मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पिन नम्बर जस्ता व्यक्तिगत विवरण कसैलाई नभन्न एनसेलको अनुरोध

मङ्गलबार, ११ फागुन २०७२, १५ : २०
मङ्गलबार, ११ फागुन २०७२

काठमाडौं–एनसेलले आफ्नो एनसेल एप प्रयोग गर्ने ग्राहकलाई एप एक्टिभेट गर्ने पिन कोड लगायतका व्यक्तिगत विवरण अरुलाई नभन्न तथा नदिन अनुरोध गरेको छ । ग्राहक आफैले विभिन्न सेवा लिन तथा तिनको आवश्यकता अनुसार प्रभावकारी व्यवस्थापन गर्न सकुन् भनेर कम्पनीले विकास गरेको एनसेल एपको माध्यमबाट केहि व्यक्तिले ग्राहकलाई झुक्याई दुरुपयोग गरेको जानकारी आएकोले एनसेलले ग्राहक सचेतनाका लागि यस्तो अनुरोध गरेको हो । “एनसेल एप ग्राहकको व्यक्तिगत अकाउन्ट (खाता) व्यवस्थापनका लागि हो । यो नितान्त व्यक्तिगत हुन्छ । त्यसैले एपको एक्टिभेसनका लागि प्राप्त हुने पिन नम्बर ग्राहकले गोप्य राख्नु पर्छ र कसैले मागे पनि दिनु हुँदैन,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । पिन नम्बर जस्ता संवेदनशिल विवरण कम्पनीले पनि ग्राहकसँग फोन गरेर नमाग्ने जानकारी दिंदै उनले भने, “कसैले एनसेलको नाम लिई ग्राहकसँग एनसेल एपको पिन वा अन्य कुनै पनि व्यक्तिगत विवरणको जानकारी माग गरेमा कुनै पनि जानकारी नदिनुहुन र एनसेललाई ९००५ मा फोन गरी वा एनसेलको ठेगानामा ईमेल गरी जानकारी गराई दिनु हुन अनुरोध गर्दछौं ।” एनसेलले आफ्ना ग्राहकसँग आधिकारीक नम्बरबाट मात्र सम्पर्क गर्दछ । “एनसेल भनेर कम्पनीको नामैबाट आउने एसएमएस, जसमा कुनै नम्बर देखिंदैन, र ९८०५५५, जसको पछाडीको ४ वटा नम्बर फरक हुन सक्छ, बाट आउने कल मात्रै एनसेलका आधिकारिक एसएमएस र कल हुन् । अन्य नम्बरबाट आउने एसएमएस वा कल कम्पनीबाट गरिएका होईनन् । यसमा चनाखो हुन अनुरोध गर्दछौं,” शर्माले भने । यसका साथै कम्पनीले उपहार वा बोनस वा अन्य लाभ पाउनका लागि भनेर ग्राहकलाई कहिले पनि बैंक वा अन्य कतै पनि पैसा जम्मा गर्न नलगाउने शर्माले बताए । “त्यसैले कसैले यस्ता खालका गलत मेसेज पठाउने वा फोन गरेमा तत्काल एनसेलमा जानकारी गराउनुहुन र प्रहरीलाई सम्पर्क गरि सहयोग गरिदिनु हुन अनुरोध छ,” शर्माले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप