बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मुटुरोगी बालकलाई प्रवासीबाट डेढ लाख सहयोग

बिहीबार, १३ जेठ २०७३, ०९ : ११
बिहीबार, १३ जेठ २०७३

म्याग्दी– म्याग्दीका एक बालकको उपचारका लागि प्रवासीले डेढ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

मुटुमा प्वाल परेर बिरामी भएका बेनी नगरपालिका–१ रत्नेचौरका ९ वर्षीय नवीन थापामगरको शल्यक्रियाका लागि हङकङ र नेदरल्यान्डमा रहेका नेपालीले एक लाख ६९ हजार ५४४ रुपैयाँ सहयोग गरेका हुन् ।

दुईवटै देशमा प्रवासी नेपाली म्याग्देली सङ्घ मोनाले सङ्कलन गरेको रकम बुधबार नवीनको शल्यक्रियाका लागि आर्थिक सहयोग जुटाउन अभियान सञ्चालन गरेको ओमकुमारी शान्ति कोषलाई उपलब्ध गराइएको छ ।

मोना हङकङले रु ९५ हजार ३९५, मोना नेदरल्यान्ड र मगर सङ्घ नेदरल्यान्डले ७४ हजार १४९ रुपैयाँ सहयोग गरेको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । कक्षा ५ मा अध्ययन गर्ने थापाका अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले कोषले शल्यक्रियाका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको हो ।

हालसम्म कोषले थापाको उपचारका लागि रु दुई लाख ५० हजार जुटाएको जनाएको छ । आगामी असार ८ गते थापाको शल्यक्रिया गर्ने तयारी भएको छ । शल्यक्रियाका लागि चार लाख रुपैयाँ आवश्यक पर्ने नवीनका बुबा पविराम थापाले बताए । थापाको उपचारका लागि आर्थिक सङ्कलन गर्न कोषले सन्तोष रावलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

यसैगरी, ओमकुमारी शान्ति कोषले गलेश्वर वृद्धाश्रममा आश्रित परमानन्द गिरीलाई आँखाको शल्यक्रिया गर्न बुधबार दश हजार रुपैयाँ सहयोग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप