बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

भूकम्पपछि हराउँदै बालबालिका

बिहीबार, १३ जेठ २०७३, १६ : ४४
बिहीबार, १३ जेठ २०७३
बनेपा - काभ्रेपलाञ्चोकमा भूकम्पपछि हराउने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । भूकम्पले घर भत्काएको, बासस्थानको अभाव, अभिभावकत्व गुमाएका, तनाव, बसाइँसराइ र विभिन्न प्रलोभनका कारण बालबालिका हराएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ । हराएकामध्ये बालिकाको सङ्ख्या सबैभन्दा बढी छ भने बालकको सङ्ख्या कम देखिएको छ । हराएका केही भेटिएका पनि छन् भने केही अझै फेला परेका छैनन् । गरिबी, अशिक्षा, भूकम्पका कारण विस्थापन र बालबालिका स्वयम् आफूखुसी हिँड्ने प्रवृत्ति बालबालिकामा देखिएकाले पनि हराएका छन् जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले भने। प्रहरीले दिएको तथ्याङ्कअनुसार आव २०७२/०७३ मा मात्रै जिल्लाबाट १७ बालिका र १० बालकसहित २७ जना हराएकोमा १४ बालिका र आठ बालक भेटिएका छन् भने पाँच जना बालबालिका अझै हराइरहेका छन् । प्रहरी उपरीक्षक वास्तोलाले कतिपयका अभिभावकले हराएको बालबालिकाको उजुरी गरेको तर भेटिएका बालबालिकाका बारेमा जानकारी नदिँदा समस्या भएको उल्लेख गर्दै प्रहरी कहाँ उजुरी गरेपछि मुद्दाको टुङ्गो नलागुञ्जेलसम्म सहयोग गर्न अभिभावकलाई आग्रह गरे । प्रहरीका अनुसार आव २०७१÷०७२ मा बालिका १५ र बालक नौसहित २४ जना हराएकोमा बालिका १२ र बालक सात भेटिएको भए पनि पाँच जना अझै फेला परेका छैनन् । त्यस्तै आव २०७०÷०७१ मा बालक १४ र बालिका ११ सहित २५ जना हराएकोमा बालक आठ र बालिका छ जना फेला परे पनि ११ बालबालिका अझै नभेटिएको प्रहरीले जानकारी दिएको छ । हराएका बालबालिकाको उमेर ८ वर्षदेखि १४ वर्षसम्मको रहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप