मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड र माधव नेपाललाई शंकर पोखेरलले लगाए १२ आरोप

आइतबार, १५ फागुन २०७८, १३ : १५
आइतबार, १५ फागुन २०७८

एमाले महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल चरम अवसरवादी भएको प्रमाणित भएको बताएका छन् ।

महासचिव पोखरेलले नेकपा कालमा प्रचण्ड र माधव नेपालले ओलीका विरुद्ध विभिन्न विषय उठाएर विग्रह सिर्जना गरी पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै समयक्रममा ती सबै विषय छाडेर चरम अवसरवादी भएको प्रमाणित गरेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले भनेका छन् : ‘प्रचण्ड र माधव नेपालका साथमा रहनेहरू अझै ओलीलाई नै समस्या मान्दैछन् ।’  पोखरेलले विभिन्न १२ तथ्यहरुले अब सत्यसँग लड्न सकिँदैन र हुँदैन भन्ने चेतना आरोप लगाउनेहरूमा आउनुपर्ने बताएका छन् । 

यस्ता छन् महासचिव पोखरेलले लगाएका १२ आरोप

१.जनादेश खण्डित भएको अवस्थामा जनतामा जाने कुरालाई प्रतिगमन भन्ने प्रचण्ड र माधव नेपालले स्थानीय चुनाव अगावै वैशाखमा प्रतिनिधिसभाको चुनाव गर्ने प्रस्ताव राखे । तर उनीहरुको प्रस्ताव एमाले र नेका दुबैले अस्वीकार गरे । पाँच वर्ष नपुग्दै चुनाव गर्नु गलत भए स्थानीय चुनाव रोक्नेगरी वैशाखमै प्रतिनिधिसभाको चुनाव गर्ने प्रचण्ड प्रस्ताव पनि त गलत हुन्थ्यो होला नि ?

२.केपी ओली प्रधानमन्त्री हुँदा ४० प्रतिशत संसदीय दलका सदस्य भए दल विभाजन गर्न पाउनेगरी ल्याएको अध्यादेशको विरोध गरे । नेका समेतको विरोध भएपछि अध्यादेश फिर्ता गरियो । तर पछि २० प्रतिशतले नै दल विभाजन गर्न पाउनेगरी अध्यादेश जारी गरे । एमाले पार्टीको विभाजनसँगै उक्त अध्यादेश फिर्ता लिए ।

३. पार्टी एकताका लागि प्रम र पार्टी अध्यक्षमध्ये एक पद छोड्नुपर्ने मागसहित एक व्यक्ति एक पदको कुरा गरे । तर पार्टी विभाजनपछि प्रचण्ड र माधव नेपाल दुवै आफैले अघि सारेको मान्यताविपरित पार्टी र दल दुबैको एकसाथ नेता बन्न पुगे ।

४. नेकपा कालमा सभामुखमार्फत संसदमा एमसीसी टेबल गर्नमा रोक लगाए । तर नेकाले दवाव दिने वित्तिकै सभामुख मार्फत संसदमा टेवल गर्न लगाए ।
५. एमसीसीमार्फत सहायता पाउनका लागि आफु सरकारमा रहदा पत्राचार गरे । सरकारमै रहेका बेलामा सम्झौता समेत गरे । तर एमसीसी राष्ट्रघाती सम्झौता हो भन्दै कार्यदल बनाउनेदेखि सडक आन्दोलन गर्नेसम्मको रमिता देखाए । तर अहिले सत्तावाट वाहिरिने त्रास वढेपछि एमसीसी पास गर्न तयार भए ।

६. नेकपा गठनपछि आफैले छोडेको र पार्टीले अस्विकार गरेको आलोपालोको कुरा गरेर आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्ने अनुचित काममा लागे । तर पछि सरकारमा आफ्नो नेतृत्वको दावी छोडेर संसदमा आफ्नो हाराहारीमा रहेको नेकाको नेतृत्वको सरकारमा निःशर्त सहभागी भए ।

७.नेकपा कालमा सबै सूचकहरुले सरकारको काम राम्रो रहेको देखिँदा देखिँदै पनि सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप लगाएर नेतृत्वको विरोध गरे । तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र नै तहसनहस बनाउँदा पनि चुप लागेर सरकारको प्रतिरक्षा गरिरहेका छन् ।

८.माधव नेपालले सदैव आफुलाई विधि र पद्धतिको पक्षमा रहेको दावी गरे । तर अन्तमा नेपालको संसदीय इतिहासमा सबैभन्दा धेरै विधि र पद्धती उलंघन गर्ने नेताका रुपमा आफुलाई प्रस्तुत गरे ।

९.अदालतमा सेटिङको आरोप केपी शर्मा ओली माथि लगाउने काम गरे । तर अदालतमा चलिरहेको आन्दोलनका क्रममा परमादेशी सरकार नै सेटिङवाट निर्माण भएको पुष्टि हुन पुग्यो । अनि अदालतमा विचाराधीन मुद्दा र स्थानीय निर्वाचन सार्नका लागि प्रधान न्यायाधीशमाथि महाभियोग लगाउने काम गरे । निर्वाचन रोक्ने उद्देश्यले मुद्दा दर्ता गर्न लगाए ।

१०.नेकपाको रक्षा आफ्नो नेतृत्वमा मात्र सम्भव हुने कुरा गरे । एकताको मर्म र भावना विपरित महाधिवेशनको सम्प्रभुतालाई समेत कुल्चँदै केपी शर्मा ओलीलाई अध्यक्ष, दलको नेता र पार्टीको साधारण सदस्यबाट समेत हटाए । तर अदालतमा नेकपाको नाममा विचाराधीन मुद्दामा ऋषि कट्टेलका पक्षमा फैसला भएपछि एकताको कुरा गर्न नै छोडे । यतिवेला माधव नेपाल र प्रचण्ड दुवै अलग–अलग पार्टीको मुखिया बन्न पुगेका छन् ।

११.हिजो नेकपा भएको समयमा केपी ओलीको नेतृत्वमा रहेर चुनावमा जानै नसकिने अवस्था छ भनेर भ्रम सिर्जना गरे । तर आज केपी ओलीको नेतृत्वको पार्टीलाई हराउन पाँच दलीय गठबन्धन अपरिहार्य रहेको बताउन थालेका छन् । चुनावमा जान खुट्टा कमाइ रहेका छन् ।

१२. नेकपा भंग भएपछि नेकपा (एमाले) संग कुनै प्रकारको सहकार्य गर्न सकिदैन भन्दै घृणाको राजनीति गरे । जब एमसीसी प्रकरणमा नेकाले सरकारबाट हटाउने कुरा गर्न थाल्यो तव नेकपा (एमाले) सँग वामपन्थी सहकार्यको प्रस्ताव राख्न पुगे ।

यी तथ्यहरुले विगतमा अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा लगाइएका सबै आरोपहरू कुण्ठाग्रस्त मानसिकताका उपज थिए । अनि उनीहरु दुवैबाट सञ्चालित अभियानहरू सत्ता स्वार्थबाट प्रेरित दक्षिणपन्थी अवसरवादमा आधारित अभियान थिए भन्ने पुष्टि हुँदै गएको छ । यस्तो अवस्थामा प्रचण्ड र माधव नेपालको साथमा रहेकाहरुले नयाँ ढंगले सोच्ने बेला भएन र ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप