सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कति सुरक्षित थियो एयर काष्ठमण्डपको विमान ?

शुक्रबार, १४ फागुन २०७२, १८ : ४७
शुक्रबार, १४ फागुन २०७२

काठमाडौं – शुक्रबार नेपालगञ्जबाट जुम्लाका लागि उडेको नाइन एन एजेबी कलसाइनको जहाज दुर्घटनामा पर्दा देशका दुई जना पाइलटले ज्यान गुमाउनुप¥यो । एअर काष्ठमण्डपको यो जहाज सिंगल इञ्जिनको जहाज थियो । प्यासिफिक एरोस्पेसले निर्माण गरेको ‘प्याक ७५० एक्स एल’ मोडलको यो जहाजमा जम्मा ९ जना यात्रु मात्रै अटाउन सक्छ । २ जना पाइलट र अन्य ९ जना गरी अधिकतम ११ जना मात्रै यात्रु राख्न मिल्छ यो जहाजमा । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन आइकाओले यो विमानलाई अझै पूर्ण स्वीकृति दिएको छैन । यद्यपि यो जहाजले सन् २०१२ मा अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसन ‘एफएए’ बाट उडानका लागि स्वकिृति पाएको भनिएको छ । तर नेपालमा एफएएलाई आधारमात्रै मानेर आइकाओकै नियमलाई अनुसरण गर्ने गरिएको छ । एफएए ले सन् २०१२ मा मात्रै यसलाई स्वीकृति दिएको थियो  । यो विमान मुख्यतः कार्गो र स्काई डाइभिङका लागि प्रयोगमा ल्याइने गरिएको छ । त्योबाहेक जमिनको सर्भे, कृषिजन्य काम वा सर्भे आदिका लागि पनि प्रयोग गरिएको पाइएको छ । यो जहाज पहाडी भूभाग वा हिमाली क्षेत्रमा उडानका लागि पनि उपयोगी भनिएको छ । मुख्यतः हिमालको माथिबाट प्यारासुटबाट हिमालमा हामफाल्ने अर्थात् स्काई डाइभिङका लागि यो सबैभन्दा महत्वपूर्ण भनेर यसको निर्माता कम्पनी प्यासिफिक एरोस्पेसले दाबी गरेको छ । यो जहाजको तौल खाली हुँदा १ हजार ४ सय ९७ किलो हुन्छ र यसले कार्गोमा थप १ हजार ८ सय १४ किलो बोक्न सक्छ । जहाजको निर्माता कम्पनी एरोस्पेसले आफ्नो वेभसाइटमा जनाएअनुसार यसले अधिकतम १ हजार ९ सय ५ किलो वजन बोक्न सक्छ । जहाजको तौल र अधिकतम बोक्न मिल्ने तौल गरी यो जहाजको अधिकतम क्षमता ३ हजार ४ सय २ किलो हुने कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन ‘आइकाओ’ले हवाई उड्डयनका लागि विभिन्न मापदण्ड तोकेपनि नेपालमा भने त्यसको पूर्ण पालना भएको पाइँदैन । आइकाओले सिंगल इञ्जिन विमानका लागि विभिन्न मापदण्ड तोकेको थियो । आज दुर्घटनामा परेको यो विमानलाई पनि आइकाओले स्वीकृति दिएको हो वा होइन भन्ने यकिन भइसकेको छैन । खासमा विश्वभर नै सिंगल इञ्जिन जहाजको बारेमा धेरै वादविवाद भएका छन् । सन् २००८ मा न्युजिल्याण्डमा ५० वटा सिंगल इञ्जिनको यही मोडलको जहाज किन्न लाग्दा त्यहााका मिडियाहरुले नागरिक सुरक्षाका लागि भन्दै बिरोध जनाएपछि सरकारले उक्त निर्णय फिर्ता लिएको थियो । कतिपय देशमा सिंगल इञ्जिन जहाजलाई प्रतिबन्ध लगाइएको छ भने कतिपय देशका स्थानीय स्तरमा यसको प्रतिबनध छ । अमेरिकामा पनि सन् १९३४ पछि सिंगल इञ्जिनका जहाजलाई प्रतिबन्ध लगाइएको थियो तर पछि यसलाई खुल्ला गरियो । नेपाल सरकारले पनि सन् २०११ पछि सिंगल इञ्जिनका जहाज दर्तामा रोक लगाउने तयारी गरेको थियो । जहाजमा समस्या देखिएपछि फोर्स ल्यान्डिङ शुक्रबार दुर्घटनामा परेको सिंगल इञ्जिनको नाइन एन एजेबी जहाजको दुर्घटनाको कारण त पत्ता लागिसकेको छैन, तर पाइलटले फोर्स ल्याण्डिङ गरेको पुष्टी भएको छ । उडान भरेको केही समयमै जहाजमा समस्या आएपछि पाइलटले कालीकोटको एक समथर भूभागमा फोर्स ल्याण्डिङ गरेर ९ जनाको ज्यान बचाए, यद्यपि अगाडिको भाग जोत्तिएर आफू र को–पाइलटलाई भने बचाउन सकेनन् । सरकारको प्रतिबन्ध सिंगल इञ्जिनको जहाज दुर्घटनामा परेर पाइलट र को–पाइलटले ज्यान गुमाएपछि शुक्रबारबाट लागू हुनेगरी सरकारले सिंगल इञ्जिनका जहाजमा यात्रु बोक्न प्रतिबन्ध लगाएको छ । विश्वभर सिंगल इञ्जिनका जहाजका बारेमा नकारात्मक समाचार बाहिर आइरहँदा नेपालमा पनि यसको बहस सुरु गर्ने बेला भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप