बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कृषि विकास विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

बिहीबार, १३ जेठ २०७३, १६ : ३६
बिहीबार, १३ जेठ २०७३

काठमाडौं –नेपालमा कृषिको दिगो विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु काठमाडौंमा भेला हुने भएका छन् । नेपालमा दिगो र तिब्रतर कृषिको वृद्धिका लागि नयाँ संभावनाको खोजी गर्नका लागि इन्टरनेशनल फूड पोलिसी रिसर्च ईन्टिच्यूट (इफ्री), नेपाल इकोनोमिक एशोसियसन (एनईए) र ईन्टिच्यूट फर इन्टिग्रेटेड डेभपलमेन्ट स्टडिज् (आईआईडिएस) ले सँयुक्तरुपमा काठमाडौंमा मई २९ र ३० तारिख अर्थात जेठ १६ र १७ गते “नेपालमा दिगोपनासहितको कृषि विकासः चुनौतीहरु, अवसरहरु र विकल्पहरु” विषयक सम्मेलनको आयोजना गर्दैछन् । उक्त अन्तर्राष्ट्रिय सम्मेलनको बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै इफ्रीका रिसर्च फेलो डा. अन्जनी कुमारले नीति निर्माताहरु, व्यवसायीक व्यक्तिहरु, विज्ञहरु, कृषक संगठनका प्रतिनिधिहरु, कर्पोरेट क्षेत्र र विभिन्न दातृ निकायहरुलाई एकै थलोमा ल्याउने बताए । ‘नेपालमा कृषि क्षेत्रले अनेकौं चुनौतीहरुको सामना गर्दै आएको छ ।’,उनले भने,‘ती चुनौतीहरुको बारेमा छलफल गर्दै अवसर र विकल्पहरुको बारेमा छलफल हुनेछ ।’ कार्यक्रममा नेपाल इकोनोमिक एशोसियसनका अध्यक्ष प्राध्यापक डा. विश्वम्भर प्याकुरेलले छिमेकी मुलुक भारतको भन्दा नेपालको कृषि उत्पादनहरु निकै महंगो रहेको गुनासो गरे । उनले भारतीय कृषि क्षेत्रमा सरकारले अनुदान दिएको हुँदा सस्तोमा उत्पादन उपलब्ध भएको भन्दै सस्तो उत्पादन बजारमा पाएसम्म नेपालको महंगो कृषि उपज कसैले पनि खरिद नगर्ने बताए । नेपालको कृषि उत्पादनलाई पनि सस्तो बनाउन आवश्यक भएको भन्दै सरकारले बजेटमा नै अनुदान रकम व्यवस्था गर्नुपर्ने प्राध्यापक प्याकुरेलले बताए । दुई दिने सम्मेलनको अवसर पारेर इफ्रीले तयार पारेको वार्षिक विश्व खाद्य नीति प्रतिवेदन (सन् २०१६) सार्वजनिक गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप