सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

रामचन्द्रकै कारण तनहुँमा काँग्रेस समाप्त : गोविन्दराज जोशी

मङ्गलबार, १० फागुन २०७८, १७ : ४८
मङ्गलबार, १० फागुन २०७८

नेपाली काँग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग तुलना गर्दा आफ्नो अपमान हुने बताएका छन् । वामपन्थी पार्टीबाट काँग्रेसमा आएका अवसरवादी पौडेलसँग आफ्नो तुलना गर्दा अपमान महसुस हुने उनको भनाइ छ । उनले आफू पौडेलसँग कुनै हालतमा मिल्न नसक्ने स्पष्ट पारे ।

बिपी विचार समाज शुक्लागण्डकीको अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै जोशीले भने, ‘तपाईँहरूले रामचन्द्र पौडेल र गोविन्दराज जोशी मिल्नुपर्‍यो । तपाईँहरू  आपसमा लड्नुभयो, एक अर्कालाई लखेट्नु भयो, झगडा गर्नु भएन भन्नुहुन्छ । त्यो भनाइले मलाई अपमानको महसुस हुन्छ । किनकि पौडेल २०१८ सालमा मात्र काँग्रेसमा आएको मान्छे हुन्। आफैँले भनेका छन् त्योभन्दा पहिले वामपन्थी पार्टीमा थिएँ भनेर । नेपालको प्रजातान्त्रिक आन्दोलनमा कुनै योगदान नभएकोसँग तुलना हुँदा आफू अपमानित भएको ठान्छु । साथीहरूले मेरो भलो गर्नु पर्दैन । तर, रामचन्द्र  र गोविन्दराज मिल्न परो भन्ने कुरा नगर्दिनु होला ।’ 

उनले पौडेल काँग्रेसमा फाइदा हुन्छ भनेर आएको र काँग्रेसमा पनि कहिले कता कहिले कता लाग्ने अवसरवादी चरित्रको नेता भएको टिप्पणी गरे । तनहुँमा काँग्रेस पौडेलकै कारण समाप्त भएको उनको आरोप छ । पौडेलले पार्टीमा भाँडभैलो मच्याइरहेकाले राष्ट्रघातीको संज्ञा दिए । ‘जसले पैसा खाएर संविधानमा धर्म निरपेक्षता लेख्यो त्यो मान्छे राष्ट्रघाती नहुने हामी इमानदार नेता कार्यकर्ता राष्ट्रघाती हुने,’ उनको आरोप छ । 

जोशीले रामचन्द्र पौडेलहरूको जालझेलका कारण आफूलाई पार्टीले कारबाही गरेको टिप्पणी पनि गरे । ‘मलाई अहिलेसम्म कारबाही भएको पत्र दिइएको छैन । न त केन्द्रीय समितिले निर्णय गरेको छ । दुई चार जना मिलेर जुन नाटक गरिएको छ । त्यो विरुद्धको अभियानमा लागेको छु,’ उनले प्रस्ट्याए ।

नेता जोशीलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका जोशीलाई काँग्रेसको अनुशासन समितिले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो । १० साउन २०७६ मा कारबाहीमा परेका उनले अब पार्टीले कारबाही फुकुवा गरे पनि केही अर्थ नराख्ने उल्लेख गरे ।

अबको निर्वाचनमा आफू पक्षधरलाई तनहुँ काँग्रेसले नसमेटे माओवादी एमाले समाजवादी जुनसुकै पार्टीसँग तालमेल गरेर अगाडि बढ्ने जोशीको दाबी छ । ‘पहिलो प्राथमिकता काँग्रेससँग मिलेर जाने हो । सम्मानजनक व्यवहार नभए हामी जुनसुकै पार्टीसँग मिलेर निर्वाचन लड्नेछौँ,’ उनको चेतावनी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप