बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पत्रकार कृष्ण सेनका हत्या आरोपी एसएसपी थापालाई जेल हाल्न माग

शुक्रबार, १४ जेठ २०७३, ०७ : २६
शुक्रबार, १४ जेठ २०७३

नुवाकोट–पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकका हत्यारालाई कारबाही गर्न पत्रकार एवं त्यससँग सम्बद्ध व्यक्तिहरुले माग गरेका छन् । बिहीबार शहिद सेनको १४ औं स्मृति दिवस देशैभरी विभिन्न कार्यक्रम गरी मनाउने क्रममा क्रान्तिकारी पत्रकार संघ नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रममा सहभागी पत्रकार तथा वुद्धिजीविहरुले सरकारसँग पत्रकार सेनको हत्यामा संलग्न दोषीको आरोप लागेका एसएसपी बिक्रमसिंह थापा लगायतलाई जेल सजायको माग गरेका हुन् ।

१४ वर्षअघि २०५९ जेठमा भएको उक्त हत्याकाण्डका आरोपीहरु महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह र तत्कालिन नगर प्रहरी प्रमुख तथा हालका एसएसपी बिक्रम सिंह थापामाथि घटनाको उचित छानबिन गरी कारबाही गर्न स्मृति सभामा बोल्ने अधिकाशं पत्रकारहरुले सरकारसँग जोडदार माग गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरु पुष्प लामिछाने, लिलानाथ न्यौपाने, पत्रकार महासंघ नुवाकोटका उपाध्यक्ष श्रीराम नेपाल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य देवचन्द्र भट्ट, क्रान्तिकारी पत्रकार संघका जिल्ला संयोजक रामहरी गजुरेल, बुद्धिजीवी एवं उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष इन्द्र पण्डितलगायतले पत्रकार सेनको निडर अनि साहसिक पत्रकारिता र शक्तिशाली साहित्यिक योगदानको चर्चा गर्दै उनको गैरन्यायिक हत्याको छानबिन नभए स्वतन्त्र पत्रकारितामाथिकै अन्याय हुने बताए ।

जनयुद्ध उत्कर्षमा पुगेको बेलामा पुलिस क्लबका तत्कालिन डिआइजी शाह, तत्कालिन नगर प्रहरी प्रमुख थापालगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी केही समय बेपत्ता बनाएर हिरासतमै रहेका बेला चरम यातना दिएर जेठ १३ गते सेनको हत्या गरेका थिए । उनको शवलाई बोरामा पोको पारेर सरकारी गाडीको रातो नम्बर प्लेट परिवर्तन गरी सेतो बनाउन लगाएर बा१च ६०१७ नम्बरको सेतो रङको पिकअप भ्यानमा सेनको शव महेन्द्र पुलिस क्लवबाट चुपचाप बाहिर निकालिएको थियो । सई, असईलगायतको एउटा टोलीले सोही दिन रातारात सेनको शव आर्यघाटमा लगेर गुपचुप रुपमा दाहसंस्कार गरेको आरोप छ ।

२०५९ सालको जेठ ६ गते काठमाडौंको नयाँ बानेश्वरबाट समातिएका सेनलाई हप्ता दिनसम्म चरम यातना दिएर महेन्द्र पुलिस क्लबमै राखिएको थियो । उनी गिरफ्तारीमा परेको भोलिपल्ट राती २ बजेसम्म सेनलाई अरु सहकर्मी साथीसँगै राखिएको थियो । चरम यातनाका कारण सेनका हातखुट्टा भाँचिइसकेका थिए । उनी उभिन सकिरहेका थिएनन् । त्यस्तो अवस्थामा पनि दुईजना प्रहरीलाई समात्न लगाएर तत्कालिन नगर प्रहरी इन्चार्ज तथा हालका एसएसपी बिक्रमसिंह थापाले भित्तामा अड्याँउदै सेनलाई लगातार बुटले हानिरहेको घटना सोही समयमा हिरासतमा रहेका बन्दीहरु बताउँछन् । नेपाली कांग्रेसका हालका सभापति शेरबहादुर देउवा त्यतिबेलाका प्रधानमन्त्री थिए । महेन्द्र पुलिस क्लबमा चरम यातना दिएर ज्यान लिएपश्चात तत्कालिन सरकारका गृह प्रवक्ताले सेनको हुलिया दिएर गोकर्णको जंगलमा दोहोरो भीडन्तमा सेन मारिएको झुटो विज्ञप्ती निकालेका थिए ।

कृष्ण सेन इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक थिए । इच्छुक नेपालको प्रगतिवादी साहित्यिक र सांस्कृतिक आन्दोलनमा समर्पित व्यक्तित्व थिए । वि.सं. २०१३ मा भारतको देहरादुनमा जन्मिएका सेनको पुख्यौली घर अर्घाखाँची जिल्लाको जलुके हो । सामान्य लाहुरे परिवारमा जन्मिएका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । बहु–आयामिक व्यक्तित्वका धनी उनी पत्रकार र साहित्यकार मात्र होइन शिक्षक, र सचेत राजनीतिकर्मी पनि थिए । विषेशगरी, उनी नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो स्थान निर्माण गर्न सफल रहे ।

अढाई दशक लामो काव्य यात्रामा इच्छुकले नेपाली प्रगतिवादी काव्य फाँटलाई समृद्ध गर्न उल्लेखनीय योगदान गरेका छन् । सेन हत्याको १४ बर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानबिन हुन र दोषीलाई कारबाही हुन सकिरहेको छैन । सेन स्मृति पत्रकारिता पुरस्कार सेनको स्मृतिमा सरकारले कृष्णसेन स्मृति प्रतिष्ठान गठन गरेको छ । त्यसैगरी क्रान्तिकारी पत्रकार संघ नेपालले केन्द्रदेखि जिल्ला तहसम्म सेन स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेर हरेक बर्ष क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । त्यसैगरी अखिल नेपाल जनसाँस्कृतिक महासंघले पनि अधिकांश जिल्लामा सेन स्मृति साहित्य पुरस्कार स्थापना गरेर सेनलाई सम्झिँदै आएको छ ।

सेनका साहित्यिक कृतिहरुमा शोकाञ्जली, इतिहासको यस घडिमा, बन्दी र चन्द्रागिरी जस्ता कृतिहरु प्रकाशीत छन् भने उनको मृत्युपछि पनि कृष्ण सेन ‘इच्छुक’ स्मृति ग्रन्थ, इच्छुक रचनावली भाग १,२ र ३, कवि इच्छुक कविताका सन्दर्भमा, आस्था र निष्ठाका शतिसाल इच्छुक लगायतका कृतिहरु प्रकाशीत भए । पत्रकारितामा कलम साहित्यिक त्रैमासिक, जनादेश साप्ताहिक, जनदिशा दैनिक, योजना आदि पत्रपत्रिकाका सम्पादक पनि थिए । यसैगरी, साहित्य र पत्रकारिता क्षेत्रमा थुप्रै पुरस्कार र सम्मानसमेत पाएका छन् । साहित्य सन्ध्या (२०५७), पारिजात सिर्जनशील साहित्य पुरस्कार (२०५९), कृष्णमणि साहित्य पुरस्कार (२०५९), प्रगतिशील साहित्य पुरस्कार (२०६१) मरणोपरान्त, प्रेस सेनानी पुरस्कार (२०६५) मरणोपरान्त जस्ता सम्मानहरु पत्रकार सेनले पाइसकेका छन् । आफ्नो जीवनमा उनले दाङ कारागारमा ६ वर्ष, बन्दीगृहमा १ वर्ष, सिराहा र राजविराजमा २ वर्ष गरी ९ वर्ष जेलजीवन बिताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप