सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

साउदी अरबमा नेपाली युवाको हत्या

सोमबार, ०४ माघ २०७२, ०८ : ५६
सोमबार, ०४ माघ २०७२

कपिलवस्तु, – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक युवाको हत्या भएको छ । जिल्लाको पकडी– ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको सउदी अरबको मक्कास्थित आलियाम कम्पनीमा गत पुस ३० गते हत्या भएको हो ।

उनलाई बङ्गलादेशी कामदारको पाँच जनाको समूहले हत्या गरेको मृतक कामदारका नेपाली साथीले नेपालमा रहेका मृतकका दाजु मुहम्मद इसहाकलाई जानकारी दिएका छन् । आफ्नो परिवारको सदस्यको हत्या भएकाबारे आइतबार पीडित परिवारजनले पत्रकारलाई जानकारी दिँदै मृतकको शव ल्याउन र दोषीउपर कडा सजाय दिलाउन सरकारीस्तरबाट पहलका लागि आग्रह गरेका छन् ।

साउदीस्थित अलियमाम कम्पनीमा कार्यरत मुसलमानलाई हत्या गरेका पाँच जना बङ्गलादेशीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको साउदीमा रहेका उनका दाजु हजरतले बताएका छन् ।

मृतकको घरपरिवार अहिले शोकमा डुबेको छ । मृतक मुसलमानको शव स्थानीय अस्पतालमा राखिएको छ । शव सुरक्षित साथ नेपाल ल्याउन र घटनामा संलग्न हत्यारालाई कडाभन्दा कडा सजाय दिलाउनुपर्ने मृतकका घरपरिवारले माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी अब्दुलकलाम खाँले मृतकका घरपरिवारले प्रशासनमा निवेदन दिएमा नेपाली दूतावासमार्फत साउदी दूतावासलाई पत्राचार गरी शव नेपाल ल्याउन पहल गरिने प्रतिबद्धता जनाए ।

मृतक मुसलमान ११ महिनाअघि काठमाडौँस्थित वल्र्डवाइड इम्पल्वाइड कम्पनीबाट साउदी अरब गएका थिए । मृतकका एक श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप