मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपालमा हजार जीवित जन्ममा ३३ को मृत्यु

बिहीबार, १३ फागुन २०७२, १८ : २७
बिहीबार, १३ फागुन २०७२

काठमाडौँ - नेपालमा कुल एक हजार जीवित जन्म भएका बालबालिकामध्ये ३३ को मृत्यु हुने गरेको छ ।

केन्द्रीय तथ्याङ्क विभागले नेपाल बहुसूचक सर्वेक्षण (एनमिक्स) २०७१ बाट प्राप्त प्रमुख नतिजा प्रकाशनमा कुल एक हजार जीवित जन्म भएकामध्ये पाँच वर्षमुनिका बालबालिकामा ३८ को मृत्यु हुने गर्दछ र नवजात मृत्युदर हरेक एक हजार जीवित जन्ममा २३ जना रहेको छ ।

सो सर्वेक्षणबाट नतिजामा बाल मृत्युदर, पोषण, बाल स्वास्थ्य, खानेपानी तथा सरसफाइ, प्रजनन स्वास्थ्य, प्रारम्भिक बाल विकास, शिक्षा तथा साक्षरता, बाल संरक्षण, एचआइभी तथा एड्स, आमसञ्चारमा पहुँच र सूचना तथा प्रविधिको प्रयोग, सुर्ती तथा मदिरा सेवनसँग सम्बद्ध सूचकसम्बन्धी तथ्याङ्क समावेश गरिएको एनमिक्सद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बहुसूचक सर्वेक्षण युनिसेफद्वारा विकास गरिएको एक अन्तर्राष्ट्रियरूपमा सहमत भएको घरपरिवार सर्वेक्षण कार्यक्रम हो । यो महिला तथा बालबालिकाको अवस्थासम्बन्धी तथ्याङ्क उपलब्ध गराउने सबैभन्दा बृहत् स्रोतमध्ये एक हो । यसले मुलुकलाई सामान्यतः मानवीय विकास र विशेषगरी बालबालिका तथा महिलाका स्थितिलाई अनुगमन गर्न तथ्याङ्कीय रिक्तता पूर्तिमा सहयोग गर्दछ ।

नेपालमा मिक्सको पाँचौँ चरण केन्द्रीय तथ्याङ्क विभाग तथा युनिसेफको प्राविधिक तथा आर्थिक सहकार्यमा मुलुकका सबै ७५ वटै जिल्लामा (२०१४ को जनवरीदेखि जुन महिनासम्म) क्षेत्रीय कार्य सञ्चालन गरेको थियो ।

सन् २०१० मा सम्पन्न भएको यसअघिको एनमिक्स सर्वेक्षणले नेपालको मध्य तथा सुदूरपश्चिम विकास क्षेत्रका २४ जिल्ला मात्र समेटेको थियो ।

सर्वेक्षणअनुसार सहरी तथा ग्रामीण क्षेत्रमा ठूलो भिन्नता रहेको छ । आमाको शिक्षास्तर र पारिवारिक सम्पत्तिका साथमा क्षेत्रका बीचमा पनि भिन्नता पाइन्छ । सबैभन्दा गरिब परिवारका बालबालिका धनाढ्य परिवारका बालबालिकाको दाँजोमा एक वर्ष र पाँच वर्ष नपुग्दै मृत्यु हुने सम्भावना बढी हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप