शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा आयल निगमको मनोमानी

मूल्य घटाउन आनाकानी, उपभोक्तालाई मार
मङ्गलबार, ०१ कात्तिक २०७९, ११ : ५८
मङ्गलबार, ०१ कात्तिक २०७९

नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेको नेपाल आयल निगमले पछिल्लो समय मनोमानी गर्न थालेको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)सँग प्रशोधित पेट्रोलियम पदार्थ किनेर नेपालमा बेच्दै आएको निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य निर्धारण नगरेर नगरेर मनोमानी गर्न थालेको हो । 

प्रत्येक १५–१५ दिनमा आईओसीले निगमलाई अन्तर्राष्ट्रिय बजारमा हुने घटबढ अनुसार नयाँ मूल्यसूची पठाउने गर्छ । जसअनुसार, पछिल्लो ५ पटक प्राप्त मूल्य सूचीअनुसार निगमले घटेर आउँदा घटाउन आनाकानी गर्दै आएको हो । निगमले मूल्य बढेर आउँदा भने बढाउने गरेको छ । 

माथिल्लो निकायको हस्तक्षेपसँगै निगमले असारको दोस्रो साता एकैपटक पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घटाएको थियो । उक्त मितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यक्रम नै गरेर मन्त्री दिलेन्द्रप्रसाद बडूले डिजेलको मूल्य प्रतिलिटर २९ र पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएका थिए । त्यसअघि, निगमले पेट्रोल प्रतिलिटर १९९ र डिजेल प्रतिलिटर १९२ रुपैयाँमा बिक्री गर्दै आइरहेको थियो ।

अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर कटौती गरेसँगै उक्त मूल्यमा डिजेल र पेट्रोलको बिक्री भइरहेको थियो । तर, एकैदिन उद्योगमन्त्रीकै सहभागितामा ह्वात्तै मूल्य घटाएसँगै निगमले पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ र डिजेल प्रतिलिटर १६३ रुपैयाँमा बिक्री गर्न थाल्यो । सत्ता साझेदार दलहरूका मूख्य नेताहरू पेट्रोलियम पदार्थको मूल्य घटाउन सहमत बनेसँगै उद्योग मन्त्रालयले उक्त मितिमा मूल्य घटाएको थियो ।
अर्थ मन्त्रालयले घटाएको मूल्यको भरपाई गर्नेगरी भन्सार महशुल कटौती गर्ने मौखिक सहमति दिएको थियो । तर, लिखित निर्देशन नआउँदा मन्त्रालयले कर कटौती गरेन । जसले गर्दा महँगो मूल्यमा किनेर सस्तो मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गर्नुपरेको निगमको गुनासो थियो । 

जसका कारण आईओसीसँग पेट्रोलियम पदार्थ किनेर भुक्तानी बाँकी रहेको रकमको ब्याज नै साढे १ अर्ब रुपैयाँ हाराहारी रहेको निगमको भनाइ छ । ऋणको भार कम गर्ने भन्दै उच्च नाफा भएपनि निगमले गत अक्टोबर १ मा आईओसीबाट प्राप्त सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेन । उक्त मितिमा प्राप्त मूल्य सूचीलाई गुपचुप राख्दै निगमले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९ रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर ३८ रुपैयाँ नाफा लिएर बेचेको थियो । 

सोअनुसार मूल्य समायोजन नगरी १५ दिनको अवधिमा १ अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गर्यो । अक्टोबर १ मा प्राप्त सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको निगमले सो मूल्यसूची सार्वजनिक नगरेर अर्को बदमासी समेत गरेको थियो । निगमले दसैं बिदाका क्रममा लामो सार्वजनिक विदा परेको बाहानाबाजी गर्दै उक्त मितिमा खरिद मूल्यसूची सार्वजनिक नगरेको हो ।  ‘दसैंको लामो विदा थियो । त्यहीबेला भारतबाट सूची प्राप्त भयो,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, ‘दसैंको विदा सुरू भइसकेको र सबै कर्मचारी छुट्टीमा गइसकेकाले मूल्यसूची सार्वजनिक भएन ।’

लामो सार्वजनिक बिदाको बाहानामा मूल्य घटेर आउँदा निगमले मूल्यसूची सार्वजनिक नगरेपनि बढेर आउँदा भनेलगत्तै सूची सार्वजनिक गर्ने गर्छ । यही क्रमलाई जारी राख्दै १५ अक्टोबरमा प्राप्त सूची भोलिपल्ट नै सार्वजनिक गर्यो । 
नयाँ मूल्यसूचीअनुसार डिजेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । जसअनुसार पेट्रोलमा रु १.७४ प्रति लिटर, डिजेलमा रु १५.६० प्रति लिटर र हवाई इन्धनमा रु १०.२५ प्रति लिटरले बढेर आएको छ । नयाँ मूल्यले डिजेलमा रु ६.३४ प्रति लिटर घाटा  र एलपी ग्यासमा रु ३२५.४४ प्रति सिलिन्डर घाटा हुने भएपनि पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब रु ३९ करोड नाफा हुने प्रक्षेपण गरिएको निगमले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यद्यपि निगमले इण्डियन आयल कर्पोरेशन, नेपाल सरकार र राष्ट्रिय वाणिज्य बैंकलाई करिब रु ३३ अर्ब ६० करोड रकम तिर्न बाँकी रहेको अवस्था छ । निगमले पेट्रोलियम पदार्थ खरिदका लागि नेपाल सरकारसँग रु ७ अर्व र राष्ट्रिय वाणिज्य बैंकसँग रु ३ अर्व ऋण लिई पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री वितरण प्रणालीलाई व्यवस्थित गर्दै आईरहेको छ ।

मूल्य घट्दा नघटाउने र बढ्दा बढाइहाल्ने प्रवृत्ति तथा आन्तरिकरुपमा उच्च सेवा सुविधाले पछिल्लो समय निगममा मनोमानी मौलाइरहेको प्रष्ट हुने सरोकारवाला बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप