बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली र गोरखाका जनप्रतिनिधिबीच भेट

बिहीबार, १३ जेठ २०७३, ०७ : ०३
बिहीबार, १३ जेठ २०७३

गोरखा– प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोरखामा क्रियाशील राजनीतिक दल र जनप्रतिनिधिले उत्तरी गोरखाको छेकम्पार हुँदै तिब्बत जोड्ने सडक निर्माणमा बजेट विनियोजन गरेर सडकको ट्र्याक खन्ने काम सुरु गर्न आग्रह गरेका छन् ।

उनीहरुले बुधबार प्रधानमन्त्री ओलीलाई सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटेर तिब्बत जोड्ने सडक निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाउन आग्रह गरेका हुन् ।

नेपाली काँग्रेसका जिल्ला सभापति हरिबहादुर घलेका अनुसार प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा बेनीघाट–आरुघाट–सिर्दिवास–नल्याङभञ्ज्याङदेखि तिब्बत जोड्ने सडक खुलाउन, एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छिटो मुआब्जा बाड्न, गोरखा सदरमुकाममा खानेपानीको सङ्कट समाधान गर्न दरौँदीबाट लिफ्टिङ गरी खानेपानी ल्याउन आग्रह गरिएको हो ।

यीमध्ये बेनिघाट–तिब्बत सडक करिब डेढ सय किलोमिटर दूरीको हुने बताइएको छ । यो सडक निर्माण गर्न सकेमा राजधानीबाट छोटो दूरीमा तिब्बत आवागमनमा सहज हुने दलका नेताको भनाइ छ । यो सडकको काम लापु गाविसको लापुभीरमा पुगेर रोकिएको चार वर्ष भइसक्दा पनि त्यसमाथिका क्षेत्रमा सडकको ट्र्याक खुलाउने काम हुन सकेको छैन ।

यस्तै उहाँहरुले प्रधानमन्त्री ओलीलाई गत वर्ष बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले बारपाकीलगायत गोरखाका भूकम्पपीडित भूकम्पप्रतिरोधी नयाँ घरको पर्खाइमा रहेकाले छिटो अनुदान वितरण गर्न र बारपाकमा एकीकृत बस्ती विकासमा सहयोग गर्न आग्रह गरेका थिए ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले देश विकासका काममा पैसाको अभाव हुन नदिने भन्दै बूढीगण्डकी आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छिट्टै मुआब्जा दिएर पुनर्वासको व्यवस्था मिलाइने बताएका घलेको भनाइ छ । प्रधानमन्त्रीसँगको भेटमा सांसद हितराज पाण्डे, कमला पन्त, नेकपा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत, सांसद राजेन्द्र पाण्डेलगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप