डेङ्गुका बिरामी बढेपछि सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान
लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम सिन्धुलीमा बढेको छ । छोटो अवधिमै डेङ्गु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर देवकोटाले जानकारी दिए । दिनकै दुई–तीन बिरामीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको उनको भनाइ छ ।
साउनयता मात्रै बिरामी भएर अस्पताल आएका ९७ जनामा उक्त रोग देखिएको जनाइएको छ । उनले भने, “सबैभन्दा बढी कमलामाई नगरपालिकामा ७४ जनामा डेङ्गुको सङ्क्रमण भएको पाइयो ।”
यसैगरी दुधौली नगरपालिकामा सात, गोलञ्जोर गाउँपालिकामा पाँच, तीनपाटन गाउँपालिकामा चार, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाका तीन÷तीन जनामा डेङ्गु भाइरसको सङ्क्रमण भएको पाइएको छ । तीमध्ये १२ बिरामी अस्पतालको शय्यामा उपचारत छन् । केही बिरामी चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेका उनले बताए । दश डेङ्गुका बिरामीलाई भने उपचारमा आवश्यक पर्ने रगत प्लेटलेट्सको अभावका कारण अन्यत्र पठाउनुपरेको डा देवकोटाले जानकारी दिए । यो तथ्याङ्क साउन १ देखि भदौ २८ सम्मको हो ।
डेङ्गुको सङ्क्रमण जिल्लामा तीव्रगतिमा फैलिरहेको उनको अनुमान छ । डेङ्गुको लक्षण देखिएका कतिपय बिरामी घरमै तातोपानी खाने, सिटामोलको प्रयोग गरी बसेकाले जिल्लामा बिरामीको यकिन तथ्याङ्क सङ्कलन हुन नसकेको उनले बताए ।
कमलामाई नगरपालिकाले नगर स्वास्थ्य शाखामार्फत डेङ्गु रोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने टोली परिचालन गरेको नगरप्रमुख उप्रेन्द्रकुमार पोखरेल जानकारी दिए । उनका अनुसार मङ्गलबारदेखि नगरका स्वास्थ्य शाखाका कर्मचारी र नगर स्वास्थ्य स्वयंसेविकाको टोली लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काममा परिचालित भएका हुन् । स्वास्थ्य कार्यालयको समन्वयमा डेङ्गु रोग नियन्त्रणका लागि स्प्रे छर्किने तयारी भएको उनले बताए ।
डेङ्गु भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सिन्धुली अस्पताललगायत पालिकाका स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाले संयुक्तरूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको पनि जनाएका छन् । चिकित्सकका अनुसार डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री सिंहद्वारा रेलका पुराना र दुर्लभ वाष्प इन्जिन निरीक्षण
-
सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध
-
मन्त्री यादव र मेलम्ची संघर्ष समिति बिचको वार्ता सफल
-
१० बजे, १० समाचार
-
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारबाही गर्न पत्राचार
-
गाजामा हमास हमलाको एक वर्ष पूरा, इजरायल, हमास र हिज्बुल्लाहद्वारा आक्रमण तीव्र