बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बजेटपछि आफ्नो नेतृत्वमा सरकार बन्ने प्रचण्डको दाबी

बिहीबार, १३ जेठ २०७३, १६ : ४१
बिहीबार, १३ जेठ २०७३

चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बजेटपछि आफ्नो नेतृत्वमा सरकार बन्ने सहमति नेकपा (एमाले)सँग भएको बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लिखित रुपमा नभई दुई पार्टीका बीचमा नौ बुँदे सहमति हुँदा समझदारी भएको स्पष्ट पारे ।

यसअघि नै आफूले राष्ट्रिय सहमतिको सरकारमा जोड दिँदै आएको भन्दै उनले अब बन्ने सरकार पनि राष्ट्रिय सहमतिको सरकार हुनेमा आफू विश्वस्त रहेको बताए । संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, मधेस समस्या समाधान र विकास निर्माणका लागि राष्ट्रिय सहमति जरुरी रहेको उनले धारणा राखे ।

अध्यक्ष प्रचण्डले भूकम्प गएलगत्तै राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेकाले दह्रोसँग उभिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई आफूले आग्रह गरेको भन्दै उनले संविधान जारी हुँदासमेत आफूले राष्ट्रिय सहमतिमै जोड दिएको चर्चा गरे ।

एक प्रश्नमा उनले अहिले राष्ट्रिय सहमति आफ्नो पक्षमा जुट्न सहज भएको पनि बताए। माफी मिनाहासम्बन्धी ऐन अन्तिम चरणमा पुगेको बताउँदै उनले द्वन्द्वकालीन मुद्दाहरु शान्ति प्रक्रियाअनुरुप टुङ्ग्याउनुपर्ने बताए । सहमतिमै बजेट आउने बताउँदै उनले कार्यान्वयन पक्ष जटिल हुने गरी बजेट नआउने उल्लेख गरे ।

अदालतमा लिखित जवाफ पठाइने

अध्यक्ष दाहालले सर्वोच्च अदालतमा भोलि लिखित जवाफ पठाइने बताएका छन् । अदालतको मानहानीसम्बन्धी मुद्दामा उनलाई सर्वोच्चले भोलिसम्म जवाफ दिन आदेश गरेको विषयमा कुरा गर्दै अध्यक्ष प्रचण्डले अदालतको आफूले सम्मान गर्ने बताउँदै आफैँ जानुपर्ने नदेखिएकाले लिखित जवाफ लिएर वारेस पठाउने बताए ।

स्थानीय निर्वाचन सहमतिमा

अध्यक्ष दाहालले स्थानीय निकायको निर्वाचन दलहरुको बीचमा सहमति गरेर समयको टुङ्गो लगाइने बताउनुभयो । उहाँले फागुनको अन्त्यसम्ममा स्थानीय पुनःसंरचनाको आयोगको प्रतिवेदन आउने हुँदा त्यसअघि निर्वाचन नगर्न काँग्र्र्रेसले सुझाएको भन्दै सबैको सहमतिमा मिति तय हुने बताए ।

आयोगको प्रतिवेदनपछि गाउँपालिका, नगरपालिकालगायतका स्थानीय निकायहरुको निर्वाचन हुने हुँदा संविधान कार्यान्वयनलाई सहज हुने भन्दै उनले सबै दलको सहमतिमा चैत वैशाखमा निर्वाचन हुँदा राम्रो हुने बताए ।

मङ्सिरमा निर्वाचन गरेर फेरि छिट्टै निर्वाचन हुने हुँदा काँग्रेसले उठाएको विषयलाई पनि दलहरुले गम्भीर रुपमा लिएको उनले उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप