शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मंसिर ४ गते बेइमान नेताहरुलाई बिदाई गर्नुपर्छ : चन्द्र भण्डारी

बिहीबार, २४ कात्तिक २०७९, १४ : ३५
बिहीबार, २४ कात्तिक २०७९

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् ।

उनले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताए । नेता भण्डारीले नेताहरूले लुटेको सम्पतिलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताए ।

उनले राजनीतिक दलहरूले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरूलाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्वहरुलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताए ।  भण्डारीले नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यकता भएको बताए ।

उनले भने– ‘हामीलाई थाहा छ, नेपालको रोग के हो, नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो । अब जो सुकैहोस्, जुन पार्टीको होस्, जतिसुकै ठूलो होस्, हामीले अब मंसिर ४ गते यी तत्वलाई पराजित गर्नुपर्छ, यो लुटेको सम्पति नेपाल आमालाई फिर्ता गर्नुपर्छ । युवाहरूलाई विदेश पठाएर नेपालमा अवसरको खोजी नगर्ने दोस्रो रोग हो । नेपाललाई रित्तै गर्ने, जोश छैन, जाँगर छैन । यसको निधान हामीले गर्नुपर्छ ।’

उनले नेपाली राजनीतिमा बेइमान नेताहरू भएको समेत बताए । बेइमान नेताहरूका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको बताए । उनले खरको छाना हालेर बस्नेहरूलाई गरिब भनेर विस्थापित गर्ने र अहिले शहरमा खरकै छाना बनाएर करोडौं कमाइरहेको बताए । भण्डारीले भने– ‘आज हामी ७ खर्ब विदेशी ऋणको ब्याज तिर्दैछौँ । २२ खर्ब व्यापार घाटा छ । १२ खर्ब राजश्व उठ्छ जम्मा । कहाँबाट विकास गर्ने नेपालले । हाम्रा घरका बस्तीलाई हामीले गरिब वस्ती भनेर हेप्यौँ, तर अहिले शहरमा खरको छानोले छाएको टहरा बनाएर करोडौंको व्यापार गरिरहेका छन् । न हामीले देश चिन्यौँ, न त हाम्रो सौन्दर्य नै । हामी नेपाली भुमिका बेइमान सन्तान र नेताहरू हौँ । अब यसको अन्त्य हामीले गर्नुपर्छ  र मंसिर ४ गते बिदाइ गर्नुपर्छ ।’

नेता भण्डारीले मुलुकलाई दुरावस्थामा पुर्याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने बताए । उनले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप