बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सीले ट्रुडोको आलोचना नगरेको चीनको स्पष्टोक्ति

बिहीबार, ०१ मङ्सिर २०७९, २२ : २४
बिहीबार, ०१ मङ्सिर २०७९

चीनको विदेश मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङले जी ट्वान्टी सम्मेलनमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको आलोचना नगरेको बताएको छ । सीले समूहको २० (जी २०) शिखर सम्मेलनको क्रममा भएको एक अनौपचारिक भेटघाटमा सी र ट्रुडोबीच भनाभन परेकोजस्तो भिडियो भाइरल भएको छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार यस प्रकरणको स्पष्टीकरण दिँदै भने-  ‘तपाईंले उल्लेख गर्नुभएको भिडियो वास्तवमा जी २० शिखर सम्मेलनको क्रममा दुई नेताबीच भएको छोटो कुराकानी थियो । यो एकदम सामान्य हो । यसलाई अध्यक्ष सीले कसैको आलोचना गरेको रुपमा व्याख्या गरिनुपर्छ भन्ने मलाई लाग्दैन ।’

प्रवक्ता निङले बेइजिङले समानताका आधारमा खुला संचारलाई समर्थन गर्ने बताए । साथै क्यानडाले द्विपक्षीय सम्बन्ध सुधार गर्न कदम चाल्ने आफूहरुको आशा रहेको पनि उनले बताए ।  हाल भाइरल भएको सी र ट्रुबीचको भेटको फुटेजमा सी र ट्रुडो अनुवादकमार्फत एक अर्कासँग कुराकानी गरिरहेका छन् । 

‘हामीले छलफल गरेका सबै कुरा प्रेसमा लीक भएको छ, त्यो उपयुक्त होइन,’ सीले अनुवादकमार्फत ट्रुडोलाई भन्छन् । सीले त्यसपछि भन्छन् ‘यदि इमान्दारी छ भने, हामी पारस्परिक सम्मानका साथ राम्रोसँग कुराकानी गर्न सक्छौं । अन्यथा नतिजा बताउन सजिलो हुनेछैन ।’

जवाफमा ट्रूडोले सीलाई जवाफ दिँदै भन्छन्– ‘क्यानडाले स्वतन्त्र, खुला र स्पष्ट संवादमा विश्वास गर्छ ।’ भिडियोको अनौपचारिक छोटो कुराकानी अघि नै जी २० शिखर सम्मेलनमा दुवै नेताहरू बीचको वार्ता तीन वर्षभन्दा बढी समयमा भएको पहिलो थियो । 

मिडिया रिपोर्ट अनुसार ट्रुडोले त्यस छलफलमा कथित जासूसी र क्यानाडाको चुनावमा चिनियाँ ‘हस्तक्षेप’ बारे ‘गम्भीर चिन्ता’ व्यक्त गरेका थिए । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता निङले हाल चर्चामा रहेको भिडियोमा सीले ‘अन्यथा परिणाम बताउन सजिलो हुनेछैन’ भनेर ट्रुडोलाई धम्की नदिएको बताएका छन् । दुबै नेता ‘सामान्य’ सम्वादमा रहेको र त्यसक्रममा आ–आफ्नो अडान प्रस्तुत गरेको निङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप