बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा चुनाव केन्द्रित कार्यक्रम तीव्र

ठुला पार्टीका नेताहरूको दौडधुप, पार्टीमा प्रवेश गराउने होडबाजी
मङ्गलबार, ०१ चैत २०७८, ०६ : ३८
मङ्गलबार, ०१ चैत २०७८

बुटवल । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा रुपन्देहीमा ठुला दलका केन्द्रीय नेताहरूको ओहोरदोहोर बढेको छ । कार्यकर्ता प्रशिक्षण, पार्टी प्रवेश कार्यक्रमदेखि शिलान्यास, उद्घाटन जस्ता चुनाव लक्षित गतिविधिलाई दलहरूले तीव्रता दिएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेताहरू पछिल्लो समय रुपन्देहीमा आउने होड नै चलेको छ । रुपन्देही काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका नेता विष्णु पौडेलको गृह जिल्ला हो ।

पछिल्लो साता गृहमन्त्री खाँणका अतिरिक्त काँग्रेस नेताहरू मीन विश्वकर्मा, पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणा रुपन्देही आए । गृहमन्त्री खाँण शनिबार रुपन्देहीका विभिन्न कार्यक्रममा दिनभर व्यस्त रहे । उनी फागुन २४ गते पनि रुपन्देही आएका थिए ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा आयोजना गरेको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु गर्न काँग्रेसका नेताहरू भैरहवा आएका हुन् । यो अभियान आगामी चैत २९ गतेसम्म चल्ने काँग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले बताए ।

पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल सोमबार हुने पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणका लागि आइतबार रुपन्देही आएको उनका स्वकीय सचिव यमराज पाण्डेयले बताए । एमालेका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, एमाले सचिव छविलाल विश्वकर्मा, पूर्वमन्त्री प्रदीप ज्ञवाली लगायत नेताहरू पनि रुपन्देही आए ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा स्वाभाविक रुपमा यहाँ चासो राख्ने, कार्यकर्ताहरुका समस्या बुझ्ने उद्देश्यले नै पार्टीका नेताहरूले आवतजावतलाई तीव्रता दिएको नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा २ नम्बर क्षेत्रीय संयोजक बाबुराम पन्थीले बताए ।

यस्तै, नेकपा माओवादी केन्द्रका नेताले पनि रुपन्देहीमा ओहोरदोहोर बढाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चैत ३ गते रुपन्देहीमा हुने प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्न आउने माओवादीका नेता एवं प्रदेशका पूर्वमन्त्री सुदर्शन बरालले बताए । राप्रपाका प्रभावशाली नेता दीपक बोहराको पनि रुपन्देहीमा आवतजावत बढेको छ । रुपन्देहीको सिद्धार्थनगर उनको गृहनगर हो । राप्रपाले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ ।

पार्टी प्रवेश गराउने होड

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा स्थानीय तहका जनप्रतिनिधिहरूले दल बदल्ने तथा विभिन्न पार्टीका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने होड नै चलेको छ ।

जिल्लाका ४ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले हालै दल बदलेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर तथा रोहिणी, ओमसतिया र सम्मरीमाई गाउँपालिका अध्यक्षले आफू आबद्ध पार्टी परित्याग गरी अर्को दलमा आबद्ध भएका छन् ।

३ फागुनमा रूपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवट एमाले प्रवेश गरे । उनीहरूलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा प्रवेश गराएका थिए ।

अघिल्लो चुनावमा यादव संघीय समाजवादी फोरम र केवट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । केवटसँगै माओवादीबाट निर्वाचित ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमतिकुमारी हरिजन पनि एमालेमा प्रवेश गरेकी थिइन् ।

स्वतन्त्र रुपमा चुनाव जितेका लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी जसपामा प्रवेश गरेका छन् । जसपाबाट चुनाव जितेका सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल भने एमाले हुँदै माओवादी केन्द्रमा पुगेका छन् । उनलाई काठमाडौँमा प्रचण्डले पार्टीमा भित्र्याएका थिए ।

शनिबार रुपन्देहीको ओमसतियामा २ सयभन्दा बढी कार्यकर्ता अन्य दलबाट माओवादीमा प्रवेश गरेका छन् । यस्तै, शनिबार गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँण प्रमुख अतिथि कार्यक्रममा पनि विभिन्न दल त्यागेर काँग्रेसमा कयौँ कार्यकर्ता प्रवेश गरे ।

केही दिनअघि रुपन्देहीको सैनामैनामा पनि विभिन्न पार्टी छाडेर कार्यकर्ताहरू एमालेमा प्रवेश गरे । उनीहरूलाई राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको उपस्थितिमा पार्टी प्रवेश गराइएको हो ।

दलहरूले चुनावी माहौल तयार पार्न ठाउँ ठाउँमा पार्टी सम्पर्क कार्यालय खोल्नेदेखि अर्को दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने काम गरेका छन् । यस क्रममा जनप्रतिनिधिहरूदेखि सामान्य कार्यकर्ता खोसाखोसमा परेका छन् । जनमत पार्टीदेखि राप्रपा, एमाले, माओवादी, नेपाली काँग्रेसले यहाँ नयाँ कार्यकर्ता भित्र्याउन कार्यक्रम आयोजना गर्ने गरेको देखिन्छ ।

बुटवलमा चुनाव केन्द्रित प्रशिक्षण र जनमतको माहौल बुझ्न एमालेले प्रचार कार्यालय स्थापना गरेको छ । नेपाली काँग्रेसले वार्डहरूमा सम्पर्क कार्यालय स्थापना गरेको छ । यस्तै माओवादीले पनि केही ठाउँमा कार्यालय स्थापना गरेको छ । जिल्लामा नेकपा माओवादी केन्द्रको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम चलिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप