लिफ ली, लिन जिनमिङ, लु जियालिङ, झु लियाङ आङ, कु याङयिङ र चेन विनविन थिए । 

सो समूहले वी च्याटमा पठाएको कोड नम्बर हालेर एसबिआई, नबिल र नेपाल इन्भेस्टमेन्ट बैङ्कको एटिएम बुथबाट ३ करोड ४४ लाख  नगद निकालेका थिए । एटीएम ह्याकका लागी सुचना अपरेट गर्न उनीहरूले चिनियाँ सामाजिक सञ्जाल वी च्याट प्रयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ६ वटा बैङ्कहरूको एटिएम कार्ड प्रयोग गरेर सो समूहले लुट मच्चाएको थियो । 

२०७७ चैत १८ मा चिनियाँ वाङ जियाओलोले एटिएम बुथमा अचम्मको व्यवहार गरे, उनको व्यवहारले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू पनि चकित परेका छन् । 

ज्याठा स्थित मेगा बैङ्कको एटीएममा छिरेका २९ वर्षीय वाङ जियाओलोले चीनबाट एटिएम मेशिनको साँचो लिएर आएका रहेछन् । प्रहरी पुग्दा उनी मेशिनको सिरियल नम्बरको फोटो खिचिरहेका थिए । मेशिन खोल्ने साँचोबारे सोध्दा उनले जवाफ दिए–‘चीनबाट साँचो लिएर आएको थिएँ, साँचो छिराएँ मेशिन खुल्यो फोटो पठाउन भ्याएको छैन ।’ 

‘पैसा झिक्ने भन्दा सिरियल नम्बरको फोटो चीनमा पठाउने उनको मुख्य उद्देश्य देखियो’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीसँग भने । प्रहरीसँगको बयानमा जियाओलोले भने–‘एटिएमको सिरियल नम्बर सहितको फोटो खिचेर पठाउनु भनेको छ ।’ चैत १६ मा नेपाल आएका उनले नेपाल ओर्लेर पहिलो एटीएम मेशिनमा साँचो छिराउँदा नखुलेपछि दोस्रोमा प्रयास गरेका थिए । दोस्रो मेशिन खुल्यो तर, चीनमा सिरियल नम्बर पठाउने मिसन सफल भएन । 

राष्ट्र बैङ्कले गरेको एउटा अध्ययन अनुसार नेपालको बैङ्कको जुन स्तरको सफ्टवेयर सेक्युरिटी हुनुपर्ने हो, त्यस्तो नभएको पाइएको छ । विकसित देशको तुलनामा नेपालका बैङ्कहरूको सेक्युरिटी सिस्टम कमजोर भएको हुनाले लगातार चिनियाँले एटीएममा आक्रमण गरेको बताउँछन् केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (डिआईजी) धिरज प्रताप सिंह । 

प्रहरी वरिष्ठ उपरीक्षक हुँदा महानगरीय अपराध महाशाखाको नेतृत्व गरेर चिनियाँको अपराध शैली नजिकबाट नियालेका डिआईजी सिंह भन्छन्–‘चिनियाँहरू एटीएम चोरीमा मात्र संलग्न छैनन्, उनीहरू जुवा खेलाउने र वन्जन्तुका अखेटोपहार तस्करीमा समेत संलग्न छन् ।’ 

१ सय २२ जना डिपोर्ट  

२०७६ पुस १९ मा काठमाडौँको मनमैजू, बाँसबारी र बुढानीलकण्ठ क्षेत्रबाट प्रहरीले १ सय २२ जना चिनियाँलाई एकैपटक नियन्त्रणमा लियो । साइबरको माध्यमबाट चीनमा धोकाधडी गर्ने र मनी लण्ड्रिङ अपराध गर्ने गिरोह नेपालमा बसेको सुराक नेपाल प्रहरीलाई चिनियाँ प्रहरीले नै दिएको थियो । 

काठमाडौँमा  भाडामा घर लिएर बसेका चिनियाँ नागरिकको सो गिरोहलाई नेपालले डिपोर्ट गरेको थियो । चिलीको सान्टियोमा आयोजित अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ८८ औँ महासभामा जाँदा तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र चिनियाँ प्रहरीका इन्टरपोल प्रमुखले प्रहरी महानिरीक्षक खनाललाई नेपालमा बसेर चिनियाँले गर्ने अपराध बारेमा बताएका थिए । सो सूचनाको आधारमा चिनियाँ दूतावाससँग समन्वय गरेर प्रहरीले  काठमाडौँमा अपरेसन चलायो ।

ट्रान्सबोर्डर अपराधमा संलग्न चिनियाँ नागरिक माथि नेपालको प्रहरीले गरेको सो अपरेसन अहिलेसम्मकै ठुलो थियो । चिनियाँ प्रहरीले चार्टर्ड विमानमार्फत उनीहरूलाई आफ्नो देशमा लगेका थिए । 

काठमाडौँमा बसेर चिनियाँहरूले चीनमा मुख्य तिन प्रकारका अपराध गर्ने गरेको प्रहरीले जनाएको छ । अनलाइनको माध्यमबाट आश्वासन बाँडेर पैसा हाल्न लगाएर धोकाधडी गर्ने, मनि लण्ड्रिङ, अनलाइन जुवा तथा अनलाइनकै माध्यमबाट यौन अपराध । 

‘मुख्य अपराध चाहिँ मनि लण्ड्रिङ हो’ चिनियाँ बारे अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने–‘त्यो मुद्दा त्यहीँ (चीनमा)मात्रै स्थापित हुने अवस्था थियो ।’ 

कतिपय चिनियाँ सिंगापुर, कम्बोडिया र फिलिपिन्समा अपराध गरेर नेपाल आएर लुकेर बसेका पनि छन् । ‘अनलाइन गेमिङ’मा संलग्न भएको अभियोगमा केही समयअघि फिलिपिन्स प्रहरीले दुई वर्षअघि स्विप अपरेसन चलाएर ९ सय ४२ जना चिनियाँ नागरिकलाई पक्रेको थियो ।

ठमेल कब्जा 

चिनियाँ नागरिक बालुवाटार, बालाजु, महाराजगन्ज र बुढानीलकण्ठ क्षेत्रमा पुरै घर भाडामा लिएर बस्छन् । सो क्षेत्रमा १ लाख पर्ने घरलाई ३ लाखसम्म भाडा तिरेर बस्ने गरेका छन् । त्यसरी तेब्बर भाडा तिरेर करिब ४ सय चिनियाँ शङ्कास्पद गतिविधिमा संलग्न रहेको प्रहरीका उच्च अधिकारीहरू बताउँछन् । 

चिनियाँ नागरिकको अर्को अखडा हो, ठमेल । ठमेल क्षेत्र चिनियाँले करिब कब्जा गरेका छन् । ठमेल क्षेत्रका रेष्टुरेन्ट चिनियाँ ग्राहकले भरिएका हुन्छन् । चिनियाँ लगानीमा धेरै होटेल ठमेलमा सञ्चालित छन् । ठमेलमा होटेल देखी डिपार्टमेन्ट स्टोर सम्ममा चिनियाँले लगानी गरेका छन् । 

साईबरको माध्यमबाट चीनमा धोकाधडी गर्ने र मनी लण्ड्रिङ अपराध गर्ने गिरोह नेपालमा अझै ठुलो सङ्ख्यामा रहेको बताइएको छ । ठमेलमा अखडा बनाएर बसेका चिनियाँहरू वन्यजन्तुका अखेटोपहार तस्करी देखी अनलाइन जुवामा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

चीनबाट काठमाडौँ आउँदा भिसा शुल्क लाग्दैन । धेरै चिनियाँ पर्यटक भिसामा नेपाल आएर व्यापार गर्ने गरेका छन् । अध्यागमन विभागले त्यसरी फरक प्रयोजनको भिसा लिएर व्यापार गर्नेहरूलाई नियमन गर्न सकेको छैन । 

चिनियाँ नागरिकको अपराध इतिहास राखेर विमानस्थलमा स्क्रिनिङ नगर्दा एक पटक अपराध गरेका चिनियाँ कैद भुक्तान गरेर छुटे पनि फेरी अपराधमा संलग्न हुने गरेको जानकारहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप