खानेपानीको हाहाकार, कक्षा छोड्दै विद्यार्थी
जाजरकोट - यहाँको सदरमुकाम खलङ्गास्थित शिक्षण संस्थामा खानेपानीको हाहाकार परेको छ । धारामा पानी नआउँदा विद्यालयमा खानेपानीको हाहाकार भएको हो । खानेपानी नपाउँदा विद्यार्थी काकाकुल भएका छन् ।
करिब ७०० भन्दा बढी विद्यार्थी अध्ययन गर्ने सदरमुकामस्थित त्रिभुवन उच्च माविको धारामा पानी आउन छोडेको एक हप्ता भयो । कक्षा ८ मा अध्ययनरत रमिता सिंहले विद्यालयमा पानी नआउँदा निकै समस्या पर्ने गरेको बताइन् । “दिउँसो निकै गर्मी हुन्छ, पानी प्यास लाग्छ तर पानी पाउँदैनौँ”, उनले भनिन् ।
“पानी नभएपछि चर्पी गर्नसमेत समस्या परेको छ । खानेपानी त पाउँदैनौँ, चर्पीमा कसरी पानी हाल्ने”, कक्षा १० की विनिता खत्रीले भनिन् । “दिसा लाग्यो भने कि त जङ्गलतिर जानुपर्छ कि घर फर्केर आउनुपर्छ”, उनले भनिन्, “पिउने पानीको त झन् निकै समस्या छ ।
बिहान ११ कक्षाको परीक्षा सञ्चालन भएका कारण दिउँसो पढाइ हुने उक्त विद्यालयमा खानेपानी नपाउँदा विद्यार्थी स्कुल पढाइ छोडेर भाग्ने गरेका छन् । पानी प्यासले सताउँछ, नभागेर के गर्नु त, स्कुलमा पानी पाइँदैन, एक विद्यार्थीले आफ्नो पीडा सुनाए । दैनिक दुई हजार लिटर पानीको आवश्यकता पर्ने विद्यालयमा खानेपानी आपूर्ति नहुँदा निकै समस्या परेको प्राचार्य हेरम्बबहादुर शाहले बताए।
मुहानमै पानी छैन । समुदायलाई नै पुग्दैन, विद्यालयमा कसरी पानी आओस्, उहाँले भन्नुभयो । खानेपानी समस्याले विद्यालयमा विद्यार्थी आउन छोडेको र आएका पनि हाफ छुट्टीमै भाग्ने गरेको उहाँले बताउनुभयो । सो विद्यालय मात्र होइन सदरमुकामस्थित चारवटा निजी विद्यालय र तीनवटा सरकारी विद्यालयमा अध्ययनरत दुई हजार विद्यार्थी खानेपानी नपाउँदा काकाकुल भएका छन् । खानेपानीको स्रोत कम र माग धेरै भएपछि विद्यालयमा पानी आउन छोडेको हो । एक हप्तादेखि खानेपानीको आपूर्ति बन्द भएपनि विद्यालयले वैकल्पिक व्यवस्था नगर्दा विद्यार्थी मर्कामा परेका छन् ।
कुदुमा पनि उस्तै हाहाकार
त्यस्तै, खलङ्गाको भेरीमालिका नगरपालिका–१३ कुदुमा खानेपानीको हाहाकार भएको छ । खडेरी र गर्मीले पानीका मुहान सुकेपछि खानेपानीको हाहाकार भएको हो । करिब ४०० घरधुरी रहेको कुदुमा खानेपानीको समस्या भएपछि बासिन्दा डेढ घन्टा पैदल हिँडेर भेरीको धमिलो पानी खान बाध्य भएका छन् । त्यहाँ रहेका विद्यालय र स्वास्थ्य संस्थामा पनि खानेपानीको निकै समस्या देखिएको छ ।
स्थानीय भगवती माध्यमिक विद्यालयमा ८ कक्षामा अध्ययनरत नानकला गिरीको साँझ र बिहानको समय पानी बोक्नमै बित्ने गरेको छ । घरमा गृहकार्य गर्ने उनको इच्छा भए पनि एक गाग्री पिउने पानीका लागि आउजाउ गरी तीन घन्टा हिँडेर भेरीको पानी बोक्नुपर्ने बाध्यता छ । खानेपानीको समस्याका कारण उनको पढाइसमेत प्रभावित भएको छ । “भाइबहिना साना छन् बा आमालाई सघाउनै प¥यो”, उनले भनिन्, “हामीलाई पानीको साह्रै समस्या प¥यो ।”
सोही विद्यालयमा ६ कक्षामा पढ्ने पवित्रा गिरीको समस्या पनि उस्तै छ । “बिहान–बेलुका एक–एक गाग्री पानी लिन जाँदैमा समय बितिहाल्छ, कतिबेला पढ्ने”, उनले भनिन्, “गाउँमा खानेपानी नै नभएपछि भेरीको धमिलो पानी खान बाध्य छौँ ।” उनले गाउँबाट नदी पुगेर पानी लिएर फर्कन करिब तीन घन्टा समय लाग्ने बताइन् । आफू जस्तै सबै स्कुले विद्यार्थी बिहान–बेलुका पानी लिन जानुपर्ने बाध्यताका कारण राम्रोसँग पढ्न नपाएको पवित्राले बताइन् ।
कुदुकी ६७ वर्षीया कमला आचार्यलाई अचेल एक गाग्री पानीको कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउने गरेको छ । बिहान उठ्ने बित्तिकै भेरी किनारमा पुगेर पानी ल्याउने उनको दैनिकी जस्तै बनेको छ । “खानेपानीको साह्रै समस्या भयो हजुर, हाम्रो समस्या सरकारले कहिल्यै देखेन, न त नेताहरुले सुने”, उनले भनिन् । उनले कुदुमा खानेपानीको निकै समस्या परेको बताइन् ।
साना बालबालिकादेखि वृद्ध महिला पानी लिनका लागि नदीमा लर्को लाग्ने गरेको छ । महिला तथा बालबालिकाको साँझ–बिहानको पूरै समय एक–दुई गाग्री पानीको जोहो गर्नमै बित्ने गरेको स्थानीयवासी गोपाल बटालाले बताए । उनले पुरुष अन्य काममा गएपछि महिला र स्कुले विद्यार्थी पानीको जोहो गर्न घन्टाँै समय बिताउन बाध्य भएको बताए ।
करिब ४०० घरधुरी रहेको त्यो बस्ती खानेपानी समस्याले काकाकुल छ । तर सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासी वासुदेव शर्माले बताए । वर्षाको बेला समेत नदीकै धमिलो पानी खाँदा त्यहाँ बासिन्दामा विभिन्न सरुवा रोगको सङ्क्रमण देखिने गरेको उनले बताए ।
पहँुचका भरमा योजना छान्ने चलनका कारण जनताले लामो समय दुःख पाउँदा पनि कुनै वास्ता नहुने गरेको कुदुका स्थानीय महिलाको गुनासो छ । कसैले गाउँमा एक गिलास पानी माग्यो भने या खानेपानीका बारेमा कुरा उठायो भने ती महिला नेता र सरकारप्रति आक्रोश पोख्न थाल्छन् । कुदुमा खानेपानीका लागि विशेष योजना निर्माणको काम थालिएको खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख महेशी महतोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण