चितवनलाई प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि
चितवन जिल्लाले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो ।
बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा आयोजित प्रतियोगिताको दोस्रो स्थान काठमाडौँ र तेस्रो स्थान ललितपुरले हात पारे । चितवनले २१ स्वर्ण, १९ रजत र १४ कास्य हात पार्यो । काठमाडौँले १९ स्वर्ण, ६ रजत, ७ कास्य र ललितपुरले ९ स्वर्ण, ९ रजत र ८ कास्य हात पर्यो ।
बागमती प्रदेशका १३ जिल्लालाई समावेश गर्दै आयोजना गरिएको प्रतियोगिता शनिबार काभ्रेको धुलिखेल रंगशालामा समापन गरिएको छ । प्रतियोगिताको फागुन २८ गते मकवानपुरको हेटौडास्थित पिप्ले क्यापडाँडा रंगशालामा उद्घाटन गरिएको थियो ।
प्रतियोगितामा प्रदेश सरकारले प्राथमिकतामा राखेका ८ खेललाई समावेश गरेको थियो । जसमध्ये हेटौडामा ब्याडमिन्टन, तेक्वान्दो, पुरुष फुटबल, चितवनमा भलिबल र क्रिकेट, काठमाडौँमा एथलेटिक्स, काभ्रेमा महिला फुटबल र बक्सिङ, सिन्धुपाल्चोकमा कराँतेका खेल आयोजना गरिएको थियो । प्रतियोगिताको अन्तिम दिन महिला फुटबलमा मकवानपुरले धादिङलाई एक शून्यले हराउँदै पहिलो स्थान हासिल गर्यो ।
बक्सिङतर्फ पुरुष ४८ केजीमा काठमाडौँमा रविन थापा, ५१ केजीमा काभ्रेका लालप्रसाद उप्रेती, ५४ केजीमा ललितपुरका सुमन नेपाली, ५७ केजीमा काठमाडौंका सुजर महर्जन, ६० केजीमा ललितपुरका शेखर कुटवाजु, ९२ केजीमाथि काभ्रेका रविन्द्र घिमिरे, ९२ केजीमुनी चितवनका विभान गुरुङ, ८६ केजीमा काठमाडौंका सोनु गुरुङ, ८९ केजीमा ललितपुरका राजन तामाङ, ७५ केजीमा काभ्रेका विनिस राई, ७१ केजीमा काठमाडौंका प्रमोद राई, ६७ केजीमा मकवानपुरका अमन श्रेष्ठ र ६३ केजीमा रसुवाका मौसम राना मगरले स्वर्ण जिते ।
महिलामा ५० केजीमा भक्तपुरकी अस्मिता ढुवाल, ५७ केजीमा काभ्रेकी हेमा राई, ६० केजीमा दोलखाकी डेचेन शेर्पा, ४८ केजीमा काठमाडौंकी सुस्मा तामाङ, ५२ केजीमा भक्तपुरकी सुस्मा खड्का, ५४ केजीमा रामेछापकी सोस्तिका तिरुवा र ६६ केजीमा काठमाडौंकी कबुना श्रेष्ठले स्वर्ण जिते ।
उपाधि विजेता खेलाडीलाई संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, प्रदेश खेलकुदमा युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी लगायतले पुरस्कृत गरेका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले खेलकुदको ऐन कानुन, संरचना बनाउने काममा अघि देखिएको बागमती प्रदेश सरकारले प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेर इतिहास रचेको बताए ।
प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले छोटो समयको तयारीमा चुनौतीका बाबजुत प्रतियोगितालाई सफलतापूर्वक आयोजना गरिएको उल्लेख गरे ।
समापन समारोहका प्रमुख अतिथि संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रदेश खेलकुद आयोजना गरेर बागमती प्रदेश सरकारले उल्लेख्य सफलता हासिल गरेको उल्लेख गर्दै यसले अन्य प्रदेशलाई समेत प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न हौसला मिल्ने बताए । उनले प्रदेश खेलकुदमा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीलाई आसन्न एसियन गेम्सको बन्द प्रशिक्षणमा राखिने जानकारी दिए ।
प्रतियोगितामा २१ सय बढी खेलाडी सहभागी बनेका । संघीय संरचना अनुसार प्रदेश खेलकुद विकास परिषद् गठन भएपछि प्रदेश खेलकुद प्रतियोगिता आयोजना गरेर बागमती प्रदेश सरकारले इतिहास रचेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई दोस्रो पत्र
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण