शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘दिनहुँ कोरोना सङ्क्रमित मर्न थाले, अब बुस्टर डोजलाई अनिवार्य गरौँ’

सोमबार, १६ साउन २०७९, ०९ : ५७
सोमबार, १६ साउन २०७९

नेपालमा कोरोना सङ्क्रमण बढेसँगै प्रत्येक दिन जसो मानिसको मृत्यु भइरहेको छ । कोभिड–१९ सङ्क्रमणकै कारण आइतबार थप एक जनाको मृत्यु भएको छ । साउन महिनायता सङ्क्रमणका कारण १५ जनाको मृत्यु भएको स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको एक सातामा ९ गते अर्थात् सोमबार १ जनाको मृत्यु भएको थियो भने १० गते, २ जनाको मृत्यु भएको थियो । क्रमशः बुधबार १, बिहीबार २, शुक्रबार ३ र शनिबार २ जनाको मृत्यु भएको थियो । पछिल्लो गएको २४ घण्टामा ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५६७ पुगेको छ ।  

कोरोना सङ्क्रमणका कारण देशका विभिन्न अस्पतालमा ३३ जनाको आई.सी.यूमा उपचार भइरहेको छ । भेन्टिलेटरमा ५ जनाको उपचार भइरहेको छ । यस्तै, होम आइसोलेसनमा रहेका सङ्ख्या ४ हजार ४ सय २४ रहेका छ । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ३ हजार २ सय १२ रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ३१ जना आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा १४३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुने अधिकांशले खोप लाएका छैन 

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुने मध्ये अधिकांशले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ । मृत्यु भएको १५ जनामध्ये १३ जनाले खोप लगाएका थिएनन् भने २ दुई जनाले एक मात्रा खोप लगाएका थिए । शरीरमा एकभन्दा बढी रोग भएका साथै कोरोनाविरुद्धको खोप नलगाएकालाई सङ्क्रमण हुनबाट जोगाउनका लागि सबै सावधानी अपनाउन अतिआवश्यक रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले कोरोनाविरुद्धको खोप नलगाए र एकभन्दा बढी रोग भएका बिरामी अस्पतालमा भर्ना भएको पाइएको छ । ओमिक्रोनको नयाँ भेरियन्ट बीए.फाइभ सङ्क्रमणसँगै कोरानाविरुद्धको खोप नलगाएका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको स्वास्थ्यमा समस्या ल्याउन सक्ने उनी बताउँछन् । 

‘कोभिडको नियमित खोपलाई जस्तो बुस्टर डोज अभियान चलाऔँ’ 

सरुवा रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीले कोरोनाविरुद्धको खोप पूर्ण मात्रा खोप लगाएर ६ महिना कटिसक्दा पनि सरकारले बुस्टर डोज अनिवार्य  भनेर  अभियान नै चलाउनुपर्ने  बताउँछन् । कूल खोप लगाएका मध्ये ३१.१ प्रतिशतले मात्रै बुस्टर डोज लगाएका छन् । लक्षित जनसङ्ख्या २ करोड ३३ लाख २७ हजार ६१९ रहेका छन् । जसमा ८८.२ प्रतिशतले पूर्ण मात्रा र ९२.४ प्रतिशतले ९२.४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । जम्मामा ७२ लाख ६२ हजार ४१२ जनाले मात्रै बुस्टर डोज लगाएका छन् । 

बुस्टर डोज नलगाउने सङ्ख्या धेरै रहेको स्वास्थ्य मन्त्रालय प्रकाशित विवरणमा प्रस्ट पार्छ । सरकारले सुरुमा कोरोना विरुद्धको खोपबारे जनचेतना फैलाउन जनशक्ति परिचालन गरे जसरी नै अब बुस्टर डोज खोप लगाउनका लागि अभियान नै चलाउनुपर्ने उनी बताउँछन् ।

अझै पनि मानिसहरूमा यो कोरोनाभाइरस बेलाबेला आइरहन्छ, सङ्क्रमण भए पनि खासै केही हुँदैन भन्ने भ्रम कायम रहेको उनी सुनाउँछन् । कोरोनाविरुद्धको खोप लगाएमा स्वास्थ्यमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिन्छ भन्ने अन्धविश्वास समुदायमा रहेकाले यस्ता खालका कुरालाई चिर्न ग्रामीण भेगमा जनचेतना फैलाएर बुस्टर डोज लगाउनै पर्ने बाध्यात्मक स्थिति सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

एकतिर कोरोनाविरुद्ध खोप म्याद गुज्रिएर खेर गएको छ । अर्को तिर कोरोनाविरुद्धको बुस्टर डोज लगाउनेहरू खोप केन्द्रमा उत्साहजनक रूपमा खोप केन्द्र नपुग्नु भनेको यस बारेमा पूर्ण रूपमा जानकारी नहुनु नै रहेको उनी बताउँछन् । 

बुस्टर डोज लगाएकालाई पनि कोरोना सङ्क्रमण हुनसक्छ । उनीहरूको स्वास्थ्यमा जटिलता नआउला तर पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्ड पालना गरिएन भने पूर्णमा खोप तथा बुस्टर डोज नलगाएका दीर्घरोगी तथा वृद्धवृद्धालाई गाह्रो बनाउन सक्छ । त्यसैले बुस्टर डोज लगाउनेहरू पनि पूर्णरुपमा सचेत हुन जरुरी रहेको उनी बताउँछन् ।

अघिल्ला महामारीमा अहिले जस्तो खोपको पहुँच पुगेको थिएन भने कोरोनाभाइरसका भेरियन्टहरुले स्वास्थ्यमा जटिलता ल्याएको थियो । जसका कारणले सङ्क्रमणको ग्राफ उच्च विन्दुमा पुगेर क्रमशः ग्राफ ओरालो लाग्दा पनि मृत्यु हुनेको सङ्ख्या बढिरहेको उनी स्मरण गर्छन् । 

‘अघिल्ला महामारीमा खोप नलगाउनेको सङ्ख्या ठूलो भएकाले मृत्यु दर पनि बढी थियो,’ उनी भन्छन्, ‘अहिले खोप लगाउने धेरै हुनुहुन्छ । तर यो कोरोना महामारी आउँछ जान्छ भन्दै हल्का रूपमा लिई बुस्टर डोज लगाउने कम हुनुहुन्छ । अझै खोप नै नलगाउने पनि हुनुहुन्छ । त्यसैले सङ्क्रमण दर उच्च बिन्दुमा पुग्दा ध्यान नदिएको खण्डमा मृत्युदर बढ्छ ।’

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन कोरोनाविरुद्धको खोप नलगाएका तथा पूर्ण मात्रामा खोप लगाएको ६ महिना बितिसक्दा पनि बुस्टर डोज नलगाएमा अहिलेमात्रै नभएर जहिले सङ्क्रमणको उच्च जोखिम रहेको बताउँछन् । उनी भन्छन्, ‘पहिला पनि र अहिले पनि कोरोनाविरुद्धको खोप नलगाएकै नागरिक सङ्क्रमणको उच्च जोखिम छ । कोरोनाविरुद्धको खोप लगाउनेको जमात ठूलो छ । खोप लगाएपछि सङ्क्रमण भए पनि स्वास्थ्यमा जटिलता ल्याउन आउने सम्भावना कम हुने भएकाले अस्पतालमा भर्ना हुने बिरामीको दर पनि कम हुन्छ, मृत्युदर पनि कम छ ।’ 

यद्यपि पूर्ण मात्रा खोप लगाएको ६ महिना पुग्दा पनि बुस्टर डोज खोप नलगाएहरुलाई बढी स्वास्थ्य जटिलता ल्याउन सक्ने उनी बताउँछन् । पूर्ण खोप र बुस्टर डोज नलगाएका वृद्धवृद्धा तथा दीर्घरोगीका स्वास्थ्यमा जटिलता ल्याउने चिकित्सकहरू बताउँछन् । 

सरुवा रोग विशेषज्ञहरूका अनुसार ६ महिनाअघि लगाएको पूर्ण मात्रा खोपको क्षमतामा ह्रास आउन भएकाले अनिवार्य रूपमा बुस्टर डोज लगाउनुपर्छ । बुस्टर डोज खोप लगाएर कोरोना सङ्क्रमण भए पनि भए पनि स्वास्थ्यमा जटिलता नल्याउने हुँदा अनिवार्य रूपमा खोप लगाउन उनीहरूको सुझाव छ । दीर्घरोगी र वृद्धवृद्धालाई सरकारले पहिलो प्राथमिकतामा परेको थियो । त्यसैले हाल बुस्टर डोज लगाउन छुटेकाहरूलाई अनिवार्य रूपमा खोप लगाउन उनीहरू सुझाव दिन्छन् ।

सङ्क्रमण हुने जति सबैलाई ओमिक्रोनको नयाँ भेरियन्ट बीए.फाइभ मात्रै सङ्क्रमण नभएको हुन सक्छ, डेल्टा, ओमिक्रोन, अमिक्रोनको नयाँ सबभेरियन्ट बीए.टु लगायत भेरियन्ट सङ्क्रमण भएको पनि हुन सक्छ । त्यसैले सबैले सुरक्षाका विधि अपनाउन सरुवा रोग विशेषज्ञहरू सुझाव दिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप