बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

खानेपानीमा करोडौं खर्च गर्दा पनि जनता शुद्ध पानी पिउनबाट वञ्चित

बुधबार, १२ जेठ २०७३, १७ : ५५
बुधबार, १२ जेठ २०७३

राजविराज– सप्तरीमा २० वर्षदेखि खानेपानी योजना अन्तर्गत १९ वटा ओभरहेड निर्माणमा करोडौं रुपियाँ खर्च गरिएपनि जनताले हालसम्म शुद्ध पानी पिउनबाट वञ्चित रहेका छन् । जिल्लाको कञ्चनपुर, कठौना, हनुमाननगर, छिन्नमस्ता, प्रिपा पश्चिम, घोघनपुर, रुपनगर, कल्याणपुर लगायतका स्थानहरुमा खाने पानी योजना अन्तर्गत लगानी भएपनि पानी वितरण नहुँदा जनताले शुद्ध पिउनबाट वञ्चित भएका हुन् । ठेकेदारको लापरवाही, कर्मचारीको ढिलासुस्ती तथा पानी नै नआएका समस्याले धेरै स्थानहरुमा वोरिङ नै असफल भएको हो । जिल्ला खाने पानी तथा सरसफाई डिभिजन कार्यालयले दिएको जानकारी अनुसार लापरवाही गर्ने २ वटा ठेकेदार कम्पनीलाई कालो सुचिमा समेत राखिएको छ । डिभिजन कार्यालयका प्रमुख लोकेन्द्रकुमार यादवका अनुसार जिल्लाको प्रिपा पश्चिम र रुपनगरमा खानेपानी आयोजनाका लागि २०७१ असार ३ गते ठेक्का लगाइएको थियो । यस्तै, पातोमा २०७० जेष्ठ ५, घोघनपुर २०७० जेष्ठ १५, मलेकपुर २०७० जेष्ठ ७, बरमझिया खानेपानी योजनाका लागि २०६९ चैत्र २६ गतेमा ठेक्का लागेको थियो । पातो, मलेकपुर, घोघनपुर र वरमझिया योजनाका लागि ठेकेदार कम्पनीले ६७ लाख पेश्की समेत लगेपनि काम अझै पुरा नभएको डिभिजन प्रमुख यादवको भनाई छ । कञ्चनपुरका लागि लक्ष्मीराज निरेन्द्र गितानुरी जेभीले २०६१ साल जेष्ठ ६ गते ठेक्का लिएपनि काम नहुँदा गत वर्ष ठेक्का टुटेको र उक्त फर्मलाई कालो सुचिमा राखिएको यादवले जानकारी दिए । यसैगरी वैदेही एण्ड प्रविण निर्माण सेवा चेतन कन्स्ट्रक्सन जेभीले ०६३ चैत २१ गते हनुमाननगर योजनाको ठेक्का लिएकामा काम पुरा नगर्दा ठेक्का तोडेर कालो सुचिमा राखि शान्ति निर्माण सेवालाई अहिले वाँकी कामका लागि २७ लाखमा ठेक्का दिएको यादवको भनाई छ । प्रिपा पश्चिम र विरेन्द्र बजारमा चाँही आंशिक रुपमा पानी सञ्चालनमा रहेको तथा पोर्ताहा, कोइलाडी लगायतका स्थानहरुमा पानी परिक्षणको काम भएको भएपनि ओभरहेड टंकीको ठेक्का चाही अहिलेसम्म नलागेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप