आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्रले कारबाही नगरेसम्म महन्थले नयाँ दल दर्ता नगराउने

अझै जसपामै छौँ भन्नु राजनीतिक बेइमानी : महेन्द्र राय यादव
शनिबार, १६ साउन २०७८, १३ : ४५
शनिबार, १६ साउन २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुरले तत्कालै नयाँ पार्टी दर्ता नगराउने निष्कर्षमा पुगेको छ । आफूहरू अझै पनि जसपा नेपालमै रहेको कारण तत्कालै नयाँ पार्टी दर्ता नगराउने निष्कर्ष ठाकुर पक्षले निकालेको हो । नयाँ पार्टी दर्ता गर्ने प्रक्रियामा संलग्न हुने बित्तिकै सांसद पद जाने भएकाले तत्काललाई जसपामै सङ्घर्ष गर्ने ठाकुर पक्षको रणनीति रहेको छ । 

भावी रणनीति तयार गर्न दुई दिन ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बसेको थियो । सो बैठकमा पार्टी गठन गर्ने वा नगर्ने विषयमा बृहत् छलफल भएको बैठकमा सहभागी एक नेताले रातोपाटी बताए । निर्वाचन आयोगको आदेशअनुसार नै आफूहरू जसपामै रहेको बैठकले निष्कर्ष निकालेको उनको भनाइ छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिए पनि कार्यकारिणी समिति भने ५१ सदस्यीय नै कायम गरेको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षका १६ जनाको नाम पनि छ । यादव पक्षको तीन दिनसम्म चलेको कार्यकारिणी समितिको बैठकले गरेको माइन्युटमा पनि ठाकुर पक्षका नेताहरूको नाम रहेको छ । ‘यसले हामी जसपामा नै रहेको पुष्टि हुन्छ,’ ती नेताको भनाइ छ ।'

यादव पक्षले कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेपनि ठाकुर पक्षको बारेमा केही बोलेका छैनन् । तर, जसपाका कार्यकारिणी सदस्य महेन्द्र राय यादव भन्छन्, ‘उहाँहरूले विपक्षमा मतदान गरेकै दिनदेखि जसपामा नरहेको पुष्टि हुन्छ, त्यसका लागि छुट्टै निर्णय गर्नै पर्दैन ।’ जसपाको आधिकारिकता यादव पक्षले माग गर्दा त्यसको विपक्षमा मतदान गरेपछि ठाकुर पक्षले ‘अझै जसपामै छौँ’ भन्नु राजनीति बेइमान भएको उनी बताउँछन् ।

पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले पनि ठाकुर पक्षले विपक्षमा मतदान गरेपछि स्वतः जसपामा नरहेको पुष्टि भएको दाबी गरे । निर्वाचन आयोगले पनि दल गर्दा गराउन भनेको छ, त्यही भएर ठाकुर पक्ष जसपामा नरहेको उनले बताए । 

यता, ठाकुर पक्षका कार्यकारिणी सदस्य जितेन्द्र सोनल भन्छन्, ‘विवाद पुरानो कार्यकारिणी समिति कि हेरफेर गरिएको नयाँ कार्यकारिणी समिति राख्नेमा थियो । निर्वाचन आयोगले पुरानै कार्यकारिणी समितिलाई मान्यता दिएको छ । यसले ठाकुर पक्षका नेताहरू नरहेको कुराको पुष्टि हुँदैन । कानुनसम्मत रूपमा ठाकुर पक्षका कार्यकारिणी सदस्यहरू पनि जसपामा रहेको देखिएको छ ।’ 

ठाकुर पक्षले नयाँ पार्टी गठन नगरे पनि नयाँ सङ्गठनको अभ्यास भने गर्ने भएको छ । सो पक्षले पार्टीभित्रको विवादलाई लिएर जनतामा जाने र त्यहाँ आफ्नो कुरा राख्दै सङ्गठनलाई समेट्ने कार्य पनि गर्ने सो समूहको रणनीति रहेको छ । 

यस्तै, आज २ बजे बस्ने कार्यकारिणी समितिको बैठकले कार्य विभाजन गरी नेताहरूलाई जिल्ला जिल्लामा खटाउने भएको छ । यता, उपेन्द्र यादवले पनि कारबाही गर्न सकिरहेको छैनन् । पहिला पनि पार्टीबाट निष्कासन गरे पनि त्यसलाई निर्वाचन आयोगले मान्यता दिएन । फेरि के कारण देखाउँदै कारबाही गर्ने भन्ने यादव पक्षले आन्तरिक छलफल गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप