शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दलीय स्वतन्त्रका लागि सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ : मन्त्री भुसाल

शुक्रबार, २५ कात्तिक २०७९, २० : ५३
शुक्रबार, २५ कात्तिक २०७९

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र दलीय स्वतन्त्रताका लागि सत्तागठबन्धन आगामी चुनावमा निर्वाचित हुनुपर्ने बताएकी छन् । सत्ता गठबन्धन ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उनले नेपाली कांग्रेसले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि निरन्तर सङ्घर्ष गरेको स्मरण गर्दै पछिल्लो अवस्था पनि हजारौं सहिदको बलिदानबाट प्राप्त संविधानको रक्षाका लागि खडा भएको गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरिन् ।

ललितपुर निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले भनिन्, “लोकतन्त्रका लागि निरन्तर सङ्घर्ष गरेको नेपाली कांग्रेसका साथीहरूले पार्टीका शीर्ष नेतृत्वलाई शिरोधार्य गरेर संविधानको रक्षाका लागि अग्रगामी मोर्चालाई निर्वाचित गराउनु हुनेछ ।” आगामी निर्वाचनमा अग्रगामी गठबन्धन र प्रतिगामी गठबन्धन निर्वाचनमा रहेको उल्लेख गर्दै उनले विगतको शिक्षाले पनि प्रगतिगामी मोर्चालाई पराजित गर्नुपर्ने समय आएको बताइन् ।

ललितपुर जिल्ला जहिले पनि परिवर्तनको पक्षमा उभिएको इतिहास स्मरण गर्दै मन्त्री भुसालले भनिन्, “यहाँका जनताले २०४६ को आन्दोलन पाटनबाट सुरु भएको थियो । यही जिल्लाका जनता सबैभन्दा पहिला राजतन्त्रमुक्त देश घोषणाको आन्दोलनमा होमिनुभएको थियो । अब पनि ललितपुरबासीले प्रतिगमनकारी गठबन्धनलाई पररास्त गर्नेछन् ।”

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यले व्यक्तिगत इच्छा र आकांक्षालाई छोडेर आन्दोलनमा होमिएको कांग्रेसका नेता कार्यकर्ताले प्रतिगमनका विरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले भने, “सबैजना प्रतिबद्ध भएर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्छ, त्यसका लागि इमान्दारीपूर्वक लाग्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

गठबन्धन बाहिरका पार्टीलाई निर्वाचित हुन दिन नहुने बताउँदै उनले गठबन्धन देश र पार्टीका लागि आवश्यक भएको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप