शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बूढो पार्टीको उल्टो हिँडाइ : गोरु पछाडि, गाडा अगाडि !

नीति र सिद्धान्त बिर्सेर नेता र पदमा केन्द्रित
शुक्रबार, २४ मङ्सिर २०७८, २१ : ०८
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ । विडम्बना के छ भने यो महाधिवेशनले काँग्रेसको नीति–सिद्धान्त कस्तो हुने भन्नेबारे कुनै छलफल गर्नेछैन । काँग्रेसले आगामी पाँच वर्षका लागि के–कस्ता कार्ययोजना र नीतिहरू बनाउला ? यसबारे पनि महाधिवेशनमा छलफल हुनेछैन ।

अघिल्लो चुनावमा पार्टीले पराजय भोगेपछि शेरबहादुर देउवाले त्यसको जिम्मा लिनुपर्ने बहस चलेको थियो । तथापि यो महाधिवेशनले देउवा नेतृत्वको त्यो हारका विषयमा पनि समीक्षा गर्नेछैन । आसन्न चुनावमा कम्युनिस्टहरूसँग गठबन्धन गर्ने कि नेपाली काँग्रेस एक्लै लड्ने ? यो महत्त्वपूर्ण राजनीतिक विषयमा समेत महाधिवेशन प्रतिनिधिहरूले छलफल गर्न पाउने छैनन् । निचोडमा, काँग्रेसको यो महाधिवेशनले पार्टीको नीति र सिद्धान्तबारे पूर्णतः आँखा चिम्लनेछ र नेतृत्वको जोडघटाऊ, गुणाभागामै यो महाधिवेशन सीमित रहनेछ ।

नेपाली काँग्रेसले यो महाधिवेशनमा कुनै पनि राजनीतिक प्रतिवेदन वा संगठनात्मक प्रस्तावहरू तयार पारेको छैन ।  राजनीतिक प्रतिवेदन नै तयार नभएका कारण बन्दसत्रमा महाधिवेशन प्रतिनिधिले पार्टीको नीतिबारे छलफलै गर्न नपाउने अवस्था छ । काँग्रेसको यो हविगतलाई शीर्ष नेताहरूले नै ‘विडम्बना’ भनेका छन् ।

शुक्रबार महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘हामीले हाम्रा नीतिहरूका बारेमा छलफल गर्नुपर्ने थियो, तर त्यो हुन सकेन । हामीले लापरबाही गर्दा समयमा अधिवेशन गर्न सकेनौँ, अहिले विधि पुर्‍याउन मात्रै लागेका छौँ ।’

समयमा महाधिवेशन नगर्ने र समय गुज्रन लागेपछि वैधानिकताका लागि हतारमा महाधिवेशन गर्नुपर्ने अवस्था आएको पौडेलको गुनासो छ । यसले गर्दा पार्टीका कमी कमजोरीहरूका विषयमा महाधिवेशनमा समीक्षा हुन नसकेको पौडेलले बताए । उनले भने, ‘यहीबेलामा हामीले आत्ममूल्यांकन गर्नुपर्छ । के कारणले कम्युनिस्ट भन्दा काँग्रेस पछाडि पर्‍यो ? यसको आत्मसमीक्षा गर्न सक्यौँ भने मात्रै महाधिवेशन सफल हुन सक्छ । हाम्रो पार्टी किन पछाडि छ भनेर आत्मसमीक्षा गर्न जरुरी छ ।’

आफ्नो सम्बोधनमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले आगामी चुनावलाई महत्त्व दिएका थिए । आगामी चुनावमा गाउँदेखि केन्द्रसम्म काँग्रेसको सरकार बनाउन एकचोटि आफूलाई सभापतिमा जिताउन देउवाले कार्यकर्तासँग आग्रह गरे । तर, वरिष्ठ नेता पौडेलले भने चुनाव मात्रै सबथोक होइन भन्दै प्रतिपक्षी एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने पार्टी बनाउन नीतिगत कुराको तयारी गरिनुपर्ने पौडेलको भनाइ थियो । शुक्रबारको सभामा उनले भने, ‘प्रतिपक्षी दलको अवस्था अहिले पनि गाउँमा देखिरहेका छौँ, उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्षम पार्टी बनाउन जरुरी छ । चुनाव मात्र सबै कुरा होइन, हरेक कुराहरूमा तयारीका साथमा जानुपर्ने थियो ।’

वरिष्ठ नेता पौडेलजस्तै महामन्त्री डा. शशांक कोइराला पनि महाधिवेशनमा नीतिगत छलफल नभएकोमा असन्तुष्ट  देखिएका छन् । उद्घाटन सत्रमा बोल्दै महामन्त्री कोइरालाले भने, ‘हामी अधिवेशन किन गर्छौँ ? के कारण हामीले हरेक पाँच वर्षमा अधिवेशन गर्नुपर्छ ? यसको एउटा कारण छ । के कारण छ भन्दाखेरि रक्तसञ्चार गर्नका लागि, नयाँ ताकत दिनका लागि नयाँ अठोटका साथ हामी अधिवेशन गर्न चाहन्छौँ । तर, दुर्भाग्यवश अहिले पनि हामी अधिवेशन गर्दाखेरि खाली नेतृत्वको बारेमा मात्रै कुरा गर्छौँ , न कि हामी नीतिको बारेमा ।’

महामन्त्री कोइरालाले अगाडि भने, ‘यो अधिवेशन गर्नुभन्दा पहिले हामीले सोच्नुपर्थ्यो, हाम्रो आउँदो रणनीति के हो ? हामी कतातिर गइरहेका छौँ ? अहिले उदाहरणका लागि मात्रै म भन्दैछु– हामीले त सोच्नुपर्ने हो हामीमा शक्ति के–के छ ? हामीमा ४० प्रतिशतभन्दा बढी युवाहरू छन्, उनीहरूलाई समृद्ध राष्ट्र बनाउनतर्फ कसरी प्रयोग गर्ने ?’

वरिष्ठ नेता पौडेल र महामन्त्री शशांकले जस्तै राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले पनि महाधिवेशनमा वैचारिक प्रश्नहरूमा बहस हुन नसकेको बताउँछन् । ‘नेपाली काँग्रेसमा दुईवटा धार छन् । हिन्दुराष्ट्र हुनुपर्छ कि पर्दैन ? संघीयता हुनुपर्छ कि पर्दैन ? वीपीको लाइन छोडेको हो कि होइन ? कम्युनिस्टहरूसँग कतिसम्म मिल्ने कि नमिल्ने ? सहकार्य केमा गर्ने, केमा नगर्ने ? यी यावत कुराहरूमा काँग्रेसमा अहिले छलफल गर्नुपर्नेछ । यी सबै कुराहरूले नीतिगत छलफल माग गर्छ’ विश्लेषक आचार्य भन्छन् ‘यो १४ औँ महाधिवेशन अवसर पनि थियो । पार्टीमा पाँचलाख नयाँ सदस्यहरूको प्रवेश छ, तिनीहरूले मूल्य पद्धतिको त कुरै छोडौँ, काँग्रेसको नीतिगत छलफल केही पनि सुन्न पाएनन् । यस कारणले गर्दा यो धेरै आकर्षक महाधिवेशन भएको छैन ।’

आचार्य अगाडि भन्छन्, ‘सुशासनमा पनि अहिले शिक्षा क्षेत्रमा हामी जुन ढंगले अगाडि बढेका छौँ, शिक्षालाई निजीकरणतिर लिएर गएका छौँ । उच्च शिक्षालाई प्राथमिकता दिइएको छ । खाली मेडिकल कलेज खोल्ने प्रतिस्पर्धा छ । विश्वविद्यालय खोल्ने प्रतिस्पर्धा छ । फाइभ स्टार हस्पिटल खोल्ने प्रतिस्पर्धा छ । नेपालको सार्वजनिक यातायातको सिस्टम खत्तम छ । यी सबै कुराहरूमा हामीले नीति निर्माण गर्नुपर्नेछ । हामीले सोच्नुपर्नेछ ।’

धर्म निरपेक्ष भर्सेस हिन्दुराष्ट्र

नेपाली काँग्रेसको बन्दसत्रमा राजनीतिक मुद्दामा बहस नभए पनि भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रमै दुईवटा धारहरू प्रस्ट रूपमा देखिए । उद्घाटन कार्यक्रममा बोल्नेक्रममा उपसभापति विमलेन्द्र निधिले नेपाली काँग्रेसले विभिन्न ९ वटा उपलब्धीहरु प्राप्त गरेको भन्दै त्यसलाई जोगाउन र संविधानको कार्यान्वयन गर्न पार्टीले भूमिका खेल्नुपर्ने बताए । यी उपलब्धिहरूमा धर्म निरपेक्षता पनि एक रहेको निधिको भनाइ थियो । तर, निधिभन्दा अगाडि बोलेका महामन्त्री डा. शशांक कोइरालाले चाहिँ धर्म निरपेक्षता ठिक नभएको बताए । यसरी नेपाली काँग्रेसमा संविधानको मूल्य मान्यतालाई हेर्ने कुरामै विचारधारात्मक अन्तरविरोध रहेको भृकुटीमण्डपमा  स्पष्ट रूपमा देखियो । तर, यो मुद्दाले बन्दसत्रमा भने प्रवेश नै नपाउने भएको छ ।

महामन्त्री शशांकले उद्घाटन सत्रमा भने, ‘मेरो आफ्नो व्यक्तिगत धारणामा म के भन्न चाहन्छु भने यो धर्मनिरपेक्षता शब्द ठिक होइन । धर्म निरपेक्ष हुँदैन, धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’

उपसभापति विमलेन्द्र निधिले चाहिँ गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशितालाई अहिलेको महत्त्वपूर्ण उपलब्धि रहेको बताउँदै भने, ‘हामीले जुन प्रणाली ल्याएका छौँ, यसको सफल कार्यान्वयन गर्नुपरेको छ । संविधानको सफल कार्यान्वयन गर्नुपरेको छ ।’

संविधान संशोधन र परिमार्जन गर्नुपर्नेमा निधि र कोइराला दुबैले जोड दिए । तर, के विषयमा संशोधन गर्ने भन्नेमा काँग्रेस नेताहरूले स्पष्ट पार्न सकेनन् । शशांकले भने, ‘अब सिद्धान्तको लडाइँ समाप्त भयो, हामीले नयाँ संविधान सुशील कोइरालाको नेतृत्वमा दियौँ । अब त्यही संविधानमा अडेर हामी अगाडि बढ्नुपर्छ । संविधानमा केही त्रुटिहरू होलान्, संविधानमा केही लकिरको फकिर हुँदैन । संविधानमा परिवर्तन हुँदै जान्छ ।’

उपसभापति निधिले भने, ‘हामीले संविधानको कार्यान्वयनमा जोड दिनुपर्छ । जसलाई संघीयता र गणतन्त्रमा रुचि छैन, तिनले संविधानको कार्यान्वयन गर्न सक्दैनन् ।’

नेपाली काँग्रेस धर्मको मुद्दामा अलमलिएको प्रष्टै देखिए पनि सभापति शेरबहादुर देउवाले भने पार्टीको नीतिगत र वैचारिक विषयमा कुनै चर्चा नै गरेनन् । कस्तो काँग्रेस बनाउने भन्नेमा चर्चै नगरी केपी ओलीको डर र त्रासबाट मुक्त काँग्रेस बनाउने र आगामी चुनाव जित्ने मात्रै उनले बताए ।

आगामी चुनावमा माओवादी र एकीकृत समाजवादी जस्ता दलहरूसँग सहकार्य हुन्छ कि काँग्रेस एक्लै चुनावमा जान्छ भन्ने प्रश्न पनि काँग्रेसका देशैभरका कार्यकर्ताहरूमा उब्जेको प्रश्न हो । तर, यस विषयमा पनि सभापति देउवाले शुक्रबारको सम्बोधनमा केही बताएनन् । नत अरू नेताहरूले नै यसबारे चर्चा गरे ।

काँग्रेस नेताहरूको अभिव्यक्ति सुन्दा पार्टीको वैचारिक निधि र कार्यदिशाबारे छलफलै नगरी नेतामुखी रूपमा आयोजना गरिएको यो चौधौँ महाधिवेशन ‘गोरु पछाडि गाडा अगाडि’ भन्ने आहानजस्तै देखिन पुगेको छ । अरू त परै जाओस्, २०७४ सालमा शेरबहादुर देउवाकै नेतृत्वमा चुनाव लड्दा काँग्रेसले किन हार्‍यो भन्नेसमेत समीक्षा नगरी यो महाधिवेशन सकिने भएको छ ।

तोकिएको समयमा काँग्रेसको महाधिवेशन किन गरिएन भन्ने प्रश्न पनि कार्यकर्ताहरूले महाधिवेशनमा सोध्न नपाउने भएका छन् । शायद वरिष्ठ नेता रामचन्द्र पौडेलले यही भएर प्रश्न उठाएका हुन्, ‘अब महाधिवेशनमा कार्यकर्ताहरूले नेताको मूल्यांकन गर्ने साहस देखाउनुपर्छ ।’

उता शेरबहादुर देउवाले चाहिँ सामान्य ठट्टा गर्दै भनेका छन्, ‘चिसोका कारण रामचन्द्रजीले धेरै बोल्न पाउनुभएन ।’

राजनीतिक विश्लेषक आचार्य भन्छन्, ‘वास्तवमा शेरबहादुर एण्ड कम्पनीलाई यो रुचि नै छैन । आजसम्म शेरबहादुरजीले संघीयताका बारेमा, धर्मनिरपेक्षताका बारेमा, गणतन्त्रका बारेमा एक लाइन पनि बोल्नुभएको छैन । उहाँले विरोध पनि गर्नुभएको छैन, तर उहाँले संविधानमा जे चिज लेखिएको छ, त्यसको पक्षमा रोष्टममा उभिएर सार्वजनिक फोरममा, पार्टीको फोरममा आजसम्म एक शब्द पनि बोल्नुभएको छैन । उहाँ अद्भुत किसिमले यो देशको प्रधानमन्त्री र नेपाली काँग्रेसको सभापति भइरहनुभएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरुण बराल
अरुण बराल
लेखकबाट थप