मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

शङ्कास्पद पार्किङ गरिएका १४ सवारी कारबाहीमा, रहस्य अझै खुलेन

सोमबार, २९ असार २०८३, २१ : २१
सोमबार, २९ असार २०८३

सारांश

  • सार्वजनिक सडकमा जथाभावी पार्किङ गरिएका १४ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
  • ट्राफिक व्यवस्थापनमा अवरोध पुऱ्याएका सवारी साधनलाई सोमबार राति कारबाहीको चिट काटिएको छ।
  • पार्किङ गर्ने व्यक्तिको पहिचान भने अझै खुल्न सकेको छैन।

काठमाडौँ । सञ्चारमाध्यमका गेट अगाडिसहित सार्वजनिक सडकमा जथाभावी शङ्कास्पद रूपमा पार्किङ गरिएका १४ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक व्यवस्थापनमा अवरोध पुर्‍याएका उक्त सवारी साधनलाई कारबाही गरिएकाे हाे।

कार्यालयले सोमबार राति ती सवारी साधनलाई कारबाहीको चिट काटिएको जानकारी गराएको हो। तर चिट काटिएपनि कसले पार्किङ गरेको हो भन्ने बास्तविकता अझै बाहिर आउन सकेको छैन।

आज बिहान राजधानीका तीन वटा सञ्चारमाध्यमका कार्यालयको गेटमा शङ्कास्पद सवारी साधनहरू फेला परेका थिए।  कान्तिपुर टेलिभिजन, अनलाइनखबर र हिमालयन टेलिभिजनको कार्यालयको गेटैमा शङ्कास्पद रूपमा सवारी साधनहरू पार्किङ गरिएका थिए।

नेपाली कांग्रेसका सभापति गगन थापाकाे घरमा समेत शङ्कास्पद रूपमा गाडी पार्किङ गरिएकाे थियाे। उक्त गाडीहरू क्रेनकाे सहायताले हटाइसकिएकाे छ । यसबारे प्रहरीले सूचना पाएसँगै अनुसन्धान समेत सुरु गरिसकेको छ। 

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएकाे छ। 

रास्वपाले राज्यको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यम र पत्रकारले निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ। कुनै पनि बहानामा प्रेस स्वतन्त्रता हनन गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने र स्वतन्त्र पत्रकारितालाई संकुचित पार्ने गतिविधि स्वीकार्य नहुने पार्टीको भनाइ छ।

नेपाली कांग्रेस, नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले घटनाकाे विराेध गरेका छन् । दलहरूले सञ्चारमाध्यमाथि हस्तक्षेप गर्न नहुनेमा जाेड दिएका छन्। दलहरूले सरकारकाे इसारमा नै उक्त घटना भएकाे आराेप समेत लगाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप